
नेपाली कांग्रेसको १५ औं महाधिवेशनको विषयमा सहमति खोज्न शनिबार बसेको बैठक अघिल्ला बैठकजस्तै विना निष्कर्ष सकिएको छ ।
सभापति शेरबहादुर देउवाको भाडाको निवास धुम्बाराहीमा बसेको बैठक विना सहमति सकिएको बैठकमा सहभागी एक शीर्ष नेताले जानकारी दिए ।
बैठकमा आज पनि नेताहरूबीच विशेष र नियमित महाधिवेशनकै रस्साकस्सी देखियो । संस्थापन पक्षीय नेताहरू नियमित महाधिवेशन त्यो पनि आउँदो वैशाखमा गर्नुपर्ने अडानमा उभिए । विशेषगरी नेताहरू विमलेन्द्र निधि र कृष्ण सिटौलाले विशेष महाधिवेशन त परकै कुरा; नियमित महाधिवेशन पनि २१ फागुनको निर्वाचनअघि गर्न नसकिने धारणा राखे ।
सिटौलाले बैठकमा भनेको उदृत गर्दै एक नेताले भने, ‘घोषणापत्र नलिइकन निर्वाचनमा जाने हो, प्रचार समिति परिचालन समिति नचाहिने हो ? आपसमा भिडेर यी सबै कुराहरू परिचालित हुन्छन् ? अव्यावहारिक कुराको पछि लागेर हुन्छ ? महाधिवेशन वैशाखमा हुन्छ हामी ९१ जना एकठाउँ छौं ।’
दुई नेताले यो बीचमा सर्वप्रथम ११ माघमा राष्ट्रियसभा र २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन भएकाले पार्टी निर्वाचनमा होमिने कि महाधिवेशनमा भन्दै प्रश्न गरेका थिए ।
बैठकमा सहभागी ती नेताका अनुसार सिटौला र निधिले हरेक दिन आफूहरूको बहुमत सदस्य छलफल र बैठकमा बसेको र बैठकले बैशाखभन्दा अघि महाधिवेशन गर्न नसकिने निष्कर्ष निकाल्दै आएको पनि सुनाएका थिए ।
सहमतिका नाममा पुसमा विशेष वा नियमित जुनसुकै महाधिवेशन कार्यतालिका ल्याउने भए केन्द्रीय कार्यसमितिमा भोटिङ गरेर निर्णय गर्न पनि निधि र सिटौलाले चुनौती दिएको बैठकमा सहभागी अर्का एक नेताले बताए ।
‘सिटौला र निधिले पुसमा नियमित त के विशेष पनि सम्भव हुँदैन‚ महाधिवेशन गर्ने भए निर्वाचनलाई बाधा हुन्छ भनेर भन्नुभयो‚’ स्रोतले भन्यो‚ ‘प्रत्यक्ष- समानुपातिक उम्मेदवार छान्नुपर्छ । चुनाव प्रचारमा लाग्नुपर्छ । त्यसैले समय पुग्दैन, वैशाखमा गरौं भन्नुभयो।’
स्रोतका अनुसार निधि र सिटौलाले पुसमा विशेष महाधिवेशनको बहस गर्नै नमिल्ने समेत थपेका थिए । उनीहरूले पुसमा महाधिवेशनको निर्णय केन्द्रीय समितिबाट गर्ने भए भोटिङ गरौं भन्दै थपेका थिए, ‘हामी सबैको लगातार बैठक भएर निर्वाचनपश्चात् वैशाखमा गरौं भन्ने भएको छ। निर्णय प्रकृया भोटिङबाट गरौं भन्नु भयो र उहाँहरूले सहमति दिन सक्नुभएन ।’
जवाफमा सभापति शेरबहादुर देउवाले ठूलो समूहले पुसमा महाधिवेशन मागेको भन्दै के गर्न सकिन्छ भन्ने प्रश्न गरेका थिए । उनले मिलेर जान र विशेष महाधिवेशन भने गर्दै नगर्न पनि नेताहरूलाई सुझाव दिए ।
पढ्नुहोस् यो पनि- जटिल मोडमा कांग्रेस विवाद : कार्यबाहकले हार माने, नेताहरू पुनः ‘सिंह’कै शरणमा
मिलेर जान सके मंसिर‚पुस वा माघ जहिले गरे पनि नियमित महाधिवेशन गर्न देउवाले नेताहरूलाई निर्देशन दिएको स्रोतको दाबी छ ।
‘आज सभापतिज्यूले पुसमा नियमित महाधिवेशन गरौं भन्दै हुनुहुन्छ (गगन-विश्वसहितका नेताहरूले) तर‚ विशेष महाधिवेशन नगरौं । मंसिर, पुस, माघ जहिले गरे पनि नियमित महाधिवेशनको कुरा गरौं र मिलेर जानुपर्छ भन्नुभयो‚’ स्रोतले थप्यो ।
बैठकमा शेखर कोइराला‚ महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा देउवानिकट नेता रमेश लेखकले पनि पुसमा विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा मत राखेका थिए ।
स्रोतका थप्यो, ‘शेखरजी‚ गगनजी, विश्वजी र रमेशजीले पुसमा विशेष महाधिवेशन गर्ने बाटोमा जाँदा हुन्छ भन्नुभयो ।’
तर‚ संस्थापन पक्षले विशेष महाधिवेशन माग्नेहरूले हस्ताक्षर फिर्ता लिनुपर्ने पटक-पटक धारणा राख्यो । स्रोतका अनुसार बैठकमा महामन्त्रीद्वयलाई संस्थापन पक्षीय नेताहरूले महाधिवेशनका लागि भएको हस्ताक्षर फिर्ता लिन भनेका थिए । जवाफमा महामन्त्री थापाले भनेका थिए, ‘विशेष महाधिवेशनको प्रस्ताव र हस्ताक्षर फिर्ता लिने जिम्मा म लिन सक्दिनँ ।’
२३ र २४ भदौको जेनजी आन्दोलनपश्चात् कांग्रेसभित्र महाधिवेशनको रस्साकस्सी पेचिलो बन्दै गएको छ । सभापति देउवाले पार्टीको कार्यवाहक जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएका छन् ।
खड्काले भने देखिएका विवादलाई समाधान गराउन सकेका छैनन् । खड्काले पार्टीमा महाधिवेशनको रडाको मिलाउन नसकेपछि सिङ्गापुरबाट फर्किएर सभापति देउवा आफैंले विवाद समाधानको प्रयास थालेका छन् । यो बीचमा देउवाले बिहीबारबाट आफ्नै निवासमा कार्यवाहक सभापति खड्का, अर्का उपसभापति धनराज गुरुङ, नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखकसहितका नेताहरूसँग संवाद गर्दै आएका छन् । तर‚ संवादले निकास दिन सकेको छैन ।
यसैबीच, शनिबारको छलफलले पनि निष्कर्ष दिन नसकेपछि भोलि आइतबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक सारिएको ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार विज्ञप्ति जारी गर्दै आइतबारका लागि बोलाइएको सोमबार दिउँसो २ बजे बस्ने गरी स्थगन गरिएको जानकारी दिएका छन् ।