
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको शनिबारको पहिलो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्समाथि तीन विकेटको रोमाञ्चक जित हासिल गरेको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय ५० रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको लुम्बिनी लायन्सले भने १९.४ ओभरमा सात विकेट गुमाएर विजयलक्ष्य पूरा गर्यो ।
जितसँगै लुम्बिनी चार अंकसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । पाँचौँ खेल खेलेको लुम्बिनीको यो दोस्रो जित हो । तीन खेलमा भने लुम्बिनी पराजित भएको छ ।
अर्कोतिर, चौथो खेल खेलेको पोखरा एभेन्जर्सको यो तेस्रो हार हो । पोखरा एभेन्जर्सले हालसम्म एक खेलमात्र जित्न सकेको छ । दुई अंकसहित पोखरा तालिकाको सातौँ स्थानमा झरेको छ ।
लुम्बिनी लायन्सका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४० रन बनाए । उनले केवल ३६ बलमा दुई छक्का र तीन चौका प्रहार गरे ।
चौथो नम्बरमा क्रिज समाल्न आएका निरोसन डिकवेल्लाले पनि ३७ रन बनाए । विकेटकिपर ब्याट्सम्यान डिकवेल्लाले केवल २२ बलमा दुई छक्का र दुई चौका हिर्काए ।
रोहित र डिकवेल्लाले ५४ रनको साझेदारी गरे । लुम्बिनीले दुबै ओपनरलाई सस्तैमा गुमाएको थियो । डी’आर्ची सर्ट सात रनमा आउट भए । सुमित महर्जन भने खाता खोल्नुअघि नै पेभेलियन फर्किए ।
दिलीप नाथ पनि १० रनभन्दा अगाडि बढ्न सकेनन् । गुलबदिन नाइबले ११ बलमा दुई छक्काको मद्दतले १७ रन बनाउँदै पेभेलियन फर्किए ।
रुबेन ट्रम्पलम्यानले ६ बलमा एक छक्काको मद्दतल नौ रन बनाए । लुम्बिनीले अन्तिम ओभरमा जितका लागि १० रन आवश्यक थियो ।
त्यसपछि अन्तिम ओभरको पहिलो बलमा सन्दीप जोराले दुई रन बनाए । दोस्रो बलमा उनले चौका प्रहार गरे । तेस्रो बलमा रन लिन सकेनन् ।
तर, अन्तिम ओभरको चौथो बलमा आकर्षक चौका प्रहार गर्दै सन्दीप जोराले लुम्बिनीलाई महत्वपूर्ण जित दिलाए । सन्दीपले २२ बलमा एक छक्का र दुई चौकाको मद्दतले अविजित २५ रन बनाए ।
पोखराका बलर विपिन खत्री, म्याट टेलर र सागर ढकालले दुई–दुई विकेट लिए । जेम्स निसमले पनि एक विकेट हात पारे । लुम्बिनीले अतिरिक्त रुपमा ६ रन पायो ।
त्यसअघि, पोखराका लागि विकेटकिपर ब्याट्सम्यान एडम रोसिङ्टनले उत्कृष्ट अर्धशतकीय पाली खेलेका थिए । उनले टोलीका लागि ८१ रनको योगदान गरे ।
आक्रामक रुपमा प्रस्तुत भएका ओपनर ब्याट्सम्यान रोसिङ्टनले टोली अप्ठ्यारो स्थितिमा रहँदा केवल ६३ बलको सामना गरी पाँच छक्का र सात चौका पनि हिर्काए ।
रोसिङ्टन १९औँ ओभरको दोस्रो बलसम्म क्रिजमा टिकेका थिए । उनले अर्धशतक भने ५२ बलमा दुई छक्का र पाँच चौकाको मद्दतले पूरा गरेका थिए ।
रोसिङ्टनको अर्धशतक जारी सिजनको एनपीएलमा बनेको १८औँ अर्धशतक हो । उनले छैटौँ नम्बरका ब्याट्सम्यान जेम्स निसमसँग ९२ रनको साझेदारी गरे ।
जेम्स निसमले पनि टोलीका लागि अर्धशतकीय पाली खेले । उनले अविजित ५१ रनको योगदान गरे । अनुभवी खेलाडी निसमले केवल ३२ बलको सामना गरी तीन छक्का र तीन चौका हिर्काए ।
निसमले अन्तिम ओभरको अन्तिम ओभरको अन्तिम बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन् । उनको अर्धशतक जारी सिजनको एनपीएलमा बनेको १९औँ अर्धशतक हो ।
अन्य ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक रहेन । पोखरा एभेन्जर्सले ३३ रनको कुल स्कोरमै चार प्रभावशाली विकेट गुमाइसकेको थियो ।
ओपनर दिनेश खरेल ११ बलमा एक चौकाको मद्दतले सात रन बनाउँदै आउट भए । कप्तान कुशल भुर्तेल र सुमित बर्माले त खातासम्म खोल्न सकेनन् ।
तृतराज दास पनि एक रनभन्दा अगाडि बढ्न सकेनन् । किरण ठगुन्ना एक रनमा अविजित रहे । पोखराले अतिरिक्त रुपमा पनि नौ रन पायो ।
लुम्बिनी लायन्सका बलर शेर मल्ल र तिलक भण्डारीले दुई/दुई विकेट लिए । गुलबदिन नाइबले पनि एक विकेट हात पारे ।