०४ साउन २०८३, सोमबार
रुस-युक्रेन युद्ध अन्त्यको प्रयास

युद्ध अन्त्यका लागि युक्रेन अमेरिकासँगको वार्तामा, रुसद्वारा व्यापक बमबारी

मंसिर २१, २०८२
काठमाडौं
युद्ध अन्त्यका लागि युक्रेन अमेरिकासँगको वार्तामा, रुसद्वारा व्यापक बमबारी

युक्रेनका राष्ट्रपति भोलोमिमिर जलेन्स्कीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका शान्ति दूत स्टिभ विट्कफ तथा उनका ज्वाइँ जारेड कुशनरसँग भएको टेलिफोन संवाद ‘अत्यन्तै रचनात्मक’ भएको बताएका छन् ।

जलेन्स्कीका अनुसार उनीहरूले रुसले युक्रेनविरुद्धको युद्ध अन्त्य गर्ने कुनै सम्भावित सम्झौतामा कति हदसम्म प्रतिवद्ध रहन सक्छ भन्ने विषयमा छलफल गरेका थिए । उनले आफू अमेरिकासँग सहकार्य जारी राख्न दृढ रहेको बताए ।

मियामीमा अमेरिकी पक्षसँग शान्ति पहलका बारेमा तेस्रो दिनको वार्तामा सहभागी भइरहेका युक्रेनी अधिकारीहरू पनि सो संवादमा सहभागी भएका थिए ।

मस्कोले भने हालसम्म कुनै महत्वपूर्ण छूट दिएको देखिँदैन, र उसले युक्रेनमाथि व्यापक बमबारी जारी राखेको छ ।

‘साँचो शान्ति हासिल गर्न युक्रेन अमेरिकासँग निष्ठाका साथ काम गर्न प्रतिबद्ध छ,’ जलेन्स्कीले एक्समा लेखेका छन्, ‘हामीले धेरै विषय कभरेज गर्यौं र रक्तपात अन्त्य गर्ने तथा रुसले फेरि कुनै ठूलो आक्रमण गर्न नदिने संयन्त्रबारे महत्त्वपूर्ण बुँदामा छलफल गर्‍यौं ।’ 

रुसले रातभर युक्रेनमाथि थप हवाई तथा मिसाइल प्रहार गरेको बताइएको छ, जसप्रति युक्रेनका युरोपेली संघका सहयोगीहरूले कडा आलोचना गरेका छन् ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले सामाजिक सञ्जालमार्फत जलेन्स्कीसँग आफ्नो कुरा भएको जनाउँदै पूर्ण एकजुटता व्यक्त गरेका छन् ।

‘फ्रान्स सबै साझेदारसँग मिलेर तनाव घटाउने उपाय तथा युद्धविराम सुनिश्चित गर्न प्रतिबद्ध छ,’ म्याक्रोनले भनेका छन् ।

यसअघि म्याक्रोनले सोमबार लन्डनमा हुने बैठकमा जलेन्स्की, बेलायतका प्रधानमन्त्री सर कियर स्टार्मर तथा जर्मन चान्सलर फ्रेडरिक मर्जसँग सहभागी हुने पुष्टि गरेका थिए ।

उनीहरूले युद्धपछिको युक्रेनको सुरक्षा सुनिश्चित गर्नेबारे अमेरिकी तथा युक्रेनी अधिकारीबीच भइरहेको वार्ताबारे छलफल गर्नेछन् ।

दुई हप्ताअघि यी चार नेताहरूले युरोपेली शान्ति–सेना सम्बन्धी अवधारणाबारे भर्चुअल बैठक गरेका थिए । जसमा युद्धविराम लागू भएमा युक्रेनमा तैनाथ हुन सक्ने सम्भावनासहितका विषयमा कुरा भएको थियो ।

सर कियर स्टार्मरले पटक–पटक युक्रेनले आफ्नो भविष्य आफैं निर्धारण गर्नुपर्ने बताउँदै आएका छन् । उनको भनाइमा इच्छुक राष्ट्रहरूको शान्ति–सेनाले युक्रेनको दीर्घकालीन सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने यस्तो सेनाको विचार अस्वीकार गर्दै, युक्रेनमा प्रवेश गर्ने कुनै पनि विदेशी सेना वैध निशाना हुने चेतावनी दिएका छन् ।

युक्रेनी अधिकारीका अनुसार शुक्रबार राति रुसले ६५३ ड्रोन र ५१ मिसाइल प्रहार गर्‍यो ।

एक हमला कीभ दक्षिण–पश्चिमको फास्टिभस्थित एक महत्त्वपूर्ण रेल केन्द्रमा परेको बताइएको छ, जसले मुख्य स्टेशन भवन ध्वस्त पार्नुका साथै रेलका संरचनामा क्षति पुर्‍यायो ।

युक्रेनको ऊर्जा मन्त्रालयले रुसी आक्रमणले आठ प्रदेशका ऊर्जा संरचनामा हानी पुर्‍याउँदा केही स्थानमा विद्युत् आपूर्ति बाधित भएको जनाएको छ ।

रुसले आफ्नो आक्रमण सेनासम्बन्धी औद्योगिक स्थल, ऊर्जा तथा बन्दरगाह पूर्वाधारलाई लक्षित गरिएको दाबी गरेको छ ।

मस्कोमा भएको वार्ताले कुनै उपलब्धि नल्याएपछि अमेरिकन तथा युक्रेनी वार्ताकारहरूले रुसलाई ‘दीर्घकालीन शान्तिप्रतिको गम्भीर प्रतिबद्धता’ देखाउन आग्रह गरेका छन् । 

यता, फ्लोरिडामा युक्रेनी र अमेरिकी अधिकारीबीच युक्रेनलाई अमेरिकी–समर्थित शान्ति योजना स्वीकार गराउन गरिएका वार्ता तेस्रो दिनमा प्रवेश गरेका छन् ।

शुक्रबार सार्वजनिक गरिएको वक्तव्यमा विट्कफले युक्रेनका राष्ट्रिय सुरक्षा परिषदका सचिव रुसेम उमेरोवसँग दुई दिनका छलफल रचनात्मक भएको उल्लेख गरे ।

विट्कफ र उमेरोवबीच सुरक्षा व्यवस्थाको रूपरेखामा सहमति भएको र दीर्घकालीन शान्ति कायम राख्न आवश्यक प्रतिरोध क्षमताबारे विस्तृत रूपमा चर्चा भएको उल्लेख गरिएको छ, तर थप विवरण दिइएको छैन ।

युद्ध अन्त्य हुने सम्भावना रुसले तनाव घटाउने तथा हत्या–हिंसा रोक्ने कदम लिन कति तयार छ भन्नेमा निर्भर हुने वक्तव्यमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्