
फिफा विश्वकपको २३औं संस्करण सन् २०२६ को जुन ११ देखि जुलाई १९ तारिखसम्म अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुँदैछ ।
यसपटक विश्वकपमा सहभागी हुने टोलीको संख्या बढाएर ४८ पुर्याइएको छ । त्यसमध्ये हालसम्म ४२ टोलीको टुङ्गो लागिसकेको छ । अब ६ टोलीको टुङ्गो लाग्न बाँकी छ ।
विश्वकपको मिति नजिकिँदै जाँदा एउटा रमाइलो घटना भएको छ । विश्व फूटबल महासंघ (फिफा)ले आगामी विश्वकपको लागि आधिकारिक पोस्टर सार्वजनिक गरेको थियो ।
तर, पोस्टर सार्वजनिक गरेको केही समयपछि नै फिफाले उक्त पोस्टर हटाएको छ । यसरी आफैले आधिकारिक रूपमा तयार पारेको पोस्टर हटाउनुको पछाडि मुख्य कारण हुन्, क्रिस्टियानो रोनाल्डो ।
फिफाले उक्त पोस्टर तयार पार्दा पोर्चुगल विश्वकपमा छनोट भइसकेको थिएन । त्यसैले उक्त पोस्टरमा समकालीन विश्व फूटबलका महान खेलाडीमध्येका एक रोनाल्डो त्यो पोस्टरमा थिएनन् ।
आगामी विश्वकपको आधिकारिक पोस्टरमा रोनाल्डोको तस्वीर नदेखेपछि विश्वभर रहेका उनका करोडौं समर्थक रुष्ट बनेका थिए ।
व्यापक रूपमा फिफाको विरोध शुरू भएपछि उक्त पोस्टर हटाइएको समाचारमा जनाइएको छ । उक्त पोस्टरमा हालसम्म विश्वकपमा छनोट भएका प्रत्येक टोलीका एक खेलाडीलाई समेटिएको थियो ।
अझ रमाइलो पक्ष के हो भने, उक्त पोस्टरमा पोर्चुगलका ब्रुनो फर्नान्डेजलाई पनि स्थान दिइएको थियो । त्यसैले पनि रोनाल्डोका समर्थकहरू बढी नै रुष्ट बनेका थिए ।
उक्त पोस्टरमा एर्लिङ हालान्ड, केलियन एमबाप्पे, मोहम्मद सलाह, साडियो माने, लियोनल मेसीलगायतका प्रभावशाली खेलाडीहरूलाई समेटिएको थियो ।
रोनाल्डोले यसअघि नै आगामी विश्वकप आफ्नो अन्तिम हुने बताइसकेका छन् । सामाजिक सञ्जालमा धेरै समर्थकले फिफाले जानेरै रोनाल्डोको तस्बिर पोस्टरमा नराखेको आरोप पनि लगाएका छन् ।
सामाजिक सञ्जालमा समर्थकहरूको आक्रोश पोखिएपछि फिफाले उक्त पोस्टरलाई हटाइएको छ । तर, यस विषयमा फिफाले आफ्नो आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन ।