२६ जेठ २०८३, मंगलबार
महाधिवेशनको सकस

अग्रगमन र पश्चगमनको दोसाँधमा कांग्रेस

मंसिर १२, २०८२
काठमाडौं
अग्रगमन र पश्चगमनको दोसाँधमा कांग्रेस

देशको प्रमुख दल (पछिल्लो निर्वाचनको नतिजाका आधारमा) नेपाली कांग्रेस भदौ २३–२४ को घटनाले सृजित परिस्थितिका कारण लामो राजनीतिक संकटबाट गुज्रिरहेको छ । दिनभरजसो नेताहरू यताउता साउती मार्छन्, सन्ध्याकालमा बैठक स्थगित गरिएको विज्ञप्ति बाहिर आउँछ ।

कांग्रेस अल्मलिएको घुम्ती २०५८ सालमा शेरबहादुर देउवाले पार्टी विभाजन गरेर प्रजातान्त्रिक कांग्रेस गठन गर्दाको अवस्था जस्तै सकसपूर्ण देखिन्छ । किन्तु, आजको दिनमा पार्टी विभाजन गर्नका लागि देउवाजस्तो साहसी र ‘बहादुर’ इतर नेता कांग्रेसमा छैन । अनि फुट्नका लागि कांग्रेस अहिले सत्तामा पनि छैन ।

औपचारिक रूपमा विभाजन नभएपनि कांग्रेस सग्लो छैन, गुट–उपगुटको पराक्रम चलिरहेको छ । विभिन्न पिण्डले कांग्रेसरूपी सौर्यमण्डलमा ताराहरूलाई घुमाइरहेको छ । समग्रमा कांग्रेस चरम संकट र अनिश्चयको गोलचक्करमा फसेको छ ।

सतहमा विवाद चुनावअघि महाधिवेशन गर्ने कि चुनावपछि भन्ने जस्तो देखिएपनि त्यसको अन्तर्य कांग्रेसको रूपान्तरणसँग जोडिएको छ । कांग्रेसलाई यथास्थितिमा राख्ने कि २१ औं शताब्दीका युवाको भावनाअनुसार चल्ने गतिशील पार्टी बनाउने भन्ने रस्साकस्सी नै अहिले विवादको चुरो हो ।

कांग्रेसभित्र चलिरहेको अन्तरसंघर्ष त्यो पार्टीका सदस्य मात्र नभई बाहिरबाट पनि अभिरूचिपूर्वक हेरिएको छ । कांग्रेसमा हुने नेतृत्व परिवर्तन र लिने नीतिले राष्ट्रिय राजनीतिलाई पनि मार्गदर्शन गर्नेछ । त्यसैले कांग्रेसभित्र चलिरहेको भीषण संघर्ष कम्युनिस्ट पार्टीहरूका लागि समेत चासोको विषय बनेको छ ।

शेरबहादुर देउवा

कांग्रेस डडेल्धुराको रूवाखोलामा जन्मेका शेरबहादुर देउवा नाम गरेका व्यक्तिले नेतृत्व गरेको फगत एउटा दल मात्र होइन, नेपालको लोकतान्त्रिक आन्दोलनको विरासत बोकेको पार्टी हो । बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहजस्ता नेताहरूले स्थापना गरेको लोकतान्त्रिक आन्दोलनको मूल धार हो । त्यसैले यो पार्टीलाई कसैले कम्पनीजस्तो चलाउन सक्दैन ।

कोही व्यक्ति विशेषलाई नायक बनाएर स्थापित गरेको पार्टी होइन कांग्रेस । देउवा या अहिले नेतृत्वको चरम आकांक्षा राखेका व्यक्तिहरूविना पनि यो पार्टी चल्न सक्छ । त्यही लिगेसीकै कारण सुशील कोइरालाजस्तो ‘लो प्रोफाइल’ र तिकडम नगर्ने व्यक्ति पार्टी सभापति भएको बेला देशले संविधान जारी गर्न सकेको थियो ।

कांग्रेस आफ्नो यस्तै लिगेसीका कारण राष्ट्रिय/अन्तर्राष्ट्रिय समुदायले विश्वास गरेको र भरोसा गरेको पार्टी बनेको हो । उसले लिएका निर्णय र अडानले नेपालमा क्रान्ति सम्पन्न भई व्यवस्था परिवर्तन भएका छन्, ०४६ होस् कि ०६२/०६३ को जनआन्दोलन ।

कांग्रेसलाई अग्रगमनमा लैजान गगन थापा, विश्वप्रकाश शर्मा र गुरूराज घिमिरेहरूले बल गरिरहेका छन् भने विमलेन्द्र निधि, कृष्ण सिटौलालगायत ७ भाइ त्यसलाई रोक्नका लागि मरिमेटेर लागेका छन् ।

