
बाराको सिमरामा बुधबार भएको घटनाले चुनावी सुरक्षामा खतराको घण्टी बजाएको विश्लेषण भइरहेका बेला स्थिति सम्हालिने भन्दा थप बिग्रिनेतिर गइरहेको देखिएको छ ।
शुक्रबार काठमाडौंमा पनि त्यस्तै खाले ‘दुर्घटना’को खतरा उत्पन्न भएको थियो । तर, अप्रिय घटना हुन पाएन ।
नेसनल भोलेन्टियर फोर्सको केन्द्रीय कमान्ड घोषणाका लागि भनेर नेकपा एमालेले माइतीघरबाट बानेश्वरसम्म मार्चपास गर्ने कार्यक्रम राखेको थियो । तर, त्यही समयमा जेनजी घाइतेहरूको एक समूह माइतीघरमा धर्नामा बस्यो ।

दुई पक्ष आमनेसामने भएको भए अप्रिय स्थिति आउन सक्थ्यो । तर, पछि एमाले कार्यकर्ताहरूलाई बबरमहलमा भेला गरियो । मार्चपास सकेर कार्की ब्यांक्वेटमा घोषणा सभा भयो ।
एमाले अध्यक्ष केपी शर्मा ओली समेत सहभागी भएको सभाबाट पुष्पराज श्रेष्ठको संयोजकत्वमा भोलेन्टियर फोर्सको केन्द्रीय कमान्ड घोषणा गरिएको छ । एमालेले यो फोर्सलाई वडा तहसम्मै विस्तार गर्ने तयारी गरेको छ ।
पार्टी कार्यक्रममा अवरोध भए भिड्ने मुडमा एमालेले नयाँ फोर्स बनाएको बुझ्न गाह्रो छैन । फोर्सका संयोजक श्रेष्ठले पार्टीले दिएको जिम्मेवारी जुनसुकै हालतमा पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।
‘हामी जस्तो अवस्थामा पनि टाउकोमा रातो कफन बाँधेर सडकमा उत्रिन तयार छौं । लड्न/भिड्न तयार छौं,’ श्रेष्ठले भने ।
आफूहरूलाई अवरोध गरिए प्रतिकार गर्ने उनको चेतावनी छ ।
एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टी अध्यक्षले सिठी बजाउँदा २ लाख युवा तुरुन्तै भेला हुने दाबी गरे ।
‘अबको २ महिनामा एमालेको यति ठूलो तागत हुनेछ, केपी बाले सिठी बजाउँदा २ लाख युवा काठमाडौं आउने छन् । प्रदेश इन्चार्जले सिठी बजाउँदा बागमतीमा १ लाख युवा आउने छन्,’ बस्नेतले भने ।
बुधबार एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत बाराको सिमरा जाने कार्यक्रमलाई लक्षित गरी विमानस्थलबाहिर जेनजी समूहले प्रदर्शन गरेको थियो । त्यसक्रममा एमाले कार्यकर्ताहरूसँग उनीहरूको झडप समेत भएको थियो ।
सोही तनावले बुधबार र बिहीबार दिनभर सिमरामा कर्फ्यु लगाउनुपर्यो ।
शुक्रबार साँझ यो समाचार तयार पार्दासम्म वार्ता गरेर स्थिति सामान्य बनाउने प्रयास भइरहेको छ ।
प्रधानमन्त्रीलाई नै टेर्न छाडे जेनजी
जेनजी आन्दोनलबाटै प्रधानमन्त्री बनेकी सुशीला कार्कीले सिमरामा प्रदर्शन भएकै दिन बुधबार राति १० बजे सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै भनेकी थिइन्, ‘अभिव्यक्ति स्वतन्त्रता आफ्नो प्रतिबद्धता रहे पनि यसको अर्थ सार्वजनिक सम्पत्तिको क्षति, विमानस्थलमा अवरोध वा कानून हातमा लिने छुट होइन ।’
