
उमागौरी सहकारी ठगी प्रकरणमा मुछिएकी सार्वजनिक लेखा समितिका पूर्वसभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइरालाले १ करोड रुपैयाँ बराबरको बैंक ग्यारेन्टी बुझाएकी छिन् ।
१० लाख रुपैयाँ धरौटीमा छाड्ने मोरङ जिल्ला अदालतको आदेशलाई उल्ट्याउँदै उच्च अदालत विराटनगरले उनीसँग १ करोड रुपैयाँ धरौटी माग गरेको थियो ।
उच्च अदालतका न्यायाधीश विष्णुप्रसाद अर्यालको एकल इजलासले गत भदौ ५ गते कोइरालासहित चार जनालाई जनही १ करोड रुपैयाँ धरौटी माग गरेको थियो ।
आदेशको १८ दिनपछि भदौ २३ गते जेनजी आन्दोलन चलिरहेका बेला कोइरालाले प्रभु बैंकमार्फत जारी गरिएको बैंक ग्यारेन्टी मोरङ जिल्ला अदालतमा पेस गरेकी थिइन् ।
उच्च अदालतले कोइरालासँगै सन्तलाल खवास, ज्योति बास्कोटा र पुर्पक्षका लागि थुनामा रहेका रोशन राजवंशीसँग पनि १/१ करोड धरौटी माग गरेको थियो ।
तर, कोइरालाबाहेक अन्य प्रतिवादीले तोकिएको धरौटी रकम अझै नबुझाएका मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
उनीहरूको तारेख मंसिर १७ गतेलाई तोकिएको छ । ‘तारेख बुझ्न आउँदा हामी अदालतले आदेश गरेको रकम माग गर्नेछौं,’ बुढाथोकीले भने, ‘त्यसबेला बुझाउन नसके प्रतिवादीहरूलाई कारागार चलान गरिनेछ ।’
यसअघि मोरङ जिल्ला अदालतले गत पुस २४ गते कोइरालालाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
उक्त आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेको थियो ।
उच्च अदालतमा न्यायाधीशद्वय श्रीधराकुमारी पुडासैनी र केशवप्रसाद बास्तोलाको इजलासमा धरौटी रकमबारे राय बाझिएपछि मुद्दा तेस्रो न्यायाधीश अर्यालको इजलासमा पुगेको थियो ।
न्यायाधीश अर्यालको इजलासले जिल्लाको आदेशलाई उल्ट्याउँदै धरौटी रकम बढाउने निर्णय गरेको हो ।
उमागौरी सहकारीमा आबद्ध करिब ८ हजार ८ सय ४२ बचतकर्ताको निक्षेपबाट २४ करोडभन्दा बढी ऋण लगानी देखाई २२ करोड ४८ लाख रुपैयाँ हिनामिना भएको दाबी गरिएको छ ।
गत मंसिर २७ गते कोइरालासहित २६ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर भएको थियो ।
संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियार र धनपालथानका अध्यक्ष रोशन राजवंशी भने पुर्पक्षका लागि थुनामा छन् ।