२५ जेठ २०८३, सोमबार
कांग्रेसमा महाधिवेशनको सकस

संस्थापन निकटकै नेता गगनको पक्षमा !

कात्तिक १९, २०८२
काठमाडौं
संस्थापन निकटकै नेता गगनको पक्षमा !

नेपाली कांग्रेसका केही पदाधिकारी र पूर्वपदाधिकारीहरूले आउँदो फागुन २१ गतेलाई तोकिएको चुनावअघि महाधिवेशन गर्न नहुने अडान लिइरहेका बेला संस्थापन निकटका केन्द्रीय सदस्यहरू महामन्त्री गगन थापाको लाइनमा उभिएका छन् । 

अधिकांश पूर्वपदाधिकारी र पदाधिकारीले कुनै हालतमा निर्वाचनअघि महाधिवेशन गर्न नहुने दबाब बढाइरहेका छन् । तर संस्थापन निकटबाट जितेका पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म चुनावअघि महाधिवेशन गर्ने महामन्त्री थापाको प्रस्तावको पक्षमा बोलेका छन् ।

मंगलबार महामन्त्री थापाले आगामी पुस १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेका थिए । काउन्टरमा सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्नेभन्दा प्रस्ताव गरेका थिए । तर यादवको प्रस्ताव व्यक्तिगत भएको कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्ट्याएका छन् ।

१४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा टिमबाट जितेका सहमहामन्त्री फरमुल्लाह मन्सुर, केन्द्रीय सदस्यहरू तारामान गुरुङ, आङगेलु शेर्पा, अब्दुल सतार, उदयशमशेर राणा, मदन अमात्यसहितका नेताले छिटो महाधिवेशन गरेर निर्वाचनमा जाने पक्षमा बोलेका हुन् ।

सहमहामन्त्री मन्सुरले त चुनावअघि महाधिवेशन गर्ने मात्रै होइन महामन्त्री थापालाई प्रधानमन्त्री घोषणा गरेर चुनावमा जानुपर्ने प्रस्ताव गरे ।

‘देशैभरका जनताबाट हाम्रो महामन्त्री गगन थापालाई भावी प्रधानमन्त्री र कांग्रेसको सभापतिमा अगाडि सार्नुपर्छ भन्ने आवाज सुनिरहेको छु । उहाँले महामन्त्री जित्दा पनि ६४ प्रतिशत लोकप्रिय मत ल्याउनुभएको थियो । अहिले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर पनि उहाँकै कारण जुटेको हो,’ मन्सुरले भने, ‘यसैले आउने चुनावमा गगन थापा हाम्रो प्रधानमन्त्रीको उम्मेदवार हो भनेर जाऔँ । यस्तो हुँदा पार्टी पनि जित्छ । हामी पनि जित्छौं ।’

दुईवटा महाधिवेशनको कार्यतालिका आएको भन्दै उनले यतिखेर ५४ प्रतिशतले माग गरेको आधारमा विशेष महाधिवेशन उपयुक्त हुने बताए ।

‘हामीले वर्षौंसम्म सत्तामा बसेर गरेको काम जनताले नरुचाए पछि पछिल्लो आन्दोलन भएको हो । यसैले अहिलेकै नेतृत्व लिएर चुनावमा जान सकिँदैन, जानु पनि हुन्न,’ मन्सुरले भने, ‘एउटा पक्षले वैशाखमा महाधिवेशनको प्रस्ताव गरेको छ । यो महाधिवेशन गर्न ल्याइएको प्रस्ताव होइन । अर्को महामन्त्रीको प्रस्ताव छ । यसैले यतिखेर विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्नुपर्छ । अनि मात्रै चुनावमा जानुपर्छ ।’

 

केन्द्रीय सदस्य तारामान गुरुङले त खुलेरै देउवा टिमबाट जिते पनि अहिलेको परिस्थितिलाई महामन्त्री थापाले पार लगाउन सक्ने मत राखे ।

