
नेपाली कांग्रेसलाई एक महिना लामो केन्द्रीय समिति बैठकबाट पनि महाधिवेशनबारे निर्णय लिन सकस परेको छ ।
१५ औं महाधिवेशन, फागुन २१ गतेको चुनाव, जेनजी आन्दोलनलाई हेर्ने दृष्टिकोणसहितका निर्णय गर्न नसकेको कांग्रेसमा अनेक उकुसमुकुस देखिएको हो ।
असोज २८ गते पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति थमाएर सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर गएका थिए ।
कात्तिक १० गते देउवा सिंगापुर गएपछि कांग्रेस नियमित बैठकमा जुटेको थियो । १३ कात्तिकयता नियमित बैठक गरे पनि निर्णयमा पुग्न कांग्रेसमा अनेक सकस देखिए ।
संस्थापन इतर खेमाका नेताले चुनावअघि नै महाधिवेशन गर्नुपर्ने अडान लिए । तर, संस्थापन पक्षले चुनाव अघि कुनै पनि हालतमा महाधिवेशन गर्न नसकिने मत राखेपछि कांग्रेस निर्णयमा पुग्न सकेको छैन । यसैले सिंगापुरमा रहेका सभापति देउवालाई झिकाएर मात्रै निर्णयमा पुग्ने तयारीमा कांग्रेस जुटेको हो ।
महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, डा. शेखर कोइराला पक्षले मंसिरभित्रै नभए पुस मसान्तसम्म महाधिवेशन गर्न दबाब बढाइरहेका छन् । तर, यही दबाबपछि बढेको कचिंगलका बीच कार्यवाहक सभापति खड्काले निर्णय गराउन नसकेका हुन् । निर्णयमा पुग्न कठिनाइ परेपछि खड्काले बैठक लम्ब्याउँदै देउवालाई कुर्ने रणनीति बनाएको एक नेताले जानकारी दिए ।
‘दुवै पक्षले अडान नछाडेपछि नियमित बैठकबाट निर्णय लिन सक्ने स्थिति नै बनेन । यसैले अनौपचारिक छलफल गर्दै सभापतिलाई कुर्नेसम्मको स्थितिमा कांग्रेस पुग्यो,’ ती नेताले लोकान्तरसँग भने, ‘अब शुक्रबार राति सभापति फर्किनुभयो भने शनिबार वा आइतबार कांग्रेसले महाधिवेशनबारे निर्णय लिन सक्छ ।’
मुख्य चारवटा कारणले कांग्रेस एक महिनादेखि महत्त्वपूर्ण विषयमा निर्णय लिन असमर्थ भएको हो । संस्थापनको लाइनविपरीत महामन्त्रीद्वय र शेखर पक्ष एक ठाउँमा उभिनु, विशेष महाधिवेशनका लागि ५४ प्रतिशतको हस्ताक्षर जुट्नु, संस्थापन निकटका ७ भाइले सभापतिमाथि दबाब बढाउनु र संस्थापनकै २४ केन्द्रीय सदस्य निर्वाचनअघि महाधिवेशनको पक्षमा देखिनुले कांग्रेसलाई निर्णय लिन सकस परेको हो ।
महामन्त्रीद्वय र शेखर पक्षको दबाब
१४ औं महाधिवेशनमा एउटै टीमबाट जितेका गगन थापा र शेखर कोइराला महाधिवेशनबारे एकै लाइनमा छन् ।
मंसिरमा नभए पुसमा महाधिवेशन गर्नुपर्ने मतमा दुवै देखिन्छन् । यसमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि मिसिएपछि संस्थापनले बहुमतले पेल्न कठिनाइ भएको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि संस्थापन इतर खेमा नयाँ नेतृत्व लिएर मात्रै फागुन २१ गतेको निर्वाचनमा जानुपर्ने पक्षमा छ । पुरानो नेतृत्व लिएर गए चुनावमा कांग्रेसले शर्मनाक पराजय बेहोर्ने तर्क उनीहरूले गरिरहेका छन् ।

महामन्त्रीद्वयदेखि शेखरसम्मले मंसिर र पुसमा महाधिवेशन गर्न मिति तोकेरै माग गरे । गगनले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्न सकिने कार्यतालिका नै प्रस्तुत गरे । तर, केन्द्रीय समितिमा बहुमतमा रहेको दाबी गर्दै संस्थापन पक्षका सह–महामन्त्री महेन्द्र यादवले पनि वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गरे । यी दुई प्रस्तावमाथि छलफलमा उठेका तर्क र वितर्कले कांग्रेसमा अन्योल थपियो ।
