२८ असार २०८३, आइतबार

भारत, अष्ट्रेलिया र क्यानडाबीच प्रविधि तथा नवप्रवर्तनका लागि त्रिपक्षीय साझेदारी

मंसिर १०, २०८२
काठमाडौं
भारत, अष्ट्रेलिया र क्यानडाबीच प्रविधि तथा नवप्रवर्तनका लागि त्रिपक्षीय साझेदारी

भारत, अष्ट्रेलिया र क्यानडाले शनिबार नयाँ त्रिपक्षीय प्रविधि तथा नवप्रवर्तन साझेदारी गठन गर्ने सहमति गरेका छन् । उक्त साझेदारीलाई अष्ट्रेलिया–क्यानडा–भारत टेक्नोलोजी एण्ड इन्नोभेशन (एसीआईटीआई) पार्टनरशिप नाम दिइएको छ ।

तीनै पक्षले महत्त्वपूर्ण र उदाउँदो प्रविधिमा सहकार्य विस्तार गर्ने र अहिलेसम्मका द्विपक्षीय पहललाई मजबुत बनाउने लक्ष्य राखेका छन् । भारतीय विदेश मन्त्रालयका अनुसार यो साझेदारीले तीन देशका प्राकृतिक क्षमता र अनुभवलाई उपयोग गर्दै हरित ऊर्जा नवप्रवर्तन, आपूर्ति शृंखला मजबुतीकरण र विशेषगरी महत्त्वपूर्ण खनिज क्षेत्रमा सहकार्यलाई प्राथमिकता दिनेछ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'यो पहलले तीनै देशको नेट–जिरो लक्ष्यलाई अघि बढाउन मद्दत गर्नेछ । सुरक्षित, दिगो र विश्वसनीय आपूर्ति शृंखला निर्माणमा सहयोग पुर्‍याउनेछ । साथै, कृत्रिम बुद्धिमत्ता (एआई)को विकास र यसको व्यापक प्रयोगसम्बन्धी सम्भावनाको अध्ययन पनि साझेदारीअन्तर्गत हुनेछ ।'

साझेदारीलाई अघि बढाउन तीन देशका अधिकारीहरूले सन् २०२६ को पहिलो त्रैमासिकमा बैठक गर्ने सहमति भएको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनीज र क्यानडाका मार्क कार्नीसँग भेटपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमा एसीआईटीआई पार्टनरशिप घोषणा गरेकोमा खुशी व्यक्त गरे । उनले लेखे, 'यो पहलले तीन खण्ड र तीन महासागरका लोकतान्त्रिक साझेदारबीच उदाउँदो प्रविधिमा सहकार्य गहिरो बनाउनेछ । आपूर्ति शृंखला विविधीकरण, सफा ऊर्जा र एआईको व्यापक उपयोगमा पनि टेवा पुग्नेछ ।'

शनिबार नै मोदीले बेलायतका प्रधानमन्त्री कीर स्टार्मर र संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेससँग छुट्टाछुट्टै भेटवार्ता गरे । स्टार्मरसँगको भेटबारे उनले भने, 'यो वर्ष भारत–बेलायत साझेदारीमा नयाँ ऊर्जा आएको छ, र यसलाई अझ अघि बढाउनेछौं ।'

संयुक्त राष्ट्र महासचिव गुटेरेससँगको कुराकानीलाई मोदीले बहुतै उपयोगी भने ।

जी–२० शिखर बैठकको उद्घाटन सत्रमा सम्बोधन गर्दै मोदीले विश्व विकासका सूचकहरूलाई पुनर्विचार गर्नुपर्ने धारणा राखे । 

साथै, उनले लागुऔषध–आतंकवाद सम्बन्धविरुद्ध विशेष जी ट्वान्टी पहल र एक विश्वव्यापी स्वास्थ्य प्रतिक्रिया टोली गठनको प्रस्ताव गरे ।

salt training

कमेन्ट गर्नुहोस्