०५ साउन २०८३, मंगलबार

फ्रान्सेली स्टार एमबाप्पेको चार गोलमा रियल म्याड्रिडको रोमाञ्चक जीत

मंसिर ११, २०८२
काठमाडौं
फ्रान्सेली स्टार एमबाप्पेको चार गोलमा रियल म्याड्रिडको रोमाञ्चक जीत

प्रभावशाली खेलाडी केलियन एमबाप्पे एक्लैले चार गोल गरेपछि स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडले च्याम्पियन्स लिग फुटबलको आफ्नो पछिल्लो खेलमा ग्रिसको ओलम्पियाकसमाथि रोमाञ्चक जीत हासिल गरेको छ । रियल म्याड्रिडले बिहीबार बिहान सम्पन्न खेलमा ओलम्पियाकसलाई ४–३ गोलले हराएको हो । 

घरेलु मैदानमा खेलिएको खेलको आठौँ मिनेटमै ओलम्पियाकसले अग्रता लिएको थियो । घरेलु टोलीका लागि फ्रान्सिस्को चिक्विन्होले गोल गरेका थिए ।

त्यसपछि आठ मिनेटको बीचमा फ्रान्सेली स्टार एमबाप्पेले लगातार तीन गोल गरे । उनले निर्धारित समयको २२औँ, २४औँ र २९औँ मिनेटमा गोल गरेका थिए । एमबाप्पेको गोलपछि पहिलो हाफमै रियल म्याड्रिडले ३–१ को अग्रता लियो ।

निर्धारित समयको ५२औँ मिनेटमा मेहदी तारेमीले ओलम्पियाकसका लागि दोस्रो गोल गरे । ६०औँ मिनेटमा एमबाप्पेले रियलका लागि चौथो गोल थपे । निर्धारित समयको खेल सकिनुभन्दा नौ मिनेटअघि ओलम्पियाकसका लागि अयुब एल काबीले तेस्रो गोल गरेका थिए ।

एमबाप्पेले च्याम्पियन्स लिग फुटबलको इतिहासमा दोस्रो छिटो ह्याट्रिकको कीर्तिमान पनि बनाएका छन् । पाँचौँ चरणको खेल सकिँदासम्म चार जित र एक हारबाट १२ अंक जोडेको रियल म्याड्रिड तालिकाको पाँचौँ स्थानमा छ । ओलम्पियाकस भने दुई अंकसहित ३३औँ स्थानमा छ।

कमेन्ट गर्नुहोस्