
नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले संगठनलाई कुशल नेतृत्व दिँदै प्रहरीको मनोबल बढाउन लाग्ने बताएका छन् ।
विषम परिस्थितिमा पनि प्रहरीले देखाएको सेवा भावको उनले स्मरण गरे ।
बिहीबार गृहमन्त्रालयमा प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाएपछि कार्कीले प्रहरीको मनोबल बढाउँदै जनअपेक्षा अनुसारको काम गर्ने बताएका हुन् ।
‘असाधारण परिस्थितिमा प्राप्त जिम्मेवारीलाई प्रभावकारी समन्वय र सहकार्य गर्दै संगठनमा सुदृढ नेतृत्व र सामुहिकतालाई जोड दिनेछु,’ उनले भने, ‘प्रहरी कर्मचारीको मनोबल बढाउँदै सरकार र आम जनअपेक्षा अनुसार कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
सुशासन कायम गर्ने र निकट भविष्यमा निर्वाचन सम्पन्न गराउने नेपाल सरकारको अभिभारा पूरा गर्न प्रहरीले मद्दत गर्ने उनले बताए ।
‘जेनजी आन्दोलनपछिको प्रतिकूल परिस्थितिमा कुनै सुरक्षा रिक्तता हुन नदिई, छोटो समयमा प्रहरी संरचना र सेवा पुन:स्थापित गर्ने सन्दर्भमा भएको उत्साहजनक प्रहरीको उत्कृष्ट सेवा भाव, कर्तव्यप्रतिको प्रतिबद्धता र सहनशीलता पुनर्पुष्टि भएको छ,’ उनले भने ।
कार्कीलाई गृहसचिव रामेश्वर दंगालले दर्ज्यानी चिह्न लगाइदिएका हुन् । सरकारले सोमबार कार्कीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो ।