११ साउन २०८३, सोमबार

महिला दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट : नेपालको विजयी शुरूआत​

मनकेशरीको उत्कृष्ट अर्धशतकसँगै श्रीलंकालाई ९ विकेटले हरायो
कात्तिक २६, २०८२
काठमाडौं
महिला दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट : नेपालको विजयी शुरूआत​

महिला दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले विजयी शुरूआत गरेको छ । नेपालले बुधबार आफ्नो पहिलो खेलमा श्रीलंकालाई नौ विकेटले हराएको हो ।

भारतको नयाँ दिल्लीमा भएको खेलमा पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ८७ रन बनाएको थियो । श्रीलंकाली टोलीले अतिरिक्त रूपमा ४१ रन पाएको थियो ।

जवाफी ब्याटिङ गरेको नेपालले ५.२ ओभरमै केवल एक विकेट गुमाएर विजयलक्ष्य पूरा गर्‍यो ।

नेपालका लागि विनिता पुनले १३ रन बनाइन् । पहिलो विकेटका रूपमा उनी आउट हुँदा नेपालले दुई ओभरमा ३२ रन बनाएको थियो ।

नेपाली टोलीको जीतमा मनकेशरी चौधरीको योगदान महत्त्वपूर्ण रह्यो । ओपनर ब्याटर मनकेशरीले अविजित ६० रनको योगदान गरिन् । उनले केवल १७ बलमा आफ्नो अर्धशतक पूरा गरेकी थिइन् ।

महिला दृष्टिविहीन टी–२० विश्वकपको यो पहिलो संस्करण हो । यो प्रतियोगिता पहिले भारत र नेपालमा आयोजना हुने तय भएको थियो ।

तर, जेन–जी प्रदर्शनपछि विकसित घटनाक्रम र त्यसबाट सृजित असहज परिस्थितिका कारण नेपालमा खेलाइने खेलहरू श्रीलंकामा सारिएको हो ।

प्रतियोगिता मंसिर ७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालसहित भारत, अस्ट्रेलिया, अमेरिका, पाकिस्तान, श्रीलंका र इङ्ल्यान्डको सहभागिता रहेको छ ।

प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेल कार्तिक २८ गते आयोजक भारतसँग बेंगलुरुमा खेल्नेछ । नेपाली टोलीले कार्तिक २९ गते इङ्ल्याण्डसँग बेंगलुरुमै आफ्नो तेस्रो खेल खेल्नेछ ।

नेपालले आफ्नो चौथो खेल यही कात्तिक ३० गते अमेरिकासँग बेंगलुरुमा खेल्नेछ । चारवटा खेल भारतमा खेलेपछि नेपाली टोली बाँकी खेल खेल्न श्रीलंका प्रस्थान गर्नेछ ।

नेपाली टोलीले आफ्नो पाँचौँ खेल मंसिर २ गते कोलम्बोमा अस्ट्रेलियासँग खेल्नेछ । आफ्नो छैटौं खेल नेपालले मंसिर ३ गते कोलम्बोमै पाकिस्तानसँग खेल्नेछ ।

प्रारम्भिक चरणको खेलपछि अंक तालिकाको माथिल्लो चार स्थानमा रहने टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । दुबै सेमिफाइनल र फाइनल खेल पनि कोलम्बोमै खेलाइने छ ।

नेपाली टोलीमा गीता पौडेल (कप्तान), विनिता पुन, विनिता सोमाई, दिल्लीसरा धमला, मनकेशरी चौधरी, कान्ति डगौरा, देवकी थापामगर, अंगिला ढकाल, सरिता घिमिरे, सुनिता भुजेल, सुष्मा तामाङ, पुनम चौधरी, लक्ष्मी तामाङ, एसेरा माया लुङ्गेली मगर, विमला राई र प्रतिभा राई छन् ।

नेपाली टोलीको प्रमुख प्रशिक्षकमा पुरनसिंह खत्री र सहायक प्रशिक्षकमा नहेन्द्र निरौला रहेका छन् । नेपाली टोलीको व्यवस्थापकमा भने भगवती भट्टराई बराल रहेकी छन् । उक्त विश्वकपका लागि नेपाली टोलीले काठमाडौँ र पोखरामा प्रशिक्षण गरेको थियो ।

उक्त विश्वकपमा नेपाली अम्पायरले निर्णयको भूमिका पनि निर्वाह गर्ने अवसर पाएका छन् । नेपाली राष्ट्रिय क्रिकेट अम्पायर रविन्द्र गुप्ताले यो ऐतिहासिक जिम्मेवारी पाएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्