
प्रहरी प्रधान कार्यालयले प्रहरी नायव महानिरीक्षक (डीआईजी) सरुवामा सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका डीआईजी जयराज सापकोटालाई विभागीय कारबाही गर्ने तयारी गरेको छ ।
सापकोटाले सामाजिक सञ्जाल फेसबूकमा डीआईजी सरुवामा असन्तुष्टि जनाउँदै ‘हम कभी नहीं सुध्रेंगे' भनेर स्टाटस लेखेका थिए ।
खासगरी सापकोटा कोशी प्रदेश प्रहरी कार्यालयमा जान खोजेका थिए । तर, त्यहाँ अर्का डीआईजी विनोद घिमिरेको सरुवा गरिएको थियो ।
पूर्वका सापकोटाले आफ्नै क्षेत्र कोशी प्रदेशमा जान नपाएपछि असन्तुष्टि व्यक्त गरेर सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
प्रहरी प्रधान कार्यालयले सापकोटाको अभिव्यक्ति मिडिया नीति तथा आचारसंहिताविपरीत भएकाले उनलाई सचेत गराउन खोजिएको एक उच्च अधिकृतले लोकान्तरलाई बताए ।
उनले भने,‘सापकोटाले त्यही असन्तुष्टि आईजीपीसापसँग व्यक्त गर्न सक्नुहुन्थ्यो, प्रहरी अधिकृत भएर प्रहरीकै सरुवालाई लिएर सामाजिक सञ्जालमा जथाभावी प्रकट हुनु राम्रो भएन र नीतिविपरीत भएकाले कारबाही गर्ने तयारी भएको हो ।’