
मोरङको लेटाङ नगरपालिका-२ की १३ वर्षीया बालिका अंशु गौतमको वीभत्स हत्या प्रकरणमा प्रहरीले अन्तत: मुख्य आरोपीलाई पक्राउ गरेको छ । घरबाट स्कूलमा खेल्न जान भनेर हिँडेकी अंशुको हत्या गरेको आरोपमा उनका छिमेकी अन्दाजी ५० वर्षीय पदम अधिकारी पक्राउ परेका हुन् ।
अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार यो घटनामा सबैभन्दा शंकास्पद पक्ष आरोपी अधिकारीको ‘मुभमेन्ट’ देखिएको थियो । जंगलमा अंशुको क्षतविक्षत शव फेला परेको ठीक ९ दिनपछि अधिकारी एक्कासि गाउँ छोडेर भारत भागेका थिए । अनुसन्धानमा खटिएको प्रहरी टोली उनी फरार भएलगत्तै थप प्रमाण संकलनमा जुटेको थियो ।
गत कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र टाउको र शरीर छुट्टिएको तथा कुहिएको अवस्थामा अंशुको शव फेला परेको थियो । शव भेटिएको घटना सेलाउन नपाउँदै ९ औं दिनमा अधिकारी गाउँबाट बेपत्ता भएका थिए ।
छिमेकी नै यसरी एक्कासि भागेपछि प्रहरीले उनीमाथि निगरानी बढाएको थियो । प्रहरी स्रोतका अनुसार भारतमा लुकेर बसेको अवस्थामा अधिकारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को विशेष टोलीले भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याएको हो । अधिकारी एक महिनाभन्दा बढी समय भारतमा बसेका थिए ।
मोरङ प्रहरी प्रमुख, एसपी कवित कटुवालले भने, ‘शव भेटिएको केही दिनपछि उनी भारत गएका थिए, जसले शंकाको सुई उनीतिर सोझिएको थियो । अहिले हामीले उनलाई नियन्त्रणमा लिएर गहिरो अनुसन्धान गरिरहेका छौं ।’
असोज २१ गते दिउँसो घरबाट खेल्न जान्छु भन्दै निस्किएकी कक्षा ५ मा अध्ययनरत अंशु १८ दिनसम्म बेपत्ता थिइन् । उनी बेपत्ता भएपछि परिवारले खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए । गत कात्तिक ७ गते घरबाट साढे चार किलोमिटर टाढाको जंगलमा उनको शव भेटिएको थियो ।
टाउको र शरीर छुट्टिएको अवस्थामा भेटिएको शव नजिकै उनले लगाएका ट्राउजर, हाफपाइन्ट र चप्पल फुकालिएको अवस्थामा फेला परेको थियो । घटनास्थलको प्रकृतिले उनलाई बलात्कारपछि हत्या गरिएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
एसपी कटुवालले घटना के कसरी र किन भएको थियो भन्नेबारे आइतबार पत्रकार सम्मेलनमार्फत् विस्तृत जानकारी दिने बताएका छन् । ‘हत्याको कारण गहिरो छ, हामी आज नै पत्रकार सम्मेलन गरेर सबै तथ्य सार्वजनिक गर्छौं’, एसपी कटुवालले भने ।
पक्राउ परेका अधिकारी पेसाले खेतीकिसानी गर्छन् र अंशुका छिमेकी हुन् । जिल्ला प्रहरी कार्यालय मोरङ, कोशी प्रदेश प्रहरी कार्यालय र सीआईबीको टोलीले संयुक्त रूपमा अनुसन्धान गरेको थियो । घरबाट हराएकै दिन (असोज २१ गते) अंशुको हत्या भएको प्रहरी निष्कर्ष छ ।