२३ जेठ २०८३, शनिबार
जेनजी आन्दोलन

प्रश्नले घेरिँदै कार्की आयोग, देश दौडाहाका क्रममा चौतर्फी आक्रोशको निसाना

कात्तिक १४, २०८२
काठमाडौं
प्रश्नले घेरिँदै कार्की आयोग, देश दौडाहाका क्रममा चौतर्फी आक्रोशको निसाना

भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित सदस्यहरू अहिले आन्दोलनमा भएको क्षतिको विवरण संकलनका लागि जिल्ला दौडाहामा छन् । कार्की बारामा छन् । आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारी कञ्चनपुर पुगेका छन् भने विज्ञानराज शर्मा नेपालगञ्ज पुगेका छन् ।

खासगरी आन्दोलनका क्रममा सरकारी एवं निजी आवास तोडफोड एवं आगजनी र लुटपाटको विवरण संकलन गर्न आयोगको टोली ‘फिल्ड भिजिट’ गर्न गएको हो ।

टोलीले जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ), प्रहरी प्रमुख, निवर्तमान सांसदहरू र स्थानीय जनप्रतिनिधिहरूसँगै पीडितहरू (जसले प्रहरीमा जाहेरी दिएका छन्) को राय बुझ्ने काम गरिरहेको छ ।

आयोगका अध्यक्ष कार्कीले बारा, पर्सा र मकवानपुर, सदस्य शर्माले कास्की, चितवन, बुटवल र बाँके तथा अर्का सदस्य भण्डारीले सुर्खेत, कञ्चनपुर र कैलाली जिल्लाको वस्तुस्थिति बुझिरहेका हुन् ।

बिहीबार बारा पुगेका अध्यक्ष कार्कीले बाराकै पूर्व सांसदहरू किसान श्रेष्ठ, ज्वाला साह, सीडीओ प्रकाश पौडेल, जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङलगायत स्थानीय जनप्रतिनिधिको राय बुझेका थिए ।

छलफलका क्रममा पूर्व सांसद एवं एमाले नेतृ ज्वाला साहले भदौ २४ गते आन्दोलनकारीले आफ्नो घर जलाउन लागेका सूचना सशस्त्र प्रहरीलाई पटक–पटक दिँदा पनि असहयोग गरेको बताएकी थिइन् ।

अर्का पूर्व सांसद किसान श्रेष्ठको घर जलाएर फर्किँदै गरेका आन्दोलनकारीले आफ्नो घर जलाउन लागेको सूचना सशस्त्रलाई दिँदा उसले असहयोग गरेको भनाइ ज्वालाको थियो ।

‘हिजोका एसपी हुँदा धेरै सोधीखोजी गर्नुहुन्थ्यो । तर, अहिलेका एसपीले मलाई उल्टै शेरबहादुर देउवाले कुटाइ खाइरहेका छन्, तपाईंका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसके, तपाईं बाँचेरै यति बोल्न सकिरहनुभएको छ भने । यो कुरा म जीवनमा कहिल्यै भुल्नेछैन,' उनले भनिन् ।

ज्वालाले आयोगका अध्यक्ष कार्कीसमक्ष गुनासो पोख्दै थपिन्, ‘अब सशस्त्र प्रहरी यो देशमा काम छैन, जनपद (प्रहरी)मा गाभ्नुपर्छ । म बाँचुञ्जेल यो आवाज उठाउँछु । मेरो घर जल्यो, सबै जल्यो ।’

आन्दोलनकारीले ज्वालाको बारास्थित घरमा आगो लगाइदिएका थिए ।

नेकपा एकीकृत समाजवादीका पूर्व सांसद किसान श्रेष्ठले पनि आफ्नो घर जलाउनेहरूको पहिचान भइसकेको र उनीहरूलाई कारबाही गर्न प्रहरीमा जाहेरी दिएको बताए । उनले जेनजीका नाममा घुसपैठ गरेर निजी आवास र सार्वजनिक कार्यालय जलाउनेलाई कानूनी दायरमा ल्याउनुपर्ने बताए ।

आयोग अहिले किन जिल्ला दौडाहामा लागेको भन्ने प्रश्नमा कार्कीले लोकान्तरसँग भने, ‘आन्दोलन काठमाडौंमा मात्रै नभएर बाहिर जिल्लामा पनि भएका छन्, जिल्लामा भएका तोडफोड, आगजनी र लुटपाटसँगै त्यहाँ भएका सुरक्षा व्यवस्थापनका कुराहरू प्रतिवेदनमा समेट्नुपर्छ, त्यही भएर जिल्लाको वस्तुस्थिति बुझ्न गएका हौं ।’

उनले आगलागीबाट पीडित व्यक्ति, व्यवसायी, जिल्लाका सीडीओ र सुरक्षा निकायको भनाइलाई प्रतिवेदनमा समेटिने बताए । ‘जहाँ पुगेका छौं, त्यहाँ सुरक्षा चुक भएको कुरा सुनिएको छ । आन्दोलनमा घुसपैठ भएको कुरा आएको छ । हामी सूक्ष्म ढंगले अध्ययन गर्छौं,’ कार्कीले भने, ‘जिल्लाबाट फर्किएपछि बयानको काम शुरू हुन्छ ।’​

सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्रीले झण्डै पिटेनन्!

आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारीले राय सुझाव लिइरहेका थिए । त्यतिकैमा हलभित्र सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र रावल ‘यु गेट लस्ट’ भन्दै प्रवेश गरे । भण्डारीले ‘ह्वाट डु यु मिन बाइ लस्ट ?’ भन्दै प्रतिप्रश्न गरे ।

आक्रोशित रावलले जवाफ फर्काए, ‘मेरो घर जलाइएको छ । अपराधीलाई लुकाउनुभएको छ । तपाईंहरूले बढ्ता कुरा गर्ने ? मेरा बालबच्चाको हालत देख्नुभएको छ ? अहिले नाटक देखाउन आउने ? तपाईंहरू अपराधी हो ।’

रावल त्यतिमै रोकिएनन्, उनले 'यहाँ कर्मचारी साथीहरूलाई थर्काउन आउनुभएको हो ?' भनेर प्रतिप्रश्न गरे । रावल यस्तो नगर्नुस्, याद गर्नुहोला भन्दै बाहिर निस्किएका थिए ।​

बाराकी पूर्व सांसद ज्वाला साहले के भनिन् ?(उनकै शब्दमा)

भदौ २४ गते सशस्त्रका एसपीले जीवनमा कहिल्यै नभुल्ने गरी धोका दिनुभयो ।

'किसान (नेकपा एसका सांसद कृष्णकुमार श्रेष्ठ) दाइको घर जलाइसकेपछि आन्दोलनकारीहरू अब ज्वाला साहको घर जलाउन जानुपर्छ भन्दै अघि बढेका छन् भनेर मैले सशस्त्रका एसपीलाई सूचना दिएकी थिएँ । मेरो लागि घर जल्नु भनेको म मर्नुसरह हो ।

हिजोका एसपी मोहनजी हुँदा धेरै सोधीखोजी गर्नुहुन्थ्यो । तर, अहिलेका एसपीले मलाई उल्टै शेरबहादुर देउवा कुटाइ खाइरहेका छन्, तपाईंका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसके, तपाईं बाँचेरै यति बोल्न सकिरहनुभएको छ भने । यो कुरा म जीवनमा कहिल्यै भुल्नेछैन ।

प्रहरीलाई म धन्यवाद दिन्छु । तर, दुईजना प्रहरीले मेरो घरको के सुरक्षा गर्न सक्नुहुन्थ्यो र ? उहाँहरूले कलैया सम्हाल्ने कि मेरो घर जोगाउने ? अब यो देशमा सशस्त्र प्रहरीको काम छैन । सशस्त्रलाई जनपद (नेपाल प्रहरी)मा गाभ्नैपर्छ । म बाँचुञ्जेल यो आवाज उठाइरहन्छु ।

'दलमा लाग्नु अपराध हो ? :सुरथ पुरी,मेयर,निजगढ (उनकै शब्दमा)

दुईवटा एजेन्डा लिएर प्रदर्शन भड्काउने र संसद् भवन समेत जलाउने (योजना बनाउने)हरूको खोजी गर्न सकिएन भने हामी (सत्यतथ्यमा) पुग्न सक्दैनौं ।

'भोलिपल्ट क्षति गर्नका लागि अघिल्लो दिन मान्छे मारिनैपर्छ, घटना घटाइनैपर्छ, बच्चा मरेपछि मात्रै अर्कै माहोल बन्छ' भन्ने कुत्सित मनसाय राख्ने तत्त्वहरू पत्ता लगाउनुपर्छ ।

यसमा संस्थागत र व्यक्तिगत रूपमा को-को थिए ? उनीहरूले लोकतान्त्रिक अभ्यासका तीनवटै संरचना र देशको आर्थिक मेरुदण्ड (निजी क्षेत्र)लाई ध्वस्त बनाए । एक हिसाबले भन्दा सम्पूर्ण राष्ट्रलाई नै असफल बनाउने प्रयास गरियो ।

नेपालको सार्वभौमसत्ता बलियो हुँदै थियो, तर यो आन्दोलनले हाम्रो धरोहर मात्र भत्काएन, लगानीको वातावरण पनि सकियो । जनप्रतिनिधिहरू अपराधी हुन् र ? मेरो परिवारले भोगेको मानसिक क्षतिको पूर्ति कसरी हुन्छ ?

अध्यक्षज्यू, यो देशमा कुनै राजनीतिक दलमा लाग्नु अपराध हो ?

