
दैलेखको डुङ्गेश्वर गाउँपालिकामा कार्यरत वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सडक स्तरोन्नती योजनाको अन्तिम बिल भुक्तानी गर्ने क्रममा घुस लिई भ्रष्टाचार गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
उनले सडक स्तरोन्नती तथा निर्माण सम्पन्नपश्चात अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग एक लाख रूपैयाँ घुस माग गरेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल र आयोगको कार्यालय, सुर्खेतबाट खटिएको संयुक्त टोलीले कार्कीलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा कार्कीले डुङ्गेश्वर गाउँपालिका वडा नं. १, २, ३, ४ र ५ मा पर्ने जर्सीचोक देउली जडी हुँदै गाउँपालिका सडक स्तरोन्नती योजनाको अन्तिम बिल भुक्तानी गर्ने क्रममा प्रक्रिया अगाडि बढाइदिने, प्रक्रियाको सहजीकरण गरिदिने भनी विभिन्न बहानामा एक लाख घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ ।
कार्कीविरुद्ध एक लाख रूपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन अनुसार विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।