
वरिष्ठ पत्रकार तथा साहित्यकार कमल रिजालद्वारा लिखित रत्न नीतिकथा सँगालो भाग ५ र ६ नामक पुस्तक एकैसाथ प्रकाशित भएको छ । रत्न पुस्तक भण्डारद्वारा प्रकाशित पुस्तकमा मध्यमसाइजको २०/२० कथा समेटिएका छन् । तर कथाको साइज मध्यम भए पनि सार भने सबैको उत्तिकै उत्कृष्ट रहेको रिजालले बताए ।
रिजालका अनुसार पुस्तकमा एकाध कथा नीतिपरक इसपको (विदेशी) सार खिचेर लेखिएको भए पनि अन्य सबै कथा वेद, पुराण, उपनिषद तथा रामायण र महाभारतको सार खिचेर बालोपयोगी तरिकाले लेखिएका छन् ।
रिजाल भन्छन्, ‘पुस्तक खासगरी प्राथमिक र निम्नमाध्यमिक तहका विद्यार्थी भाइबहिनीहरूलाई नीतिपरक शिक्षा दिने उद्देश्यले लेखिएको भए पनि यसबाट सबै उमेर समूहका पाठकले हाम्रा प्राचीन बौद्धिक वैभवबारे केही न केही लाभ लिन सक्छन् ।’
बालबालिकालाई सानैदेखि नैतिक शिक्षाका पाठ दिन सके मुलुकको भविष्य निर्माणमा पक्कै केही सहयोग गर्ने रत्न पुस्तक भण्डारका प्रबन्ध निर्देशक गोविन्द श्रेष्ठले बताए । ‘आजको बालबालिकाको काँधमा मुलुकको भविष्य निहित हुन्छ । त्यसैले उनीहरूलाई सानैदेखि केही नैतिक शिक्षाका पाठ दिँदै जान सके मुलुकको भविष्य निर्माणमा पक्कै केही सहयोग गर्ला भन्ने ठानेर रत्न पुस्तक भण्डारले यस्ता पुस्तकहरू प्रकाशित गर्नेतर्फ पनि ध्यान दिँदै आएको हो ।’