
कृषिमा परिश्रम, समर्पण र विश्वासको प्रतीकका रूपमा चिनिन्छन् रूपन्देहीका कृषक नरेन्द्र पाण्डे । जिल्लाको सैनामैना नगरपालिका–१ रानीबगियाका जाँगरिला र लगनशील किसान पाण्डेले मानव स्वास्थ्यलाई निरोगी राख्न फलफूल र जडिबुटी उत्पादन गर्दै आइरहेका छन् ।
पछिल्लो समय बढ्दो विषादीको प्रयोगबाट जनस्वास्थ्य बिग्रिरहेका बेला उनी औषधीय गुण भएका फलफूल र जडीबुटी खेती गरिरहेका छन् । पाण्डेको अभियानले केवल कृषि मात्र होइन, स्वास्थ्य सचेतनाको पाठ पनि सिकाएको छ ।
विस.२०६८ मा एभरग्रीन मल्टिप्रपोज एग्रो फर्म स्थापना गरी घ्यूकुमारीबाट कृषि थालेका पाण्डेले अहिले दर्जन बढी फलफूल र जडीबुटी उत्पादन गरी बजार पठाउँछन् । वषौंदेखि खाली र उजाड जमिनमा उनले घ्यूकुमारी, अमला, थरिथरिका कागती, ड्रागन फूड, गलगा अदुवा, सावर सप, स्टेभिया, कुरिलोलगायत फलफूल लगाएका छन् । ‘शुरूपमा म घ्यूकुमारीबाट यो अभियानमा जुटेको हुँ,’ उनी भन्छन्, ‘यस्तो राम्रो स्कोप भएको जडिबुटीलाई राज्यले चिन्न सकेन, त्यसपछि घ्युकुमारीसँगै स्टेभियाको थालें । अन्य जडिबुटी र सोसँग जोडिएका फलफूल फलाइरहेको छु । यसबाट सन्तुष्ट छु ।’
जडीबुटीजन्य फलफूल केवल आम्दानीको स्रोत मात्र होइन, स्वास्थ्यका लागि पनि वरदान मानिन्छ । वैज्ञानिक पद्धति अपनाएर खेती गर्दै आएका पाण्डे जैविक मल प्रयोग गर्छन् । यसले माटोको उर्वरता जोगाउनुका साथै उत्पादनमा पनि वृद्धि गरेको उनको भनाइ छ । राज्यले जडीबुटीको महत्व चिन्न सके यसको नेपालमा ठूलो भविष्य र सम्भावना छ,’ पाण्डे भन्छन्, ‘आफ्नै ठाउँमा परिश्रम गरे, जडीबुटी, फलफूल र तरकारी खेतीको राम्रो भविष्य छ । तर, राज्यले चिन्न सक्दैन ।’
उनले अहिले कागती खेतीमा बढी जोड दिएका छन् । कागती राम्रो फलाएपछि मानिसहरू उनको फर्ममै किन्न आइपुग्छन् । कृषि क्षेत्रमा अध्ययन अनुसन्धान समेत गर्दैै आएका पाण्डेले घरमा नर्सरी स्थापना गरी कागतीको अध्ययन अनुसन्धान समेत शुरू गरेका छन् ।
एयर लेयरिङ (कलमी) गरेर अहिले गमलामा कागती फलाउने अभ्यासमा समेत लागेका छन् । यो स्थानसम्म आइपुग्न पाण्डेले धेरै संघर्षका उकाली ओराली पार गरेका छन् । स्याङजा गल्याङ नगरपालिका–४, दूधेचौरमा विस. २०२५ मा जन्मिएका पाण्डेको बाल्यकाल गाउँमै वित्यो । उनी ९ वर्षको हुँदा परिवार बसाइसराइ गरी रुपन्देही झरेका थिए ।
बुटवल माविबाट विद्यालय तहको पढाइ पूरा गरेपछि बुटवल बहुमुखी क्याम्पसमा पढ्न थाले । पढाइसँगै उनले फर्निचरमा कामसमेत अघि बढाए । शुरूआतमा पढाइभन्दा काममा बढी केन्द्रित भएका पाण्डेको यो पेशाबाट छिट्टै नै त्यति लगाव भएन ।
त्यसपछि उनले काठ व्यापार गर्ने योजना बनाए पनि सफल हुन सकेनन् । त्यसपछि उनले विदेश जाने योजना बनाए पनि त्यसमा पनि ठक्कर खाए । त्यपछि फाइभस्टार होटलमा काम थाले । त्यहाँबाट पनि सन्तुष्ट हुन सकेनन् ।
जीवन धान्न केही न केही त गर्नैपर्छ भन्ने उनमा हुटहुटी थियो । ‘गर्न त गर्ने तर के गर्ने ?’, पुराना दिन सम्झिँदै पाण्डे भन्छन्, ‘ठूलो लगानी गर्न पर्याप्त पुँजी थिएन ।’ सम्पत्तिको नाममा उनीसित गल्याङबाट घरबारी बेचेर रुपन्देहीमा किनेको केही जग्गा मात्र थियो । त्यही जग्गा धितो राखेरै भए पनि कुनै व्यवसाय गर्ने योजना बनाएको उनी सम्झन्छन् ।
त्यसपछि बल्ल कृषि क्षेत्रमा लागेका हुन । शुरूको दुई वर्ष घ्यू कुमारी र स्टेभिया बजारसम्म पुग्यो । तर, पछि सरकारले घ्यूकुमारीलाई मान्यता दिएन । बजारको प्रबर्द्धन गर्ने सम्झौता गरेको सहारा एग्रोले पनि मुस्किलले डेढ वर्षसम्म खरिद गर्यो । विस्तारै बजार खुम्चिँदै गयो ।
पाण्डेले १० लाखको लागतमा शुरू गरेको उक्त खेतीलाई जसोतसो ३ वर्ष निरन्तरता दिए । त्यसपछि शुद्धोधन गाउँपालिका– १ मा ८ कठ्ठा जमिन भाडामा लिएर कागती खेती शुरू गरे । विगत ४ वर्षदेखि व्यवसायीक कागती खेती गर्दै आएका नरेन्द्रले त्यसपछि पछाडि फर्केर हेर्नुपरेको छैन ।
अहिले कागती धेरै राम्रो छ । कागतीको आम्दानीबाट उनी सन्तुष्ट छन् । सिजनल जातको कागतीको बगैँचाबाट ३५ देखि ४० क्विन्टलसम्म कागती निस्कन्छ भने बाह्रै महिना हुने कागतीबाट पनि प्रतिवर्ष १० क्वीन्टलसम्म उत्पादन हुन्छ । ‘कृषिमा तत्कालै फाइदा खोज्नु हुँदैन निरन्तरता धैर्यता चाहिन्छ । मैले पनि आफ्नो भिजनलाई अहिले आएर स्थापित गरें । यो बीचमा विभिन्न समस्या आइलागे । शुरूमा धेरैले विश्वास नगर्ने पनि गरे ।’ कृषि क्षेत्रमा बुझेर लाग्न युवा पुस्तालाई उनी सुझाव दिन्छन् ।