
काठमाडौं विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्ट (KUSOM)ले १२ औं ट्राभल एन्ड टुरिज्म रिसर्च एसोसिएशन एशिया–प्यासिफिक च्याप्टर (TTRA APAC) वार्षिक सम्मेलन–२०२५ काठमाडौंमा आयोजना गरेको छ ।
शनिबारदेखि शुरू भएको सम्मेलन भोलि सोमबारसम्म चल्नेछ । एशिया–प्यासिफिक क्षेत्रमा पुनर्जननात्मक यात्रा तथा पर्यटन अनुसन्धानलाई मुख्य विषयवस्तु बनाइएको सम्मेलनमा नेपाल, हङकङ, जापान, भारत, संयुक्त राज्य अमेरिका, ताइवान, थाइल्यान्ड, संयुक्त अरब इमिरेट्स, चीन, मकाउ, भियतनाम, मलेसिया र ब्रुनाइका प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान संस्थान तथा उद्योगका प्रतिनिधिहरू सहभागी छन् ।
सम्मेलनमा कीनोट सम्बोधन, समानान्तर अनुसन्धान प्रस्तुतिहरू, विशिष्ट वक्ता सत्र, प्यानल डिस्कसन तथा अनुभवाधारित सिकाइ सत्र समावेश गरिनेछ ।
पुनर्जननात्मक पर्यटन, प्रविधि र नवप्रवर्तन, ग्लोबल साउथमा दिगो विकास तथा बदलिँदो पर्यटक व्यवहारजस्ता विषयलाई यस वर्ष विशेष प्राथमिकता दिइएको छ।
Prof. Xiang (Robert) Li, Dr. Ghana Shyam Gurung, Dr. Hera Oktadiana, Prof. Stroma Cole लगायत नेपाल तथा विदेशका विज्ञहरूले एशिया–प्यासिफिक क्षेत्रमा पुनर्जननात्मक सोच र अभ्यासको विस्तारबारे आफ्ना दृष्टिकोण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
सम्मेलनअघि ‘अनुसन्धानमा एआईको नैतिक उपयोग’ विषयक कार्यशाला र सम्मेलनपछि विशेष भ्रमण कार्यक्रम (पोस्ट–कन्फरेन्स टुर) आयोजना हुनेछ।
विशेष भ्रमणमा सहभागीहरूले नेपालका सम्पदा पुनर्जीवन परियोजना, समुदाय–आधारित पर्यटन गतिविधि तथा प्रकृति–आधारित अनुभवहरू अवलोकन गर्ने अवसर पाउनेछन् ।
सम्मेलनलाई विश्व वाणिज्य संगठन (WTO) चेयर्स प्रोग्राम, नेपाल पर्यटन बोर्ड (NTB), एस्पायर कलेज विराटनगर, लिटल एन्जल्स कलेज अफ म्यानेजमेन्ट, GATE, नेपाल कलेज अफ म्यानेजमेन्ट (NCM), नेपाल बैंक लिमिटेड, काठमाडौं मेरिएट होटल, वर्ल्डलिंक, ग्लेसियर एजुकेशनल फाउन्डेशनलगायत संस्थाहरूले सहयोग प्रदान गरेका छन् ।