०५ साउन २०८३, मंगलबार

नारायण वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा

कात्तिक १५, २०८२
काठमाडौं
नारायण वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा

नारायण वाग्लेको तेस्रो पुस्तक ‘कोरियाना कफी गफ’को अंग्रेजीमा अनुवाद भएको छ । 

काठमाडौं कालिकास्थानस्थित आरशालामा लेखक नारायण वाग्लेले एडअर्ड़ो रिनकनलाई अनूदित पुस्तक उपहार दिएसँगै पुस्तक लोकार्पण गरिएको हो । 

पत्रकार–साहित्यकार हुँदै पछिल्लो समय कृषकका रूपमा आफ्नो गाउँ तनहुँ फर्किएका वाग्लेले बायोडायनामिक कृषि अभियानका एक अग्रणी व्यक्तित्व रिनकनलाई पुस्तक उपहार दिएका थिए ।

नारायण वाग्लेले काठमाडौंमा लामो समय पत्रकारिता गरे । जहाँ उनले अनौपचारिक शैलीमा ‘कफी गफ’ लेखे । कफी गफको लोकप्रियता यति चुलियो कि वाग्ले अहिले पनि पाठकबाट ‘कफी गफ’को त्यो चुस्की लिइरहेका हुन्छन् । 

वाग्ले भन्छन्, ‘जुन शैलीले मलाई धेरै पाठक र माया दियो, मैले ‘कोरियाना कफी गफ’ पुस्तकमा त्यही शैली अपनाएँ । तर, यो मेरो पत्रिकाहरूको संग्रह नभई नयाँ सृजना हो ।’

‘कोरियाना कफी गफ’लाई नेपालीबाट अंग्रेजीमा अनुवाद प्रवीण अधिकारीले गरेका हुन् । वाग्लेको त्यही कफी गफ शैलीबाट प्रभावित भएर आफूले अनुवाद गरेको प्रवीण बताउँछन् । 

पञ्चायतको बन्द समाजपछि भर्खरभर्खर खुला हुन लागेको नेपाली समाजमा नेपाली भाषालाई यो स्तरको खुलापनमा लैजाने श्रेय आफूले वाग्लेलाई दिने गरेको अधिकारीको भनाइ छ ।

उनी भन्छन्, ‘नारायण वाग्लेले अंग्रेजी पढ्ने सहरिया पुस्तालाई 'कफी गफ' र 'पल्पसा क्याफे' मार्फत नेपाली भाषातिर आकर्षित गरे ।’

‘कोरियाना कफी गफ’ पढ्दै जाँदा आफूले शैलीमा नवीनता, भाषामा लचकता, भावमा कोमलता भेटाएको अनुवादकको अनुभव छ । 

यति मीठोसँग लेखिएको कृति संसारलाई पढाउनुपर्छ भन्ने सोचेर त्यही साहित्यिक सुन्दरता अनुवादमा ल्याउन सकूँ भनेर आफूले आफैंलाई चुनौती दिँदै अनुवाद गरेको अधिकारी बताउँछन् ।

लेखक वाग्लेले अनुवादक प्रवीण अधिकारीलाई धन्यवाद दिँदै भने, ‘आफू स्वयं पनि साहित्यकार भएको एक सिद्धहस्त अनुवादकले मेरो कृतिलाई झनै सुन्दर बनाइदिएका छन् ।’

नारायण वाग्लेले ‘पल्पसा क्याफे’ र ‘मयूर टाइम्स’ उपन्यासपछि सृजनशील गैरआख्यानका रुपमा ‘कोरियाना कफी गफ’ लेखेका हुन् । २० वर्षअघि प्रकाशन भएको ‘पल्पसा क्याफे’ले मदन पुरस्कार प्राप्त गरेको थियो । 

धेरै समीक्षक–समालोचकले नेपाली साहित्य लेखन, प्रकाशन र पठन इतिहासलाई ‘पल्पसा क्याफे’ अघि र पछिका रूपमा व्याख्या गरेका छन् ।

नारायण वाग्लेको ‘पल्पसा क्याफे’देखि प्रकाशन शुरू भएको पब्लिकेसन नेपालयले २० वर्ष पार गरेको छ । यो अवसरमा आफूहरूले सन् २०२५ मा नयाँ पुस्ताका रचना र अनुवाद कृति प्रकाशनमा जोड दिएको पब्लिकेसन नेपालयले नजाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्