विशेष महाधिवेशनका लागि ५४ प्रतिशत हस्ताक्षर
नियमित महाधिवेशन चुनावअघि नै गर्नुपर्ने पक्षमा उभिएका पक्षधरले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर जुटाउँदै अर्को विकल्प दिए । नियमित महाधिवेशन नभए ५४ प्रतिशतको हस्ताक्षरबमोजिम विशेष महाधिवेशनको विकल्प अगाडि सारे ।
विधानको धारा १७(२) अनुसार विशेष महाधिवेशन डाक्नबाट पछि हट्नै नमिल्ने स्थिति छ । महामन्त्री थापाले समेत बिहीबार नियमितमा सहमति नजुट्ने हो भने मंसिर २७ देखि २९ गतेसम्म विशेष महाधिवेशनमा जानुपर्ने प्रस्ताव अगाडि सारे ।
‘डेढ महिना भयो छलफल भएको छ, सकिन्छ, सम्भव छ भने अधिवेशन गरौं । सक्दै सकिँदैन, निर्वाचन भाँडिन्छ, सभापति र सबै नेताको यो निष्कर्ष हो भने ठीक हो भन्नुपर्यो, नियमित अधिवेशनको च्याप्टर क्लोज गरौं,’ थापाले भने, ‘मंसिरको २७, २८ गते विशेष अधिवेशन गरौं, यो गर्न पाइँदैन भन्न मिल्दैन ।’
सात भाइको अडान
नियमित महाधिवेशन चुनावअगाडि गर्न सकिँदैन भन्ने संस्थापनको स्वार्थ चुनावी टिकटमा देखिएको छ । किनकि, कांग्रेसमा टिकट बाँडेर बलियो बन्ने र महाधिवेशन जित्ने पुरानै रोग हो । यसैले संस्थापन पक्षका नेता र पूर्व पदाधिकारी चुनावअगाडि महाधिवेशन गर्ने पक्षमा छैनन् । महामन्त्रीद्वयको पक्षमा माहोल देखिएको भन्दै महाधिवेशनमा आफूहरू पराजित हुने डरमा उनीहरू छन् । यसैले निर्वाचनमा संस्थापनले टिकट बाँडे महाधिवेशनमा आफूहरूलाई सहज हुने विश्वासमा उनीहरू छन् ।
विमलेन्द्र निधि, प्रकाशमान सिंह, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, डा. शशांक कोइराला र डा. प्रकाशशरण महतमध्ये गच्छदार सकिन्छ भने चुनावअघि नै महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका छन् ।
अरू नेताले संस्थापनमाथि कुनै पनि हालतमा चुनावअघि गरिने महाधिवेशन नस्वीकार्न दबाब बढाएका छन् । मंसिरमा महाधिवेशन गर्न तयार रहेका देउवामाथि उनीहरूले दबाब बढाएको नेताहरू बताउँछन् ।
यी सात भाइकै जोडबलमा देउवा फर्किन लागेको समेत नेताहरू बताउँछन् । महामन्त्रीहरूले भनेजस्तो गरी तत्काल नियमित महाधिवेशनमा गए पुराना लगभग सबै नेताको राजनीतिक करियर नै सकिने त्रासमा उनीहरू छन् ।
यसैले नियमितमा जानुको सट्टा बरु विशेष महाधिवेशन फेस गर्न सकिने गरी समेत संस्थापनका नेताहरू लचक बन्न सक्ने एक नेताले जानकारी दिए ।
‘नियमितमा धेरै नयाँ प्रतिनिधि आउँछन् । तर, विशेषमा १४औं का प्रतिनिधिले नेतृत्व चयन गर्दा आफूहरूका लागि सहज हुने बुझाइ समेत सात भाइका नेतामा देखिएको छ,’ एक नेताले भने, ‘बिहीबार सहमहामन्त्री किशोरसिंह राठोरले हार्ने पक्षले मागेको विशेष महाधिवेशन फेस गरौं भनेपछि केही नेताले आँटौं न त भन्न थाल्नुभएको छ ।’
महामन्त्री थापाले प्रस्टै भाषामा विशेष महाधिवेशनमा आफ्नो मात्रै अनुहार नहेर्न, बरु फेस गर्न आग्रह गरेका थिए ।
‘विशेष महाधिवेशनको कुरा आउनेबित्तिकै साथीहरू मतिर किन हेर्नुहुन्छ ?’ थापाले बिहीबार बैठकमै प्रश्न गरे, ‘जेनजीले सुशीला कार्की मानेका छन् । हामीले पनि मान्ने कुरा होला नि त । महामन्त्री छौं । सभापति, उपसभापति छौं । भिडेका छौं, फेरि भिडौंला नि, किन आत्तिएको हो ?’
थापाले नेतृत्वमा दाबी नगर्ने आशय व्यक्त गरेपछि केही नेताले विशेष महाधिवेशन नै फेस गर्ने बाटो खुला राख्ने मनस्थिति बनाएका छन् ।

संस्थापनका २४ नेताको अडान
इतरमात्रै होइन, संस्थापन भित्रैका नेता समेत निर्वाचनअघि महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका छन् । संस्थापन निकटबाटै महाधिवेशन जितेका २४ जना केन्द्रीय सदस्यले फागुन २१ गतेको निर्वाचनलाई परिणाममुखी बनाउन पनि मंसिरभित्रै १५ औं महाधिवेशनको कार्यक्रम शुरू गर्नुपर्ने गरी पार्टीलाई हस्ताक्षर बुझाएका छन् ।
केन्द्रीय समितिमा यस्तै मत राखेका उनीहरूले केही दिनअघि होटलमा भेला गरेका थिए । यो भेलापछि उनीहरूले शुक्रबार केन्द्रीय कार्यालयमा २४ जनाको हस्ताक्षर नै बुझाएर चुनावअघि महाधिवेशनको माग गरे ।
यस्तो माग गर्नेमा संस्थापन निकटका प्रभावशाली नेताहरू छन्, जसमा राजेन्द्रकुमार केसी, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, कर्णबहादुर बुढा, गणेश लामा, आङ्गेलु शेर्पा, डा. डिला संग्रौला र उदयशमशेर राणा रहेका छन् ।
त्यस्तै, नानु बास्तोला, धना खतिवडा, अब्दुल रज्जाक, देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, गोपाल दहित, बहादुरसिंह लामा, दिलमान पाख्रिन, अब्दुल सतार, मोहन आचार्य, अमृत अर्याल, जिपछिरिङ लामा, रामजनम चौधरी, चम्पादेवी खड्का र नारायणबहादुर कार्की पनि रहेका छन् । यी सबै नेता संस्थापन निकटका प्रभावशालीमध्ये पर्छन् ।
संस्थापनकै जिम्मेवार केन्द्रीय सदस्यले पनि निर्वाचनअघि महाधिवेशन माग गरेपछि कांग्रेसलाई महाधिवेशनबाट भाग्न सहज देखिएको छैन ।
संस्थापन र इतर पक्षका तीन दर्जन जति निवर्तमान सांसदले प्रतिनिधिसभा पुन:स्थापनाको पक्षमा निर्णय गर्न पार्टीसामु दबाब बढाएका छन् ।
हस्ताक्षर नै गरेर निर्वाचन नभई पुन:स्थापनाको पक्षमा उभिनुपर्ने मत उनीहरूले अगाडि सारेका छन् । यसले पनि पार्टीलाई प्रतिनिधिसभा विघटनबारे निर्णय लिन कठिनाइ भएको छ ।
अर्कोतिर, संस्थापनका र इतरका युवा, महिलासहितका नेताहरूले दिनहुँ भेला गर्दै महाधिवेशनका लागि दबाब सिर्जना गरेका छन् । बिहीबार महिला र शुक्रबार युवाहरूले काठमाडौंमा यस्ता भेला गरेका थिए ।
यसैले देउवासँग परामर्श गर्नुअघि खड्काले शुक्रबार दिउँसो पार्टीको कार्यसम्पादन समितिको बैठक बोलाएर छलफल गरे । औपचारिक निर्णय लिने बैठक भने शनिबार दिउँसोलाई डाकिएको छ ।