१३ असार २०८३, शनिबार

एनपीएलमा १५ सय सुरक्षाकर्मी परिचालन

मंसिर २, २०८२
काठमाडौं
एनपीएलमा १५ सय सुरक्षाकर्मी परिचालन

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि एक हजार ५०० सुरक्षाकर्मी परिचालन गरिएको छ ।

एनपीएल सुरक्षाको नेतृत्व गरी रहेका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले नेपाल प्रहरीबाट एक हजार २२३ जना स्टेडियम परिसरमा खटिएको बताए ।

त्यसैगरी, ट्राफिक सशस्त्र र क्यान आफैंले व्यवस्था गरेका समेत गरी एक हजार ५०० भन्दा बढीको सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए ।

स्टेडियम परिसरमा नयाँ संरचनाहरू तयार भएको र नेपालीहरूमा बढ्दो क्रिकेट क्रेजलाई ध्यानमा राखेर सुरक्षा व्यवस्थापन गरिएको उनको भनाइ छ ।

'यसपटक एकैतर्फ तीनवटा सम्म ढोकाबाट दर्शक प्रवेश गराउने व्यवस्था भएकाले गत वर्षझैँ एकै ठाउँमा भीड जम्मा हुने अवस्था हुँदैन,' उनले भने ।

स्टेडियममा ४२ वटा सीसीटीभी क्यामेरामार्फत चौबीसै घण्टा निगरानी गरिएको छ । यस पटक ड्रोनबाट समेत सुरक्षा निगरानी गरिएको छ ।

खासगरी टिकट वा प्रवेश पास नभएका व्यक्तिहरू गेटअगाडि जम्मा नहुन् भन्नेतर्फ विशेष ध्यान पुर्‍याइएको छ । यसका लागि बाहिरी पर्खालमा समेत काँडेतार लगाइएको छ ।

एनपीएलमा प्रहरीका साथै अनुसन्धान, सुरक्षाजाँच यन्त्रहरू र कुकुरको समेत प्रयोग गरी प्रत्येक दिनका खेलअघि जाँच गर्ने गरिएको जानकारी पनि उपरीक्षक भट्टराईले दिए ।

स्टेडियमको मूलबाटो बाटै त्रिभुवन विश्वविद्यालयका विभिन्न विभाग जाने गाडीहरू हिँड्ने भएकाले ट्राफिक व्यवस्थापन केही चुनौती भएको जनाइएको छ ।

खेलाडीको निवास र स्टेडियमसम्म उनीहरूको आवतजावतलाई सुरक्षित बनाउन समेत प्रहरी परिचालन गरिएको उपरीक्षक भट्टराईले बताए ।

salt training

कमेन्ट गर्नुहोस्