०२ साउन २०८३, शनिबार
एमाले छोडेपछि वडाध्यक्ष पदमुक्त

दल त्यागेका वडाध्यक्षलाई मेयरले थमाइदिए ‘पदमुक्त’को पत्र, कार्यालयको कुर्सी र नेमप्लेट पनि गायब !

मंसिर ८, २०८२
विराटनगर
दल त्यागेका वडाध्यक्षलाई मेयरले थमाइदिए ‘पदमुक्त’को पत्र, कार्यालयको कुर्सी र नेमप्लेट पनि गायब !

उदयपुरको चौदण्डीगढी नगरपालिका प्रमुख कालुमान लामाले वडा नम्बर ७ का अध्यक्ष केशव अधिकारीलाई पदमुक्त गरिएको पत्र थमाएका छन् । आफू निर्वाचित भएको दल नेकपा एमाले परित्यागको घोषणा गरेलगत्तै मेयर लामाले वडाध्यक्ष अधिकारीलाई पदमुक्त गरिएको पत्र थमाएका हुन् ।

यतिमा मात्र होइन, मेयर लामाले वडाध्यक्ष बस्ने कुर्सी र नेमप्लेटसमेत नगर प्रहरी लगाएर उठाएको भन्दै अधिकारीले प्रहरीमा चोरीको उजुरी दिएका छन् । आफू काम विशेषले जिल्ला प्रशासन कार्यालय गएको मौका छोपी आफ्नो कार्यालयबाट कुर्सी र नेमप्लेट गायब पारिएको वडाध्यक्ष अधिकारीले बताए । ‘मेयरसाबले नगर प्रहरी लगाएर मेरो कुर्सी र टेबुल नगरपालिकामा लानुभएको छ,’ अधिकारीले भने, ‘मेरो कार्यालयबाट सामान चोरी भएपछि मैले प्रहरीमा उजुरी दिएको हुँ ।’

मिति २०८२/०८/०५ मा पठाइएको पत्रमा अधिकारीले पार्टी परित्याग गरेको र सो निर्णय जिल्ला पार्टी कमिटीले स्वीकृत गरिसकेकाले ‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम वडाध्यक्षको रूपमा स्वीकार नगर्ने’ निर्णय भएको उल्लेख छ । सोही पत्रका आधारमा लामाले वडा सदस्य बलराम मगरलाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी तोकेका छन् ।

नगर प्रमुख लामाले अधिकारीलाई पदमुक्त गरिएको पत्र पठाएको स्वीकार गरे । तर, मेयर लामाले कुर्सी र नेमप्लेट आफूले नगर प्रहरी लगाएर लगेको आरोप अस्वीकार गरे । ‘नगरपालिकामा कार्यक्रम हुँदा कुर्सी नपुगेर कर्मचारीले ल्याएको हुनसक्छ, फिर्ता गइहाल्छ,’ उनले भने, ‘वडाध्यक्षले जनताको काम नगरेको गुनासो आइरहेको थियो, त्यसमाथि दल त्याग गरेपछि पार्टीको निर्णयअनुसार प्रक्रिया अघि बढाएका हौं ।’

उनले निर्वाचन आयोगमा समेत अधिकारीलाई हटाउने प्रक्रिया चलिरहेको दाबी गरे । 

मेयरको कदमलाई वडाध्यक्ष अधिकारीले ‘राजनीतिक प्रतिशोध र शक्तिको दुरुपयोग’को संज्ञा दिँदै नगरपालिकाको लेटरप्याड दुरुपयोग गरेको भन्दै मुद्दा हाल्ने चेतावनी दिएका छन् । प्रहरीले भने उक्त घटना राजनीतिक भएको भन्दै कुनै प्रतिक्रिया दिन चाहेन ।

salt training

कमेन्ट गर्नुहोस्