
सर्वोच्च अदालत तोडफोड, आगजनी तथा सुरक्षाकर्मीको हतियार लुटपाट गरेको आरोपमा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका १ बस्ने २८ वर्षीय ज्योति थापा घताने र ललितपुरको महालक्ष्मीस्थान नगरपालिका ५ बस्ने ३० वर्षीय ब्राउन भन्ने शुशील श्रेष्ठ छन् ।
गत भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा सर्वोच्च अदालतको भवनमा तोडफोड, आगजनी तथा लुटपाट गर्ने, सुरक्षाकर्मीको हतियार लुटपाट तथा प्रदर्शन गर्ने, आपराधिक कार्यमा मानिसहरूलाई उक्साउने, उत्तेजित बनाउने अपराधमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।
उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट आपराधिक उपद्रव गर्न नहुने कसुरमा ७ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।