
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा साविक उप–विजेता सुदूरपश्चिम रोयल्सले आफ्नो विजययात्रा कायमै राखेको छ ।
सुदूरपश्चिम रोयल्सले बिहीबार सम्पन्न आफ्नो पछिल्लो खेलमा लुम्बिनी लायन्सलाई सात विकेटले पराजित गरेको हो ।
एनपीएलको दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सको यो लगातार चौथो जित हो । दोस्रो संस्करणमा हालसम्म आफूले खेलेको सबै खेल जित्ने सुदूरपश्चिम एक मात्र टोली पनि हो ।
सुदूरपश्चिमले यसअघि काठमाण्डू गोर्खाजलाई २९ रनले, पोखरा एभेन्जर्सलाई १८ रनले र कर्णाली याक्सलाई ४५ रनले हराएको थियो । सुदूरपश्चिम आठ अंकसहित तालिकाको पहिलो स्थानमा छ ।
चौथो खेल खेलेको लुम्बिनी लायन्सको यो तेस्रो हार हो । लुम्बिनी लायन्सले हालसम्म एक खेलमात्र जित्न सकेको छ । लुम्बिनी दुई अंकसहित तालिकाको छैटौं स्थानमा आसिन छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार टस हारी पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले १९.४ ओभरमा अलआउट हुनुअघि एक सय ४३ रन बनाएको थियो ।
मध्यम विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको सुदूरपश्चिम रोयल्सले भने १८.२ ओभरमा केवल तीन विकेट गुमाएर एक सय ४५ रन बनाउँदै जित हात पार्यो ।
सुदूरपश्चिम रोयल्सको जितमा विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीले उत्कृष्ट अर्धशतकीय पाली खेले । ओपनर ब्याट्सम्यान विनोदले टोलीका लागि अविजित ६९ रनको योगदान गरे ।
यसक्रममा उनले ४९ बलको सामना चार छक्का र पाँच चौका हिर्काए । विनोदले अर्धशतक भने ३७ बलमा तीन छक्का र चार चौकाको मद्दतले पूरा गरेका थिए ।
चौथो नम्बरमा क्रिज समाल्न आएका आरिफ शेखले पनि टोलीका लागि ३९ रनको योगदान गरे । उनले ३७ बलको सामना गरी एक छक्का र चार चौका पनि हिर्काए ।
क्रिस लिन १४ बलमा दुई छक्का र एक चौकाको मद्दतले १६ रन बनाउँदै आउट भए । ओपनर जोस ब्राउनले पनि सात बलमा दुई चौकाको मद्दतले नौ रन बनाए । हरमित सिंह सात रनमा अविजित रहे ।
लुम्बिनी लायन्सका बलर रुवेन ट्रम्पलम्यान, अभिषेश गौतम र तिलक भण्डारीले एक–एक विकेट लिए । सुदूरपश्चिम रोयल्सले अतिरिक्त रूपमा पाँच रन पायो ।
त्यसअघि, लुम्बिनीका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ३५ रन बनाएका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनले ३६ बलमा तीन चौका प्रहार गरे ।
दिलीप नाथले पनि टोलीको खातामा ३१ रन थपे । चौथो नम्बरमा क्रिज समाल्न आएका विकेटकिपर ब्याट्सम्यान दिलीपले २९ बलमा एक छक्का र दुई चौका पनि हिर्काए ।
ओपनर ब्याट्सम्यान डी’आर्ची सर्ट ११ बलमा चार चौकाको मद्दतले १८ रन बनाउँदै आउट भए । अर्का ओपनर सुमित महर्जनले पनि १४ बलमा तीन चौकाको मद्दतले १८ रन बनाए ।
गुलबदिन नाइब नौ बलमा दुई चौकाको मद्दतले ११ रन बनाउँदै आउट भए । शेर मल्ल चार रनमै पेभेलियन फर्किए । रुबेन ट्रम्पलम्यानले खातासम्म खोल्न सकेनन् ।
सातौं नम्बरमा क्रिज समाल्न आएका सन्दीप जोराले सात बलमा सात रन बनाए । थोमस ड्राका चार बलमा एक चौकाको मद्दतले ६ रन बनाउँदै आउट भए । अभिषेश गौतमले ६ रन बनाए ।
सुदूरपश्चिमका बलर हरमित सिंह र अविनाश बोहराले तीन–तीन विकेट लिएका थिए । हेमन्त धामीले पनि दुई विकेट हात पारे । स्कट कुग्गेलेइजनले एक विकेट कुम्ल्याए ।