एमाले, कांग्रेस र माओवादीमा भ्रष्टाचारी को-को हुन् ? त्यो खोज्नुपर्छ । केही भ्रष्टाचारीका नाममा म एमाले भएकै कारण मेरो घर जल्नुपर्ने ? मैले जिन्दगीभर एक पैसा नलिई काम गर्दा पनि दलमा भएकै कारण मलाई एउटै कित्तामा 'जनरलाइज' गरिनुपर्ने ? म भ्रष्टाचारी हो कि होइन भन्ने निर्णय फेसबूकले गर्ने हो ? ज्यान हत्केलामा राखेर राजनीतिक परिवर्तन ल्याउनेहरूलाई जसरी अपराधीकरण गर्न खोजिँदैछ, त्यो खतरा हो ।

आज हामी 'डिफेन्सिभ' (रक्षात्मक) छौं । म गाडी चढ्ने कि नचढ्ने ? पालिका जाने कि नजाने ? राति घरमा सुत्ने कि नसुत्ने ? दुई-चारजना केटा जम्मा भए भने आक्रमण पो गरिहाल्ने हुन् कि भन्ने त्रास छ । यो त्रासको वातावरणमा हामीले कसलाई विश्वास गर्ने ? सरकारलाई ? कि सुरक्षा एजेन्सीहरूलाई ? आज सुरक्षा निकायलाई यति निकम्मा कसले बनायो ? माओवादी द्वन्द्वमा पनि यति निकम्मा थिएन ।

पालिका जल्नुअघि तोडफोड भयो । त्यहाँ ४५ जना जति सुरक्षाकर्मी हुनुहुन्थ्यो, तर उहाँहरू सम्झाई-बुझाई गर्नुको सट्टा नमस्कार गरेर बाहिर निस्किनुभयो । अघिल्लो दिन गोली लागेर मान्छे मरेको छ, भोलिपल्ट टियर ग्यास पनि नहान्ने ?

सैनिक मुख्यालय नजिकैको सिंहदरबार र सर्वोच्च त बल्यो, मेरो पालिका जोगिएन भनेर किन दुःख गर्नु भन्ने लाग्यो । तर, अहिलेका जनप्रतिनिधि, दलका कार्यकर्ता र नेताहरूले विश्वास गर्ने निकाय को हो ? अहिलेको सरकारले त्यो प्रत्याभूति दिनुपर्दैन ?

तोडफोड र आगजनीमा को-को संस्थागत रूपमा लागे, त्यो पत्ता लगाउनु जरुरी छ । माओवादी द्वन्द्वमा समेत जेलबाट नभागेका कैदीबन्दी अहिले कसरी भागे ? त्यहाँ कुन आईएनजीओ पुगेर भगायो ? त्यो पत्ता लगाउनुपर्दैन ?

अहिलेका गृहमन्त्री 'दलका नेताले प्रतिज्ञा गर्नुपर्‍यो, चोरीका हतियार प्रयोग नगर्न संकल्प गर्नुपर्‍यो' भन्नुहुन्छ । गृहमन्त्री उहाँ, मान्छे पक्रने उहाँ, हतियार फिर्ता ल्याउनुपर्ने उहाँले हो, यस्तो लाचार कुरा गर्ने हो ? गृहमन्त्री र मन्त्रालय के चिठ्ठामा परेको हो ?

भीमफेदीका अध्यक्ष हिदम लामाको आक्रोश (उनकै शब्दमा)

हाम्रो घर जलाउनेहरूको घर हामी पनि पाँच सय जना जम्मा गरेर पाँच मिनेटमा जलाउन सक्छौँ ।

आज 'नेपो बेबी', 'नेपो किड्स' भनिँदैछ । तिनै भ्रष्टका छोराछोरीहरू के भनेर हिँडिरहेका छन्, (त्यसका अगाडि) एसपी र सीडीओसाप बोल्न सक्नुहुन्न । मलाई थाहा छ, उहाँहरूलाई दबाब छ ।

के हिजोका राजनीतिक दलहरू मरेका हुन् ? कि हामी भ्रष्ट हौं भन्ने प्रमाणित हुनुपर्‍यो ।

गृह प्रशासन जुन अराजकता, दादागिरी र लठैतको भरमा चलिरहेको छ, त्यो खेदजनक छ ।

यसले देशलाई ठीक ठाउँमा पुर्‍याउँदैन । आन्दोलनमा बैंकको किस्ता तिर्न नसक्ने, लुटेरा, ऋणले टाट पल्टेका, धराशायी व्यवसायी र अरूको भलो नचाहनेहरू छन् ।

सुदन गुरुङ को हो यो देशको ? उसको दबाबमा जिल्लाका सीडीओ र एसपीलाई थर्काउने ? देश कता जाँदैछ ?

salt training

कमेन्ट गर्नुहोस्