उनले त्यतिबेलै गृह प्रशासन र सुरक्षा निकायलाई शान्ति तथा सुव्यवस्था कायम गर्न, सबै राजनीतिक दलका नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न र निर्वाचनको निष्पक्ष तथा भयमुक्त वातावरण बनाउन उच्च संयम र पूर्ण तयारीका साथ काम गर्न निर्देशन दिएको उल्लेख गरेकी थिइन् ।
एमाले नेताहरू जाने तय भएकै दिन जेनजीको आन्दोलन तय हुनु र एमालेले टाँसेको ब्यानर च्यात्नु तथा आगो लगाउनु, विमानस्थलको गेट ढाल्नुजस्ता गतिविधिले राजनीतिक दल र जेनजीबीचको दूरी मात्रै बढेको छैन, सरकारले फागुन २१ गते गर्ने भनेको प्रतिनिधिसभा सदस्य चुनाव समेत बिथोलिने खतरा बढाएको छ ।
जिल्ला सुरक्षा समितिले दिएको प्रतिवेदन अनुसार राष्ट्रिय सुरक्षा समितिले अहिले सुरक्षाको ड्राफ्ट बनाइरहेको छ । प्रधानमन्त्री कार्की अध्यक्ष रहेको राष्ट्रिय सुरक्षा परिषद्ले निर्वाचनमा सेना परिचालन गर्ने निर्णयको सिफारिस मन्त्रिपरिषद समक्ष गर्ने भइसकेको छ ।
सिमरा घटनालाई नजिकबाट नियालेका प्रहरीका एक अधिकृतले लोकान्तरसँग भने, ‘जेनजीका नाममा त्यहाँ भएको प्रदर्शन सारमा एमालेका नेतालाई रोक्ने रणनीतिअनुसार देखिएपनि यो प्रवृत्ति क्रमश: अरू दलहरू कांग्रेस र माओवादीलाई लक्षित गरेर पनि दोहोरिने निश्चित छ ।’
बुधबारको घटनामा जेनजीले प्रदर्शन गरिरहेका बेला एमालेका कार्यकर्ता एक्कासि जाइलाग्न खोजेपछि स्थिति तनावग्रस्त बन्न पुगेको ती अधिकृतले बताए । उनका अनुसार प्रहरीले जेनजीलाई शान्तिपूर्ण ढंगले प्रदर्शन गर्न भने पनि उनीहरू एमालेको भीड देख्नेबित्तिकै चर्को नाराबाजीमा उत्रिएपछि स्थिति नियन्त्रणबाहिर पुगेको थियो ।

त्यसो त सिमरा घटनालाई लिएर जेनजीकै अगुवा एवं हामी नेपालका संयोजक सुधन गुरुङ सरकारमाथि नै खनिएका छन् ।
सुधनले प्रधानमन्त्रीको पोस्टमा कमेन्ट गर्दै सिमरा घटना गृहमन्त्री ओमप्रकाश अर्यालको लाचारीपनका कारण भएको जवाफ फर्काएका छन् ।
‘हाम्रा बारा जिल्ला संयोजक सम्राट उपाध्यायको नेतृत्वमा भइरहेको शान्तिपूर्ण कार्यक्रममा एमालेद्वारा परिचालित गुन्डा समूह प्रवेश गरी जेनजी साथीहरूलाई अपमान गर्दै कुटपिट गरेको घटना गृहमन्त्रीको लाचारीपनले भएको हो,’ सुधनले लेखेका छन्, ‘गृहमन्त्रीले आफू आन्दोलनको म्यान्डेटबाट, सडकमा बगेको रगतबाट र जेनजी भाइबहिनीहरूको बलिदानबाट गृहमन्त्री बनेको कुरा बिर्सिएको देखेर लाज पनि लजाइसक्यो ।’
