०४ साउन २०८३, सोमबार

न्युजिल्यान्डले एक खेलअगावै जित्यो वेस्ट इन्डिजविरुद्धको एकदिवसीय शृंखला

मंसिर ३, २०८२
काठमाडौं
न्युजिल्यान्डले एक खेलअगावै जित्यो वेस्ट इन्डिजविरुद्धको एकदिवसीय शृंखला

दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि घरेलु टोली न्युजिल्यान्डले वेस्ट इन्डिजलाई पाँच विकेटले हराएको छ ।

जितसँगै न्युजिल्यान्डले अन्तिम भिडन्तअघि नै तीन खेलको शृंखलामाथि पनि कब्जा जमाएको छ । पहिलो खेलमा न्युजिल्यान्डले वेस्ट इन्डिजलाई सात रनले हराएको थियो ।

दोस्रो खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ३४ ओभरमा नौ विकेट गुमाएर दुई सय ४७ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको न्युजिल्यान्डले ३३.३ ओभरमा पाँच विकेट गुमाएर विजय लक्ष्य पूरा गर्‍यो । प्रतिकूल मौसमका कारण खेल ३४ ओभरमा झारिएको थियो ।

न्युजिल्यान्डको जितमा ओपनर ब्याट्सम्यान डेभोन कनवेले ९० रनको योगदान गरे । अर्का ओपनर रचिन रविन्द्रले पनि ५६ रन बनाए ।

विकेटकिपर ब्याट्सम्यान टम लाथम ३९ रनमा अविजित रहे । घरेलु टोलीको जितमा कप्तान मिचेल सान्टनर पनि अविजित ३४ रनको योगदान गरे ।

त्यसअघि, भ्रमणकारी टोली वेस्ट इन्डिजका लागि कप्तान साई होपले उत्कृष्ट शतकीय पारी खेलेका थिए । उनले अविजित एक सय नौ रन बनाए । उनले ६९ बलमा चार छक्का र १३ चौका हिर्काए ।

क्यारेबियन टोलीका कप्तान साई होपले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा महान खेलाडी ब्रायन लाराको एउटा कीर्तिमान पनि तोडे ।

उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तानको भूमिकामा वेस्ट इन्डिजका लागि सबैभन्दा बढी शतक प्रहार गर्ने खेलाडी बने ।

एकदिवसीय क्रिकेटमा कप्तानको भूमिकामा साई होपले प्रहार गरेको यो छैटौं शतक हो । लाराले भने कप्तानको भूमिकामा वेस्ट इन्डिजका लागि पाँचवटा शतक प्रहार गरेका थिए ।

३२ वर्षीय साई होपले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ६ हजार रनको कोशेढुङ्गा पनि पार गरे । उनले एक सय ४२ पाली खेल्दै ६ हजार रन पूरा गरेका हुन् ।

साई होपले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा प्रहार गरेको यो १९औं शतक हो । होपको नाममा अर्को एउटा कीर्तिमान पनि छ । शृंखलाको तेस्रो खेल शनिबार ह्यामिल्टनमा खेलिने छ ।

salt training

कमेन्ट गर्नुहोस्