ढिलोचाँडो कांग्रेस युवाहरूको एजेन्डामा जान बाध्य हुनेछ, देउवा र ७ भाइले परिवर्तनको त्यो बेगलाई थाम्न सक्ने छैनन्, किनभने नेविसंघको अध्यक्ष बन्न रोके पनि गगनले लगाएको गणतन्त्रको नारामा कांग्रेस लतारिन बाध्य भएको हो ।

गगन थापा

देउवा फर्किएपछि तिल्मिलाएको कांग्रेस

कार्यकाल लम्ब्याउन सकिने विधानमा रहेको छिद्रलाई बिर्सेर २०८२ मंसिरभित्रै महाधिवेशनको मिति घोषणा गरेको भए कांग्रेसमा देउवाको ‘ग्रेसफूल एक्जिट’ हुने थियो । कांग्रेसको इतिहासमा समयमै महाधिवेशन गराउने सभापतिको रूपमा देउवाको नाम इंगित हुने थियो । त्यो प्रभाव छाड्न देउवा चुकेका छन् ।

समयमै महाधिवेशनको निर्णय गरेको भए कांग्रेस अहिले नियमित महाधिवेशनको चरणमा हुने थियो । विशेष महाधिवेशन गर्न भनेर प्रतिनिधिले हस्ताक्षर गर्ने र दैनिक धर्ना दिनुपर्ने अवस्था हुने थिएन ।

विधानमा रहेको कार्यकाल थप्न मिल्ने व्यवस्थालाई देखाएर देउवाले समयमै महाधिवेशन गर्न चासो देखाएनन् । यद्यपि कांग्रेसभित्रको यो रोग यसपटक मात्र होइन, विगतमा पनि थियो । भ्रातृ संस्थाका अधिवेशन नभएको दशक भइसकेको छ । छैटौंपटक प्रधानमन्त्री बन्ने लोभमा देउवाले पार्टीलाई समयमै र सहजै महाधिवेशनमा लगेनन् ।  

पार्टीमा कुनै सुधार र आशालाग्दो नेतृत्वलाई अगाडि नसारी चुनावमा गयो भने कांग्रेसले झट्का व्यहोर्ने निश्चित छ ।

भदौ २४ गते घरमा रक्ताम्मे हुनेगरी आक्रमणमा परेका देउवाले एक महिनापछि असोज २८ गते कार्यवाहक तोकेर सक्रिय राजनीतिबाट अवकाशमा जान लागेको संकेत दिएका थिए । कार्यवाहक दिएपछि देउवाको प्रशंसा भएको थियो– नेतृत्व हस्तान्तरणमा देउवा अन्य नेताभन्दा एक कदम अगाडि बढे भनेर ।

उपचारको बहानामा सिंगापुर गए पनि देउवाले कांग्रेसको रिमोट साथमै लिएर गएका रहेछन् । ‘उपचार’बाट फर्केपछि देउवाले फेरि पदीय लालसा देखाएर आफैंले देखाएको उदारताको खण्डन गरेका छन् । उनको लोकप्रियताको पारो फेरि घट्न थालेको छ । उनी फर्केपछि नै कांग्रेसमा फेरि समस्या देखिन थाल्यो । देउवा स्वयंभन्दा पनि केही नेताले उनलाई महाधिवेशन पछि सार्न उक्साइरहेका छन् ।

पढ्नुहोस्, यो पनि:​

कांग्रेसभित्रको पेचिलो राजनीति: देउवालाई फेरि सक्रिय भूमिकामा कसले तान्यो ? किन तानियो ?

कार्यवाहकको जिम्मेवारी पाएका पूर्णबहादुर खड्काले देउवाको इसारा बेगर केही गरेनन्, बरु महाधिवेशनका लागि दबाब दिए कार्यवाहकबाट राजीनामा दिन्छु भनेर घुर्की लगाए । आफूअनुकूल चलाउनकै लागि देउवाले खड्कालाई कार्यवाहक रोजेका थिए ।

महाधिवेशनको मिति लम्ब्याएर चुनावमा उम्मेदवारको टिकटमा हस्ताक्षर गर्ने अख्तियारी आफैंसँग राख्ने देउवाको कूटिलता देखिन्छ । समानुपातिक सांसदको बन्दसूची बनाउन र टिकटमा हस्ताक्षर गर्नकै लागि देउवालाई सक्रिय गराइयो ।

