
२०५० को दशकदेखि नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलको राजनीतिक यात्रा निरन्तर उचाइमा छ ।
२०५१ मा पाल्पा र २०५६ देखि रुपन्देहीबाट संसदीय राजनीतिको केन्द्रमा रहेका पौडेलले पार्टी अध्यक्ष केपी ओलीपछिको नेतृत्वका रूपमा आफूलाई स्थापित गरेका छन् ।
उनी तत्कालीन नेकपा हुँदा होस् वा अहिलेको एमालेमा अध्यक्ष ओलीपछि सबैभन्दा धेरै सांगठनिक प्रभाव भएका नेतामा गनिन्छन् । गृहजिल्ला रूपन्देहीलाई संसदीय राजनीतिको आधार बनाएका पौडेल लगातार चारपटक चुनाव जितिसकेका छन् ।
उनले २०५६ को संसदीय निर्वाचनबाहेक पराजय व्यहोरेका छैनन् । यही मंसिर २७ गतेदेखि काठमाडौंमा हुने ११औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष ओलीपछि उनी चासोको केन्द्र बन्नेछन् । अध्यक्षमा ओली आफैं अगाडि बढ्ने अवस्थामा उनीपछिको वरीयतामा पौडेल रहन सक्ने चर्चा छ ।
लुम्बिनी प्रदेशबाटै प्रतिनिधित्व गर्ने पार्टी महासचिव एवं पूर्व मुख्यमन्त्री शंकर पोखरेल पनि अर्का प्रभावशाली नेता हुन् । गृहजिल्ला दाङ भएका पोखरेललाई संसदीय राजनीति त्यति नफापे पनि वैचारिक हिसाबले अब्बल नेताका रूपमा लिइन्छ ।
उनले २०५१ को मध्यावधि निर्वाचन र २०७४ को प्रदेशसभा चुनावबाहेक अन्य चुनाव जितेका छैनन् । एउटै प्रदेशबाट प्रतिनिधित्व गर्ने पौडेल र पोखरेलबीच आन्तरिक प्रतिस्पर्धाको चर्चा पनि हुने गरेको छ । तर, यी दुवै प्रभावशाली नेता एउटै खेमामा छन् ।
पोखरेल आगामी महाधिवेशनबाट पनि महासचिवमा दोहोरिने सम्भावना रहेको नेताहरू बताउँछन् । अरू कुनै नेता महासचिव बन्ने अवस्थामा उनी उपाध्यक्ष बन्नेछन् ।
संगठनमा बलियो पकड भएका पौडेल र वैचारिक नेता पोखरेल महाधिवेशनपछिको राजनीतिमा कुन भूमिकामा रहलान् भनेर लुम्बिनीको एमाले पंक्तिमा चासो प्रस्टै देखिन्छ ।
गृहजिल्ला गुल्मीलाई आफ्नो संसदीय राजनीतिको कर्मथलो बनाएका उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण विष्ट पनि महाधिवेशनमा ‘अपग्रेड’ हुने गरी तयारीमा लागेका छन् । ज्ञवाली गुल्मी– १ र विष्ट २ बाट संसदीय राजनीतिमा छन् ।
वैचारिक नेता ज्ञवाली महासचिव र विकासप्रेमी नेताको छवि बनाएको विष्ट उपमहासचिव बन्ने चर्चा छ । यद्यपि, यी दुई नेता फरक–फरक खेमाबाट प्रतिस्पर्धामा उत्रिएको अवस्थामा महासचिव वा उपमहासचिवमा एकअर्काका प्रतिस्पर्धी पनि बन्न सक्ने देखिन्छ ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको ‘ब्याकअप’मा अध्यक्षका लागि प्रतिस्पर्धा गर्न लागेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको खेमाबाट योगेश भट्टराई वा गोकर्ण विष्टमध्ये एकजना महासचिवको उम्मेदवार हुने चर्चा पनि एमाले वृत्तमा सुनिन्छ ।
