
डेमोक्रेटिक पार्टीका उम्मेदवार जोहरान ममदानीले अमेरिकी शहर न्यूयोर्कको मेयर चुनाव जितेका छन् । उनले अहिलेसम्म ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरिसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्, अर्थात् उनलाई १० लाखभन्दा बढी मानिसले मतदान गरेका छन् ।
न्यूयोर्कका पूर्वगभर्नर र स्वतन्त्र उम्मेदवार एन्ड्रयू कुओमो ४१ प्रतिशत अर्थात् लगभग ८.५ लाख मत प्राप्त गर्दै दोस्रो स्थानमा रहे । रिपब्लिकन कर्टिस स्लिवा ७.१ प्रतिशत अर्थात् लगभग १.४५ लाख मतका साथ तेस्रो स्थानमा रहे ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि ममदानीले चुनाव जिते न्यूयोर्कको कोष कटौती गर्ने धम्की दिएका थिए । ट्रम्पको धम्कीबीच ममदानीले सानदार विजय हासिल गरेका हुन् ।
ममदानी पछिल्लो १०० वर्षमा न्यूयोर्कको सबैभन्दा कान्छो र पहिलो मुस्लिम मेयर बन्ने भएका छन् । जितपछि उनले न्यूयोर्कले परिवर्तनको लागि जनादेश दिएको बताए ।
न्यूयोर्क शहरको चुनाव बोर्डले शहरको मेयरको चुनावमा २० लाखभन्दा बढी मानिसहरूले मतदान गरेको रिपोर्ट गरेको छ । १९६९ पछि न्यूयोर्कमा यति ठूलो संख्यामा मानिसहरूले मतदान गरेको यो पहिलोपटक हो ।
ट्रम्प राष्ट्रपति बनेपछि विपक्षी डेमोक्र्याटिक पार्टीले आफ्नो पहिलो ठूलो चुनावी विजय हासिल गरेको हो । यसका साथै, डेमोक्र्याटिक उम्मेदवार स्प्यानबर्गरले भर्जिनियाको गभर्नरको चुनावमा रिपब्लिकन गभर्नर ग्लेन यंगकिनलाई पराजित गरेका छन् । मिकी शेरिलले न्यू जर्सीको गभर्नरको लागि ट्रम्प समर्थक रिपब्लिकन उम्मेदवार ज्याक सिटारेलीलाई पराजित गरे ।
पार्टीले भर्जिनिया, न्यु जर्सी, न्युयोर्क शहर र क्यालिफोर्नियामा प्रमुख जीत हासिल गरेको छ, जसले २०२६ को मध्यावधि चुनावमा गति निर्माण गरिरहेको सीएनएनले विश्लेषण गरेको छ ।
को हुन् ममदानी ?
जोहरान ममदानीको जन्म १९९१ मा युगान्डाको राजधानी कम्पालामा भएको थियो । उनका बुबाले उनलाई क्वामे नाम दिएका थिए, जुन क्वामे क्रान्तिकारी र घानाका पहिलो प्रधानमन्त्री क्वामे नक्रुमाहको नामबाट हो ।
ममदानी प्रसिद्ध भारतीय-अमेरिकी फिल्म निर्देशक मीरा नायर र कोलम्बिया विश्वविद्यालयका प्रख्यात प्राध्यापक महमूद ममदानीका छोरा हुन् । उनले आफ्नो प्रारम्भिक वर्षहरू कम्पालामा बिताए र त्यसपछि पाँच वर्षको उमेरमा दक्षिण अफ्रिका सरे ।
ममदानीका भारतीय मूलका बुबा, महमूद ममदानी, केप टाउन विश्वविद्यालयमा प्राध्यापक थिए । उनले आफ्नो प्रारम्भिक शिक्षा दक्षिण अफ्रिकाको सबैभन्दा पुरानो विद्यालय सेन्ट जर्ज व्याकरण विद्यालयबाट प्राप्त गरे, जुन १८४८ मा केप टाउनमा स्थापित भयो ।
उनी सात वर्षको उमेरमा न्यूयोर्क सरे । उनले ब्रोंक्स हाई स्कूल अफ साइन्समा पढे । २०१४ मा, उनले बोडेन कलेजबाट अफ्रिकी अध्ययनमा विज्ञान स्नातकको उपाधि हासिल गरेका थिए ।
केही वर्षपछि, २०१८ मा, ममदानी अमेरिकी नागरिक बनेका थिए । सक्रिय राजनीतिमा प्रवेश गर्नुअघि जोहरान ममदानीले एक सामाजिक कार्यकर्ताको रूपमा काम गरे।
राजनीतिमा प्रवेश गर्नुअघि, जोहरान ममदानीले न्यूयोर्कको क्वीन्समा फोरक्लोजर सल्लाहकारको रूपमा काम गरेका थिए। ममदानीले आर्थिक कठिनाइका कारण घर गुमाउने अवस्थामा पुगेका कम आय भएका परिवारहरूलाई सहयोग गरेका छन् ।
उनले २०२० मा आफ्नो पहिलो चुनावमा भाग लिए। उनले डेमोक्रेटिक सोसलिस्ट पार्टीको टिकटमा न्यूयोर्क विधानसभाको ३६औं जिल्ला (एस्टोरिया, क्वीन्स) को लागि भाग लिएका थिए ।