सुधनले गृहमन्त्री अर्यालमाथि कटाक्ष गर्दै अगाडि लेखेका छन्, ‘यदि गृहमन्त्रीले राजीनामा नदिने हो र भ्रष्टाचारी तथा हत्याराहरूलाई समात्न सक्दैन भने, देशको परिवर्तनका लागि लड्ने योद्धाहरूमाथि कुटपिट हुँदा कानमा तेल हालेर, हात बाँधेर बस्छ भने र उल्टै देशप्रेमी भाइबहिनीहरूलाई पक्राउ गर्छ भने मलाई पनि पक्राउ गर, राष्ट्रिय अभियान चलाउने चुनौती दिन्छु ।’
सुधन त्यतिमै रोकिएका छैनन् । उनले हत्याराहरूले आफूहरूलाई खुला चुनौती दिँदै हिँड्ने र सरकार चुप बस्ने हो भने यो ज्वालामुखीको उभार ठूलो हुने चेतावनी दिएका छन् । ‘बुधबार देखिएको प्रतिक्रिया त केवल एउटा झल्को मात्रै हो, के हुन सक्छ भन्ने ?,’ सुधनले लेखेका छन्, ‘हाम्रा दाजुभाइहरूलाई छोएर कसैलाई खेल्न दिने छैनौं । हाम्रो मौनतालाई कमजोरी नठान्नू ।’
भदौ २७ गते प्रधानमन्त्रीमा कार्कीले शपथ खाएपछि उनको खुट्टा ढोगेका सुधन पछिल्ला दिनमा प्रधानमन्त्रीमाथि प्रश्न उठाउने र गृहमन्त्रीविरुद्ध खुलेर लाग्ने अवस्थामा पुगेका छन् ।
उनले गृहमन्त्रीलाई फिर्ता बोलाउनुपर्ने वा उनले राजीनामा दिनुपर्ने भनेर सामाजिक सञ्जालहरूमा क्याम्पेन चलाएका छन् ।
कार्की नेतृत्वको सरकार बनाउँदा ठूलो भूमिका खेलेका सुधनका पछिल्ला अभिव्यक्ति जेनजीलाई उकास्ने खालका छन् ।
सुरक्षा स्रोत भन्छ, ‘अहिले देखिएको सिमरा घटना एउटा झिल्को मात्र हो, अब यस्ता गतिविधि विस्तारै अरू जिल्लामा हुँदै जान्छन् । यसमा सरकारले जेनजीलाई बोलाएर सम्झाउनुपर्छ । राजनीतिक दललाई निषेधमा राखेर चुनावको परिकल्पना गर्न सकिँदैन ।’
संविधानविद् डा. भीमार्जुन आचार्यले नेताहरूलाई आफ्ना सभा सम्मेलनमा जान रोक लगाउने र आफ्ना जनतामाझ जान अवरोध पुर्याउने जस्ता गतिविधि नरोक्ने हो भने तोकिएको मितिमा चुनाव नहुने बताएका छन् ।
उनले भनेका छन्, ‘संवैधानिक एवं मौलिक अधिकार प्रयोग गर्ने अधिकार सबैलाई छ, तर अभिव्यक्ति स्वतन्त्रताका नाममा आफ्नै सत्ता भएका आन्दोलनकारी त झनै बढी जिम्मेवार हुनुपर्छ ।’
उनले जेनजीलाई उत्तेजना बढाउने काम नगर्न आग्रह गरे ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सिमरा घटनालाई लिएर जेनजी र प्रशासनबीच वार्ता भएको बताए ।
सिमरा घटनामा वार्ता गरेर शान्ति कायम गर्ने काम भए पनि देशका अन्य स्थानमा समेत यस्ता घटना हुन सक्नेतर्फ प्रशासनको पर्याप्त ध्यान पुगेको देखिँदैन । सोही कारण चुनावमाथिको संशय घट्नुको साटो बढिरहेको छ ।