
आन्तरिक अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहे पनि नेपालमा विदेशी मुद्रा सञ्चिति ऐतिहासिक स्तरमा पुगेको छ ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार कुल विदेशी विनिमय सञ्चिति २९ खर्ब ७९ अर्ब ८१ करोड रुपैयाँमा पुगेको हो ।
अमेरिकी डलरमा यो सञ्चिति २१ अर्ब २१ करोड बराबर हुन्छ । यस्तो सञ्चिति १६.४ महिनासम्मको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।
रेमिट्यान्स आप्रवाह पनि उल्लेख्य रूपमा वृद्धि भएको छ ।
चालु आर्थिक वर्षको असोज महिनासम्म २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । यो गत वर्षको यही अवधिको तुलनामा नेपाली रुपैयाँमा ३५.४ प्रतिशत र अमेरिकी डलरमा २९.२ प्रतिशत वृद्धि हो ।
विदेशमा रहेका श्रमिकले पठाएको रकम अर्थतन्त्रको मुख्य आधार बनेको देखिन्छ ।
उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति वार्षिक विन्दुगत आधारमा १.४७ प्रतिशतमा झरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको अन्य आर्थिक सूचकहरू यसप्रकार छन्:
• चालु खाता २३७ अर्ब ५९ करोड बचतमा छ भने शोधनान्तर २६४ अर्ब ३ करोड बचतमा रहेको छ ।
• निर्यात ८९.६ प्रतिशतले र आयात १९.८ प्रतिशतले बढेको छ ।
• विस्तृत मुद्राप्रदाय ३.२ प्रतिशतले विस्तार भएको छ ।
• बैंक तथा वित्तीय संस्थासँग रहेको निक्षेप ३ प्रतिशतले बढेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा १.५ प्रतिशतले मात्र बढेको छ ।
• अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २.५८ प्रतिशत र ९१ दिन अवधि भएको ट्रेजरी बिलको ब्याजदर १.९१ प्रतिशत रहेको छ ।
• वाणिज्य बैंकहरूले निक्षेपमा सरदर ३.८५ प्रतिशत र कर्जामा ७.५० प्रतिशत ब्याजदर लिइरहेका छन् ।
यस्तै, नेपाल सरकारको खर्च ३६४ अर्ब ५९ करोड पुगेको छ भने राजस्व संकलन २४९ अर्ब ५ करोडमा सीमित छ । खर्च र आयबीचको यो अन्तर अर्थतन्त्रमा थप दबाब सिर्जना हुने संकेत समेत मानिएको छ ।