
भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित सदस्यहरू अहिले आन्दोलनमा भएको क्षतिको विवरण संकलनका लागि जिल्ला दौडाहामा छन् । कार्की बारामा छन् । आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारी कञ्चनपुर पुगेका छन् भने विज्ञानराज शर्मा नेपालगञ्ज पुगेका छन् ।
खासगरी आन्दोलनका क्रममा सरकारी एवं निजी आवास तोडफोड एवं आगजनी र लुटपाटको विवरण संकलन गर्न आयोगको टोली ‘फिल्ड भिजिट’ गर्न गएको हो ।
टोलीले जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ), प्रहरी प्रमुख, निवर्तमान सांसदहरू र स्थानीय जनप्रतिनिधिहरूसँगै पीडितहरू (जसले प्रहरीमा जाहेरी दिएका छन्) को राय बुझ्ने काम गरिरहेको छ ।
आयोगका अध्यक्ष कार्कीले बारा, पर्सा र मकवानपुर, सदस्य शर्माले कास्की, चितवन, बुटवल र बाँके तथा अर्का सदस्य भण्डारीले सुर्खेत, कञ्चनपुर र कैलाली जिल्लाको वस्तुस्थिति बुझिरहेका हुन् ।
बिहीबार बारा पुगेका अध्यक्ष कार्कीले बाराकै पूर्व सांसदहरू किसान श्रेष्ठ, ज्वाला साह, सीडीओ प्रकाश पौडेल, जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङलगायत स्थानीय जनप्रतिनिधिको राय बुझेका थिए ।
छलफलका क्रममा पूर्व सांसद एवं एमाले नेतृ ज्वाला साहले भदौ २४ गते आन्दोलनकारीले आफ्नो घर जलाउन लागेका सूचना सशस्त्र प्रहरीलाई पटक–पटक दिँदा पनि असहयोग गरेको बताएकी थिइन् ।
अर्का पूर्व सांसद किसान श्रेष्ठको घर जलाएर फर्किँदै गरेका आन्दोलनकारीले आफ्नो घर जलाउन लागेको सूचना सशस्त्रलाई दिँदा उसले असहयोग गरेको भनाइ ज्वालाको थियो ।
‘हिजोका एसपी हुँदा धेरै सोधीखोजी गर्नुहुन्थ्यो । तर, अहिलेका एसपीले मलाई उल्टै शेरबहादुर देउवाले कुटाइ खाइरहेका छन्, तपाईंका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसके, तपाईं बाँचेरै यति बोल्न सकिरहनुभएको छ भने । यो कुरा म जीवनमा कहिल्यै भुल्नेछैन,' उनले भनिन् ।
ज्वालाले आयोगका अध्यक्ष कार्कीसमक्ष गुनासो पोख्दै थपिन्, ‘अब सशस्त्र प्रहरी यो देशमा काम छैन, जनपद (प्रहरी)मा गाभ्नुपर्छ । म बाँचुञ्जेल यो आवाज उठाउँछु । मेरो घर जल्यो, सबै जल्यो ।’
आन्दोलनकारीले ज्वालाको बारास्थित घरमा आगो लगाइदिएका थिए ।
नेकपा एकीकृत समाजवादीका पूर्व सांसद किसान श्रेष्ठले पनि आफ्नो घर जलाउनेहरूको पहिचान भइसकेको र उनीहरूलाई कारबाही गर्न प्रहरीमा जाहेरी दिएको बताए । उनले जेनजीका नाममा घुसपैठ गरेर निजी आवास र सार्वजनिक कार्यालय जलाउनेलाई कानूनी दायरमा ल्याउनुपर्ने बताए ।
आयोग अहिले किन जिल्ला दौडाहामा लागेको भन्ने प्रश्नमा कार्कीले लोकान्तरसँग भने, ‘आन्दोलन काठमाडौंमा मात्रै नभएर बाहिर जिल्लामा पनि भएका छन्, जिल्लामा भएका तोडफोड, आगजनी र लुटपाटसँगै त्यहाँ भएका सुरक्षा व्यवस्थापनका कुराहरू प्रतिवेदनमा समेट्नुपर्छ, त्यही भएर जिल्लाको वस्तुस्थिति बुझ्न गएका हौं ।’
उनले आगलागीबाट पीडित व्यक्ति, व्यवसायी, जिल्लाका सीडीओ र सुरक्षा निकायको भनाइलाई प्रतिवेदनमा समेटिने बताए । ‘जहाँ पुगेका छौं, त्यहाँ सुरक्षा चुक भएको कुरा सुनिएको छ । आन्दोलनमा घुसपैठ भएको कुरा आएको छ । हामी सूक्ष्म ढंगले अध्ययन गर्छौं,’ कार्कीले भने, ‘जिल्लाबाट फर्किएपछि बयानको काम शुरू हुन्छ ।’
सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्रीले झण्डै पिटेनन्!
आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारीले राय सुझाव लिइरहेका थिए । त्यतिकैमा हलभित्र सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र रावल ‘यु गेट लस्ट’ भन्दै प्रवेश गरे । भण्डारीले ‘ह्वाट डु यु मिन बाइ लस्ट ?’ भन्दै प्रतिप्रश्न गरे ।
आक्रोशित रावलले जवाफ फर्काए, ‘मेरो घर जलाइएको छ । अपराधीलाई लुकाउनुभएको छ । तपाईंहरूले बढ्ता कुरा गर्ने ? मेरा बालबच्चाको हालत देख्नुभएको छ ? अहिले नाटक देखाउन आउने ? तपाईंहरू अपराधी हो ।’
रावल त्यतिमै रोकिएनन्, उनले 'यहाँ कर्मचारी साथीहरूलाई थर्काउन आउनुभएको हो ?' भनेर प्रतिप्रश्न गरे । रावल यस्तो नगर्नुस्, याद गर्नुहोला भन्दै बाहिर निस्किएका थिए ।
बाराकी पूर्व सांसद ज्वाला साहले के भनिन् ?(उनकै शब्दमा)
भदौ २४ गते सशस्त्रका एसपीले जीवनमा कहिल्यै नभुल्ने गरी धोका दिनुभयो ।
'किसान (नेकपा एसका सांसद कृष्णकुमार श्रेष्ठ) दाइको घर जलाइसकेपछि आन्दोलनकारीहरू अब ज्वाला साहको घर जलाउन जानुपर्छ भन्दै अघि बढेका छन् भनेर मैले सशस्त्रका एसपीलाई सूचना दिएकी थिएँ । मेरो लागि घर जल्नु भनेको म मर्नुसरह हो ।
हिजोका एसपी मोहनजी हुँदा धेरै सोधीखोजी गर्नुहुन्थ्यो । तर, अहिलेका एसपीले मलाई उल्टै शेरबहादुर देउवा कुटाइ खाइरहेका छन्, तपाईंका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसके, तपाईं बाँचेरै यति बोल्न सकिरहनुभएको छ भने । यो कुरा म जीवनमा कहिल्यै भुल्नेछैन ।
प्रहरीलाई म धन्यवाद दिन्छु । तर, दुईजना प्रहरीले मेरो घरको के सुरक्षा गर्न सक्नुहुन्थ्यो र ? उहाँहरूले कलैया सम्हाल्ने कि मेरो घर जोगाउने ? अब यो देशमा सशस्त्र प्रहरीको काम छैन । सशस्त्रलाई जनपद (नेपाल प्रहरी)मा गाभ्नैपर्छ । म बाँचुञ्जेल यो आवाज उठाइरहन्छु ।
'दलमा लाग्नु अपराध हो ? :सुरथ पुरी,मेयर,निजगढ (उनकै शब्दमा)
दुईवटा एजेन्डा लिएर प्रदर्शन भड्काउने र संसद् भवन समेत जलाउने (योजना बनाउने)हरूको खोजी गर्न सकिएन भने हामी (सत्यतथ्यमा) पुग्न सक्दैनौं ।
'भोलिपल्ट क्षति गर्नका लागि अघिल्लो दिन मान्छे मारिनैपर्छ, घटना घटाइनैपर्छ, बच्चा मरेपछि मात्रै अर्कै माहोल बन्छ' भन्ने कुत्सित मनसाय राख्ने तत्त्वहरू पत्ता लगाउनुपर्छ ।
यसमा संस्थागत र व्यक्तिगत रूपमा को-को थिए ? उनीहरूले लोकतान्त्रिक अभ्यासका तीनवटै संरचना र देशको आर्थिक मेरुदण्ड (निजी क्षेत्र)लाई ध्वस्त बनाए । एक हिसाबले भन्दा सम्पूर्ण राष्ट्रलाई नै असफल बनाउने प्रयास गरियो ।
नेपालको सार्वभौमसत्ता बलियो हुँदै थियो, तर यो आन्दोलनले हाम्रो धरोहर मात्र भत्काएन, लगानीको वातावरण पनि सकियो । जनप्रतिनिधिहरू अपराधी हुन् र ? मेरो परिवारले भोगेको मानसिक क्षतिको पूर्ति कसरी हुन्छ ?
अध्यक्षज्यू, यो देशमा कुनै राजनीतिक दलमा लाग्नु अपराध हो ?
एमाले, कांग्रेस र माओवादीमा भ्रष्टाचारी को-को हुन् ? त्यो खोज्नुपर्छ । केही भ्रष्टाचारीका नाममा म एमाले भएकै कारण मेरो घर जल्नुपर्ने ? मैले जिन्दगीभर एक पैसा नलिई काम गर्दा पनि दलमा भएकै कारण मलाई एउटै कित्तामा 'जनरलाइज' गरिनुपर्ने ? म भ्रष्टाचारी हो कि होइन भन्ने निर्णय फेसबूकले गर्ने हो ? ज्यान हत्केलामा राखेर राजनीतिक परिवर्तन ल्याउनेहरूलाई जसरी अपराधीकरण गर्न खोजिँदैछ, त्यो खतरा हो ।
आज हामी 'डिफेन्सिभ' (रक्षात्मक) छौं । म गाडी चढ्ने कि नचढ्ने ? पालिका जाने कि नजाने ? राति घरमा सुत्ने कि नसुत्ने ? दुई-चारजना केटा जम्मा भए भने आक्रमण पो गरिहाल्ने हुन् कि भन्ने त्रास छ । यो त्रासको वातावरणमा हामीले कसलाई विश्वास गर्ने ? सरकारलाई ? कि सुरक्षा एजेन्सीहरूलाई ? आज सुरक्षा निकायलाई यति निकम्मा कसले बनायो ? माओवादी द्वन्द्वमा पनि यति निकम्मा थिएन ।
पालिका जल्नुअघि तोडफोड भयो । त्यहाँ ४५ जना जति सुरक्षाकर्मी हुनुहुन्थ्यो, तर उहाँहरू सम्झाई-बुझाई गर्नुको सट्टा नमस्कार गरेर बाहिर निस्किनुभयो । अघिल्लो दिन गोली लागेर मान्छे मरेको छ, भोलिपल्ट टियर ग्यास पनि नहान्ने ?
सैनिक मुख्यालय नजिकैको सिंहदरबार र सर्वोच्च त बल्यो, मेरो पालिका जोगिएन भनेर किन दुःख गर्नु भन्ने लाग्यो । तर, अहिलेका जनप्रतिनिधि, दलका कार्यकर्ता र नेताहरूले विश्वास गर्ने निकाय को हो ? अहिलेको सरकारले त्यो प्रत्याभूति दिनुपर्दैन ?
तोडफोड र आगजनीमा को-को संस्थागत रूपमा लागे, त्यो पत्ता लगाउनु जरुरी छ । माओवादी द्वन्द्वमा समेत जेलबाट नभागेका कैदीबन्दी अहिले कसरी भागे ? त्यहाँ कुन आईएनजीओ पुगेर भगायो ? त्यो पत्ता लगाउनुपर्दैन ?
अहिलेका गृहमन्त्री 'दलका नेताले प्रतिज्ञा गर्नुपर्यो, चोरीका हतियार प्रयोग नगर्न संकल्प गर्नुपर्यो' भन्नुहुन्छ । गृहमन्त्री उहाँ, मान्छे पक्रने उहाँ, हतियार फिर्ता ल्याउनुपर्ने उहाँले हो, यस्तो लाचार कुरा गर्ने हो ? गृहमन्त्री र मन्त्रालय के चिठ्ठामा परेको हो ?
भीमफेदीका अध्यक्ष हिदम लामाको आक्रोश (उनकै शब्दमा)
हाम्रो घर जलाउनेहरूको घर हामी पनि पाँच सय जना जम्मा गरेर पाँच मिनेटमा जलाउन सक्छौँ ।
आज 'नेपो बेबी', 'नेपो किड्स' भनिँदैछ । तिनै भ्रष्टका छोराछोरीहरू के भनेर हिँडिरहेका छन्, (त्यसका अगाडि) एसपी र सीडीओसाप बोल्न सक्नुहुन्न । मलाई थाहा छ, उहाँहरूलाई दबाब छ ।
के हिजोका राजनीतिक दलहरू मरेका हुन् ? कि हामी भ्रष्ट हौं भन्ने प्रमाणित हुनुपर्यो ।
गृह प्रशासन जुन अराजकता, दादागिरी र लठैतको भरमा चलिरहेको छ, त्यो खेदजनक छ ।
यसले देशलाई ठीक ठाउँमा पुर्याउँदैन । आन्दोलनमा बैंकको किस्ता तिर्न नसक्ने, लुटेरा, ऋणले टाट पल्टेका, धराशायी व्यवसायी र अरूको भलो नचाहनेहरू छन् ।
सुदन गुरुङ को हो यो देशको ? उसको दबाबमा जिल्लाका सीडीओ र एसपीलाई थर्काउने ? देश कता जाँदैछ ?