‘म शेरबहादुर देउवाको टिमबाट जितेको हुँ । कृष्ण सिटौलाको कार्यकर्ता हुँ । तर अहिलेको परिस्थितिलाई मूल्यांकन गर्दा गगनलाई पार्टी सभापति, प्रधानमन्त्रीको उम्मेदवार बनाएर जाने निर्णय गर्नुपर्छ । यो समयको चेत र माग हो,’ गुरुङले बैठकमा भने । उनले पनि समयमै महाधिवेशन गरेर चुनावमा जाँदा कांग्रेसले फाइदा उठाउन सक्ने बताए ।

अर्का सदस्य अब्दुल सतारले महामन्त्रीले महाधिवेशन गर्न सकिन्छ भनेका बेला पूर्वपदाधिकारीले रोक्न खोज्नु अनुचित भएको बताए ।

‘कार्यवाहक सभापतिले पनि चुनावअघि महाधिवेशन गर्न भ्याइदिन भनेको हो ? तपाईंलाई कार्यवाहक यसैको लागि दिएको हो ? युगको आवाजलाई बुझ्नुभएको छैन । महामन्त्रीजीले समयमा महाधिवेशन गर्न सकिन्छ भन्नुभएको छ । तर पूर्वपदाधिकारी कृष्णप्रसाद सिटौलासहितका नेताले कुन आधारमा महाधिवेशन हुँदैन भन्नुभएको हो ?’ उनले प्रश्न गरे, ‘महाधिवेशनबाट नेतृत्व परिवर्तन नगरे कुन अनुहार र एजेन्डा लिएर हामी चुनावमा जाने ? एजेन्डा र नेतृत्व चाहिँदैन ? यत्रो उथलपुथललाई कमजोर आँक्ने र बिर्सने कुराले कांग्रेसलाई राम्रो गर्दैन । यसैले महामन्त्रीका स्पिरिटमा अघि बढौं ।’

संस्थापन निकटका सदस्य मदनबहादुर अमात्यले पनि समयमा महाधिवेशन गर्न केले रोकेको छ भन्दै प्रश्न उठाए ।

‘हामी दास होइनौं । म परिवर्तनको पक्षमा छु । ध्यान नदिए पार्टीमा एकदमै ठूलो समस्या आउँछ । त्यसैले समयमा महाधिवेशन गरौं । खाली कार्यकर्ताले के भन्छन् मात्रै भनेर अब हुँदैन । जनताले हामीलाई कसरी हेरेका छन् त्यो पनि सोच्नुपर्छ,’ उनले भने, ‘महाधिवेशनमा जाँदा केपी ओली र प्रचण्ड आउने हो र ? कांग्रेस नै आउने होइन ? यसैले किन खुट्टा कमाएको ? कांग्रेस हिजो पनि एकढिक्का थिएन । भोलि पनि हुने यस्तै हो । प्रतिस्पर्धा भएकै आधारमा कांग्रेस एकढिक्का हुँदैन भनेर समयमा महाधिवेशन नगर्ने कुरा मान्य छैन ।’

चुनावमा टिकट बेचेर पैसा कुम्ल्याउने सोच अब त्याग्न पनि उनले सचेत गराए ।

‘मेयरको टिकट बाँड्दा ४ करोडका टेन्डर खुलाउनुभएको थियो । गाउँपालिकातिर त्यस्तैगरी लाखौं उठाइएको थियो । फेरि पनि टिकट बाँडेर पैसा उठाउन खोजिएको हो ?’ उनले थपे, ‘यसैले यस्ता प्रवृत्ति रोक्नतिर लागौं ।’

आङगेलु शेर्पाले सत्तामा बस्दा कांग्रेसले गरेको कमजोरीले पनि जेनजी आन्दोलन भएको मत राखे । ‘हामी पनि सत्तामा थियौं । सामाजिक सञ्जाल बन्द गर्दा किन सत्ता नछोडेको ? किन साक्षी बसेको ?’ उनले भने, ‘खाली चुनावको मात्रै कुरा गरेर हुन्छ ? हामीले लिएका नीतिले पुर्‍याएको हानीको समीक्षा गर्नु पर्दैन ?’

