
भारतको दिल्लीस्थित लाल किल्ला नजिकै एउटा कारमा भएको शक्तिशाली विस्फोटमा कम्तीमा ८ जनाको मृत्यु भएको र २४ जना घाइते भएका छन्।
भारतीय मिडिया दैनिक भास्करका अनुसार सोमबार साँझ करिब ६:५५ बजे फोर्ट मेट्रो स्टेशनको गेट नम्बर–१ नजिक पार्किङमा राखिएको ‘इको’ कारमा विस्फोट भएको हो। विस्फोटपछि आगो तीव्र गतिमा फैलिँदा वरपर पार्क गरिएका थप तीन गाडी समेत जलेका छन्।
विस्फोटको कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन। घटनापछि दिल्ली, मुम्बई, हरियाणा र उत्तर प्रदेशमा उच्च सतर्कता (हाई अलर्ट) जारी गरिएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले घटनापछि गृहमन्त्री अमित शाहसँग टेलिफोनमा सम्पर्क गरी अवस्थाबारे जानकारी लिएका छन्।
घटनास्थलमा प्रहरीले सुरक्षा घेरा कायम गरेको छ। फरेन्सिक टोली पुगेको छ भने आसपासका सिसीटिभी फुटेज जाँच भइरहेको बताइएको छ। साथै, राष्ट्रिय अनुसन्धान एजेन्सी र राष्ट्रिय सुरक्षा गार्डका टोलीहरू पनि घटनास्थलतर्फ पठाइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।