
भारत र श्रीलंकामा संयुक्त रूपमा जारी नेत्रहीन महिला टी–२० विश्वकप क्रिकेटमा सेमिफाइनल समीकरण पूरा भएको छ । नेत्रहीन महिला टी–२० विश्वकपको यो पहिलो संस्करण हो ।
नेपालसँगै आयोजक भारत, पाकिस्तान र अस्ट्रेलिया प्रतियोगिताको सेमिफाइनलमा पुगेका हुन् । पहिलो सेमिफाइनल खेल भारत र अस्ट्रेलियाबीच शनिबार खेलिने छ । खेल विहान ९:१५ बजे शुरू हुनेछ ।
दोस्रो सेमिफाइनल खेल पनि शनिबार नै नेपाल र पाकिस्तानबीच खेलिने छ । उक्त खेल दिउँसो १३:१५ बजे शुरू हुनेछ । दुवै सेमिफाइनल खेल श्रीलंकाको कोलम्बोमा खेलाइने छ । लिग चरणमा भारतले पाँचवटै खेल जित्दै १० अंक बटुल्यो ।
नेपालले भने आफूले खेलेको पाँचमध्ये चार खेलमा जित हात पार्यो । नेपाली टोलीले अस्ट्रेलियालाई आठ विकेटले हराएको थियो । पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ३६ रन बनाएको थियो ।
जवाफी ब्याटिङ गरेको नेपालले १४.५ ओभरमा केवल दुई विकेट गुमाएर विजयलक्ष्य पूरा गर्यो । उक्त खेलमा नेपालका लागि विनिता सोमाईले ३७ बलमा अविजित ५६ रन बनाएकी थिइन् ।
यसैगरी, नेपाली टोलीले श्रीलंकालाई नौ विकेटले हराएको थियो । उक्त खेलमा पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा आठ विकेट गुमाएर ८७ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने ५.२ ओभरमै केवल एक विकेट गुमाएर विजयलक्ष्य पूरा गरेको थियो । उक्त खेलमा नेपालका लागि मनकेशरी चौधरीले ६० रनको योगदान गरिन् । उनले केवल १७ बलमा अर्धशतक पूरा गरेकी थिइन् ।
अर्को खेलमा भने नेपाली टोली आयोजक भारतसँग ८५ रनले पराजित भएको थियो । उक्त खेलमा भारतले पहिले ब्याटिङ गर्दै तीन विकेट गुमाएर दुई सय नौ रन बनाएको थियो । नेपालले भने निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय २४ रनमात्र बनाउन सक्यो ।
यसैगरी, नेपाली टोलीले पाकिस्तानलाई १० विकेटको फराकिलो अन्तरले हराएको थियो । उक्त खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तानी टोलीले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ७० रन बनाएको थियो ।
जवाफी ब्याटिङ गरेको नेपाली टोलीले भने १३ ओभरमै कुनै पनि विकेट नगुमाई एक सय ७३ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो । उक्त खेलमा नेपालका लागि विनिता पुनले ५४ बलमा अविजित एक सय सात रन र मनकेशरी चौधरीले ३१ बलमा अविजित ४३ रन बनाएका थिए ।
अर्को खेलमा नेपालले अमेरिकालाई १० विकेटको फराकिलो अन्तरले हराएको थियो । उक्त खेलमा नेपालीसामु अमेरिका निरीह बनेको थियो । नेपाली बलरले अमेरिकालाई ९.४ ओभरमै केवल १७ रनमा अलआउट गराएका थिए ।
जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने पहिलो ओभरको चौथो बलमै विजयलक्ष्य पूरा गरेको थियो । जारी विश्वकपमा नेपाल सबैभन्दा कम बल खेलेर विजयलक्ष्य पूरा गर्ने टोली पनि बनेको छ । उक्त खेलमा नेपालका लागि दिल्लीसरा धमलाले अलराउन्ड प्रदर्शन गरेकी थिइन् ।
नेपाली टोलीमा गीता पौडेल (कप्तान), विनिता पुन, विनिता सोमाई, दिल्लीसरा धमला, मनकेशरी चौधरी, कान्ति डगौरा, देवकी थापामगर, अंगिला ढकाल, सरिता घिमिरे, सुनिता भुजेल, सुष्मा तामाङ, पुनम चौधरी, लक्ष्मी तामाङ, एसेरा माया लुङ्गेली मगर, विमला राई र प्रतिभा राई छन् ।
नेपाली टोलीको प्रमुख प्रशिक्षकमा पुरनसिंह खत्री र सहायक प्रशिक्षकमा नहेन्द्र निरौला रहेका छन् । नेपाली टोलीको व्यवस्थापकमा भने भगवती भट्टराई बराल रहेकी छन् । उक्त विश्वकपका लागि नेपाली टोलीले काठमाडौँ र पोखरामा प्रशिक्षण गरेको थियो ।