नेताको इसारामा चल्ने कठपुतली शैली अब नचल्ने उनको भनाइ थियो । चुनावमा लिएर जाने एजेन्डा नभएको भन्दै उनले अधिवेशनबारे प्रस्ट निर्णय लिन ढिलाइ गर्न नहुने बताए ।

‘हामी के नीति र नेतृत्व लिएर चुनावमा जाने ? चुनावमा त वातावरण बनेपछि जाने हो । अधिवेशन गरेर मुद्दा टुंगो लगाएर मात्रै दृष्टिकोणसहित जानुपर्छ,’ उनले भने, भने, ‘यत्तिकै चुनावमा जाँदा भोट दिने होइन जनता लौरो लिएर आउँछन् ।’

केन्द्रीय सदस्य जीवनबहादुर शाहीले पनि महाधिवेशनको विषयमा अनावश्यक बखेडा झिक्ने काम भएको बताए । ४८ घण्टामा देश तहसनहस भएको भन्दै पार्टीले चाहे नियमित महाधिवेशन जतिखेर पनि गर्न सक्ने उनले बताए । 

‘एक ठाउँमा उभिउँ नियमित अधिवेशन गरौं । ४८ घण्टामा देश तहसनहस भयो । संसारमा नभएको भयो भनेर हामी नै भन्दैछौं । कांग्रेसले गर्न सक्दैन भन्ने नै होइन । कुनै नेताको  अनुहार मन पर्दैन भनेर सोच्नु राम्रो हुँदैन ।  तर पनि आज होटल होटलमा बैठक बसेका छन् । यहाँ बस्ने बाठाटाठा साथीले महाधिवेशनको कार्यतालिका भनेर प्रस्ताव गर्नुभयो । महामन्त्री पनि प्रस्ताव आयो । सहमतिमा नआएपछि यो विचार मात्रै होइन,’ उनले भने, ‘एउटा प्रस्ताव आउनुपर्थ्यो । केन्द्रीय समितिमा छलफल हुनुपर्थ्यो । हामी भोटिङबाट टुंगोमा पुर्‍याउँथ्यौं । तर एकले अर्कोलाई धाक र धम्की दिने कुरा गरेका छौं । यसले हामीलाई कुन ठाउँमा पुर्‍याउँछ ?’

जतिसुकै हस्ती र जिम्मेवार नेता भने पनि जनताले हराइदिने चेतावनी उनले दिए ।

‘हामी सबै अतिवादी भएका छौं । हस्तीलाई नै जनताले हराइदिन्छन् । गाडीमा चढ्दा कांग्रेसका जोसुकै भए पनि चोर फटाहा भन्ने छ । बाहिर राम्रो स्थिति छैन । राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा राम्रो छैन । कमजोर भएका छौं,’ शाहीले भने, ‘बैठक भइरहेको छ । तर समाधानका लागि होइन । टार्नका लागि बोलेर हुँदैन जस्तो भएको छ ।’ कार्यवाहक सभापतिलाई कार्य बाहेक बनाउन खोजेको पनि उनले बताए ।

केन्द्रीय सदस्य उदयशमशेर राणाले तत्काल महाधिवेशनको मिति घोषणा गरेर बीचमा निर्वाचनसहितका कार्यक्रम परे सार्नुपर्ने बताएका हुन् ।

‘पार्टी सभापतिले यही हलमा बोल्दा समयमा अधिवेशन गर्नुपर्छ भन्ने आशय व्यक्त गर्नुभएको हो । त्यसैले समयमै अधिवेशन गर्न प्रयास गरौं । तालिकामा गर्न नसक्दा सार्न पनि सक्छौं । राष्ट्रिय राजनीतिले गर्दा सबै कुरा हाम्रो हातमा पनि छैन,’ राणाले भने, ‘चुनावलाई ध्यान दिनुपर्छ । तर पार्टीगत कुरामा बहुमत र अल्पमतको विषयलाई धेरै उराल्न हुँदैन ।’

