
ललितपुर महानगरपालिका-२२ स्थित खोंइचामा धने भन्ने ५५ वर्षीय धनबहादुर तामाङको हत्या भएको छ ।
प्रहरीले हत्या आरोपी ८१ वर्षीय कान्छा पुतुवारलाई पक्राउ गरेको छ । बुधबार बिहान ६ बजे तामाङको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटीका अनुसार तालिमप्राप्त कुकुर समेत लिएर घटनास्थल पुगेको प्रहरीले शवको मुचुल्का उठाएर तामाङको शव पोस्टमार्टमका लागि पाटन अस्पताल पठाएको थियो ।
प्रहरी अनुसन्धानका क्रममा मदिरा सेवन गरी तामाङ पुतुवारको घरमा आएर वादविवाद गर्न थालेपछि धकेलाधकेल हुँदा तामाङ बिजुलीको पोलमा ठोक्किएका थिए । पुतुवारले घाइते तामाङलाई अस्पताल लैजानुको साटो उल्टै घिसारेर बाँसघारीमा लगेर फालिदिएका थिए ।
आर्थिक लेनदनेको विवादमा तामाङ पुतुवारको घरमा आउजाउ गर्दै आएका थिए । बुधबार बिहान पनि उनी पुतुवारको घरमा बस्ने एक महिलासँग वादविवाद गर्न थालेपछि घटनाले उग्र रूप लिएको थियो । पक्राउ परेका पुतुवारलाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिरहेको छ ।