अवकाशको संकेत दिएका देउवालाई सक्रिय बनाउने काम कांग्रेसका ७ भाइले गरे । यी सबैका पछाडि दलभित्र घुसेको भूराजनीतिको बाछिटालाई पनि नजरअन्दाज गर्न सकिँदैन ।

महाधिवेशनको मितिलाई लिएर कांग्रेसभित्र दिनमा ३ पटक छलफल भएका छन्, तर टुंगो लागेको छैन ।

बुधवार राष्ट्रिय सभागृहमा विशेष महाधिवेशन पक्षधर नेताको भेलामा गुरू घिमिरेले भनेका थिए– विश्वमा कुनै पार्टीको सबैभन्दा लामो बैठक चिनियाँ कम्युनिस्ट पार्टीको बैठक बसेको रहेछ २३ दिन, यहाँ त असोजमा शुरू भएको बैठक मंसिरसम्म चलिरहेको छ, योभन्दा मजाक के हुन्छ ?  

केन्द्रीय समितिको वैधानिकता यही मंसिर अन्तिममा सकिने छ । त्यो बेला कार्यकाल लम्ब्याउने प्रस्ताव ल्याउन नैतिक संकट पर्नेछ ।

कृष्ण सिटौला

किन जरुरी छ कांग्रेसको रूपान्तरण ?

पार्टीमा कुनै सुधार र आशालाग्दो नेतृत्वलाई अगाडि नसारी चुनावमा गयो भने कांग्रेसले झट्का व्यहोर्ने निश्चित छ ।

कांग्रेसको श्यामश्वेत पुस्ताले अहिले भइरहेको परिवर्तनलाई महसुस गर्न सकेको छैन । उही पुरानो चुनावी घोषणा पत्र र तिनै थोत्रा उम्मेदवार अगाडि सारेर चुनावमा गयो भने कांग्रेसले राम्रो सवक सिक्नेछ ।

निर्वाचन आयोगमा दर्ता भएका सबै दलले बहुमत ल्याउने अधिकार राख्छन्, तर विद्यमान राजनीतिक शक्ति सन्तुलनको अवस्थामा कांग्रेस–एमालेजस्ता दलहरू कमजोर हुँदा स्वत: साना दल सत्ता निर्माणमा हावी हुनेछन् । र, निर्वाचनपछि बन्ने संसद पनि त्रिशंकु हुनेछ ।

त्यसपछि प्रधानमन्त्रीले प्रत्येक महिना संसदमा विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना हुनेछ । राजनीतिक अस्थिरताको नयाँ अध्याय शुरू हुनेछ ।

यहाँनेर प्रश्न उठ्छ, कांग्रेस–एमाले मिलेर सत्ता चलाउँदा पनि स्थिरता त भएको थिएन । सही हो, उनीहरूले स्थिरता दिन खोजे, तर असफल भए । कांग्रेस–एमाले गठबन्धनको असफलता नै भदौ २३–२४ को एउटा कारण हो ।

संसद्को पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने अस्वाभाविक कदमको मूल्य ती दलले चुकाइसकेका छन् । भविष्यमा त्यो धृष्टता शायदै उनीहरूले गर्नेछन् ।

विद्यमान निर्वाचन प्रणालीको खोटका कारण कुनै राजनीतिक दलले एकल बहुमत ल्याउने सम्भावना देखिँदैन । ‘चेक एन्ड ब्यालेन्स’ गर्नका लागि पनि कांग्रेस–एमालेजस्ता दल संसदमा बलियो भएर आउन जरुरी छ । तर, कांग्रेसको संस्थापन समाजमा भइरहेको बदलाव बुझ्न तयार छैन ।

नेतृत्वले नबुझे पनि दोस्रो तहका नेताहरूले हेक्का राखुन्– ०७९ सालको चुनावपछि बागमती लगायत नदीमा धेरै पानी बगिसकेको छ ।

पढ्नुहोस्, यो पनि :

कांग्रेसभित्र सामन्तवादको छटपटी र गगन पुस्ताको अग्निपरीक्षा

देउवाको ‘फोर्स एक्जिट’ले खोल्नेछ सम्भावनाको नयाँ ढोका

भ्रष्टाचारको पक्षमा हुंकार, गगनहरूको लाचारी र कांग्रेस सच्चिने फर्जी वाचा !

कांग्रेस बदल्ने गगन–विश्वप्रकाशको हुटहुटी र परिवर्तन रोक्न उद्यत 'श्यामश्वेत' पुस्ता

देउवाबाट यतिबेला देशले अपेक्षा गरेको अर्को सुझबुझपूर्ण कदम

salt training

कमेन्ट गर्नुहोस्