२१ असार २०८३, आइतबार

मोटरसाइकल चोरीमा संलग्न ३ जना पक्राउ

मंसिर ३, २०८२
काठमाडौं
मोटरसाइकल चोरीमा संलग्न ३ जना पक्राउ

काठमाडौंको तारकेश्वर नगरपालिका ४ पुरानो गुह्येश्वरीबाट चोरीको मोटरसाइकलसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुरको ललितपुर महानगरपालिका १४ रानिबु घर भई मकवानपुरको मनहरी गाउँपालिका ७ बस्ने २० वर्षीय प्रशान्त खत्री छन् । उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

बागमती प्रदेश ०२-०४० प ०५१० नम्बरको मोटरसाइकलको नम्बर परिवर्तन गरी  बागमती प्रदेश ०२-०४२ प ६२६३ नम्बर राखेर चलाइरहेको अवस्थामा खत्रीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

उक्त मोटरसाइकल काठमाडौंको बसुन्धारा बस्ने बाराको महागढीमाई नगरपालिका ८ का मोहम्मद आमिर अंसारीले हराएको भनी खोजतलासका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

मोटरसाइकलसहित नियन्त्रणमा आएका खत्रीलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

यस्तै, काठमाडौंको कीर्तिपुर नगरपालिका १० बाट मोटरसाइकल चोरी गर्दागर्दै २ जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

बागमती प्रदेश ०२-०६२ प ०६३६ नम्बरको कालो रङको मोटरसाइकल पार्किङ स्थलबाट चोरी गर्दै गरेका मकवानपुरको मनहरी गाउँपालिका २ का २७ वर्षीय समीर रुम्बा र मकवानपुरकै हेटौंडा उप-महानगरपालिका २२ का २७ वर्षीय निमा रुम्बालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।  

मोटरसाइकलसहित पक्राउ परेका रुम्बाद्वयलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त कीर्तिपुर पठाइएको प्रवक्ता प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए ।

आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रहरी उपरीक्षक सुवेदीले अनुरोध गरेका छन् ।

हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आए पनि सवारी धनी स्वयम् सजग भई सुरक्षित स्थानमा पार्किङ गर्न उनले आग्रह गरे ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरणसहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन उनले सुझाव दिए ।

salt training

कमेन्ट गर्नुहोस्