हालै नेकपा एकीकृत समाजवादीबाट एमालेमा फर्किएकी नृेत रामकुमारी झाँक्री पनि पदाधिकारी बन्न सक्ने चर्चा छ । उनी एकीकृत समाजवादीमा छँदा सचिव थिइन् । एमालेमा पनि त्यही भूमिका पाउनका लागि उनले जोडबल लगाउने छिन् । गृहजिल्ला गुल्मी रहेकी झाँक्री महिलामा क्षमता भएकी नेत्रीका रूपमा चिनिन्छिन् ।
एमाले उपाध्यक्ष युवराज ज्ञवालीको भूमिका के हुने भन्ने प्रस्ट छैन । संस्थापनइतर खेमामा रहेकाले उनी ईश्वर पोखरेल खेमाबाट अध्यक्षपछिको कुनै भूमिकामा रहने सम्भावना छ । उपाध्यक्ष बनिसकेकाले त्यसभन्दा तलको भूमिकामा आउने सम्भावना भने देखिँदैन ।
उनले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले नेतृत्व छाडेर पुस्तान्तरण गर्नुपर्छ भन्ने बहस छेड्दै आएका छन् । माधव नेपाल पार्टीमा हुँदा नेतृत्वदायी भूमिकामा रहेका युवराज ओली नेतृत्वमा आएपछि छाँयामा पर्दै आएका छन् ।
दाङमा एमाले कार्यकताले शंकर पोखरेललाई भन्दा युवराज ज्ञवालीलाई राष्ट्रिय राजनीतिको केन्द्रमा पुग्न सक्ने नेताका रूपमा हेर्थे । तर, पछिल्ला केही वर्षयता भूमिकाका हिसाबले पोखरेलले ज्ञवालीलाई पछाडि पार्दै आएका छन् ।
लुम्बिनी प्रदेशबाटै प्रतिनिधित्व गर्ने सचिव (निलम्बित) टोपबहादुर रायमाझी भुटानी शरणार्थी काण्डमा मुछिएपछि जेल चलाएन भएका छन् । अर्घाखाँचीबाट सधैँ संसदीय राजनीतिको केन्द्रमा रहेका रायमाझी माओवादी छाडेर एमाले प्रवेश गरी पार्टीको सचिव बनेका थिए ।
अर्कातर्फ, एमाले युवा नेता सूर्य थापा पनि पदाधिकारीका लागि दाबेदार मानिन्छन् । पत्रकारिताबाट राजनीतिमा आएका थापले प्युठानबाट चुनाव जितेका थिए । तर, नेता थापा अहिल्यै पार्टीको कुन तहमा जाने भन्ने यकिन नरहेको बताउँछन् ।
‘हाम्रो पार्टीमा अहिले नै यो वा त्यो पदमा जाने हो भन्ने हुँदैन । महाधिवेशनकै बेलामा टुंगो लाग्छ,’ थापाले भने ।
लुम्बिनीबाट एमालेभित्र ठाकुर गैरे, चेतनारायण आचार्य, बलराम अधिकारी पनि पदाधिकारीको आकांक्षीमा पर्छन् ।
यस क्षेत्रका एमाले नेता/कार्यकर्ताको बुझाइमा मतदानबाट नेतृत्व चयन हुने अवस्था आए ओली र पोखरेलको टीममा को–को बाँडिन्छन् भन्ने यकिन भएको छैन ।
एमालेका लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले अहिलेको महाधिवेशनपछि पनि पदाधिकारीमा लुम्बिनीको बलियो उपस्थिति रहने बताए ।
उपाध्यक्ष, महासचिव, सचिव हाम्रो प्रदेशकै हुनुहुन्छ । ११ औं महाधिवेशनमा पदाधिकारीको संख्या घट्ने देखिए पनि लुम्बिनीको प्रतिनिधित्व भने कम नहुने अपेक्षा छ,’ कंडेलले लोकान्तरसँग भने ।
लुम्बिनी प्रदेशबाट एमालेमा ५२ केन्द्रीय सदस्य छन् । यही मंसिर २७ देखि २९ सम्म हुने महाधिवेशनका लागि आउँदो १३ गते देशभर एमालेले महाधिवेशन प्रतिनिधि चयन गर्दैछ ।
एमाले गुल्मीका अध्यक्ष बालसिंह काउछाले पार्टीको महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने विश्वास व्यक्त गरे । महाधिवेशनपछि पनि पार्टी एकजुट भएर अगाडि बढ्ने उनको विश्वास छ ।