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई पन्छाउन नमिल्ने उनको भनाइ थियो । यद्यपि विशेष महाधिवेशनले पार्टी फुट्ने उनले बताए । संस्थापन निकटका केन्द्रीय सदस्य शंकर भण्डारीले राजसंस्था फर्काउने गरी कांग्रेस अघि बढ्नुपर्ने बताए । नेता प्रकाशमान सिंहले अहिलेको आवश्यकता चुनाव भएकोमा जोड दिए । चुनावपछि मात्रै महाधिवेशन गर्दा उपयुक्त हुने उनको भनाइ थियो ।

शेखरले २०८२ मंसिरमा महाधिवेशन गर्नुपर्छ भन्ने मत राख्दा सभापतिसँगै नोकझोँक भएको उनले बताए । शेखर एक्लो वृहस्पति बन्दा अरु नेताले साथ नदिएको पनि उनले स्मरण गरे । महाधिवेशन गरेर मात्रै मात्रै निर्वाचनमा जानुपर्ने महामन्त्रीको प्रस्तावमा सबैको समर्थन हुनुपर्ने उनको भनाइ थियो ।

यीबाहेक बुधबारको बैठकमा पद्मनारायण चौधरी, सुरेन्द्रराज पाण्डे, कृष्णकिशोर घिमिरे, चन्द्रबहादुर केसी, अञ्जनी श्रेष्ठ, चम्पादेवी खड्का, जावेदा खातुन जागा, माया राई, सुशीला ढकाल (आचार्य), गंगा शाही र सीतादेवी देवकोटाले धारणा राखेका बैठक भोलि पनि बस्नेछ ।

बहुमत पदाधिकारी चुनावअघि महाधिवेशनको पक्षमा

नेपाली कांग्रेसमा बहुमत पदाधिकारी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका छन् ।

कांग्रेसका एक सभापति, दुई/दुई उपसभापति र महामन्त्री, ८ सहमहामन्त्री र एक कोषाध्यक्ष गरी १४ पदाधिकारी छन् । तर जेनजी आन्दोलनपछि सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएर उपचारका लागि सिंगापुर गएका छन् । 

यस्तोमा अहिले १३ पदाधिकारी मात्रै केन्द्रीय समितिको बैठकमा छलफलमा सहभागी छन् ।  यी १३ पदाधिकारीमध्ये निर्वाचनअघि नै १५ औं महाधिवेशन गर्नुपर्ने पक्षमा एक उपसभापति, दुई महामन्त्री र ४ सहमहामन्त्री गरी ७ जना पदाधिकारी उभिएका हुन् ।जसमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू जीवन परियार, बद्री पाण्डे, फरमुल्लाह मन्सुर र भीष्मराज आङदेम्बे फागुन २१ गतेको निर्वाचनअघि नै १५ औं महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका हुन् ।

महामन्त्री गगन थापाले मंगलबार आगामी पुस १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गरेका थिए ।

अर्कोतिर कार्यवाहक सभापति पूर्णबहादुर खड्का, सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय ‘डिना’, महेन्द्र यादव, किशोरसिंह राठौर, उमाकान्त चौधरी र कोषाध्यक्ष उमेश श्रेष्ठ गरी ६ जना छन् । जुन पदाधिकारीको अल्पमत हो ।

मंगलबार नै सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ लेखि ३० गतेसम्म गर्ने गरी १५ औं महाधिवेशनको कार्यतालिका प्रस्ताव गरेका थिए । तर उनको प्रस्तावलाई आधिकारिक मानिएको छैन । कार्यवाहक सभापति खड्काले यादवको प्रस्तावलाई व्यक्तिगत भएको प्रस्ट्याएका छन् । बुधबारको बैठकमा पनि सहमति नगरी दुई वटा प्रस्ताव आएको भन्दै आलोचना भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्