
भारतका वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलले क्यानडाका अन्तर्राष्ट्रिय व्यापारमन्त्री मनिन्दर सिद्धूसँग द्विपक्षीय व्यापार र लगानी प्रवर्द्धनबारे छलफल गरेका छन्। गोयलले आगामी वर्ष क्यानडामा उच्चस्तरीय व्यापार तथा लगानी प्रतिनिधिमण्डल लैजाने घोषणा पनि गरे।
गोयलले सामाजिक सञ्जालमार्फत छलफल सार्थक भएको उल्लेख गर्दै भने, 'क्यानडासँग व्यापारिक सहकार्य विस्तार गर्ने विषयमा मन्त्री सिद्धूसँग उपयोगी संवाद भयो। CEPA (संपूर्ण आर्थिक साझेदारी सम्झौता) वार्ता शुरूआतका लागि आवश्यक प्रारम्भिक तयारी, दृष्टिकोण र उद्देश्यबारे व्यापक छलफल गरियो। साथै, नयाँ वर्षमा उच्चस्तरीय व्यापार तथा लगानी प्रतिनिधिमण्डल क्यानडा लैजाने सहमति पनि भयो।'
वाणिज्य तथा उद्योग मन्त्रालयका अनुसार २०२४ मा दुवै देशबीच सामान तथा सेवाको कुल व्यापार २३.६६ अर्ब अमेरिकी डलर पुगेको छ। यसमध्ये वस्तु व्यापार झण्डै ८.९८ अर्ब डलर रहेको छ, जुन अघिल्लो वर्षभन्दा करिब १० प्रतिशत बढी हो।
नोभेम्बर २४ मा नयाँ दिल्लीमा आयोजित इन्डो–क्यानेडियन व्यवसायिक चेम्बरलाई सम्बोधन गर्दै गोयलले क्यानडासँग महत्वपूर्ण खनिज, खानी प्रविधि, स्वच्छ ऊर्जा, आणविक ऊर्जा र आपूर्ति सञ्जाल विविधीकरणजस्ता क्षेत्रमा साझेदारीको ठूलो सम्भावना रहेको बताए।
उनका अनुसार कृत्रिम बुद्धिमत्ता, क्वान्टम कम्प्युटिङ, मेसिन लर्निङदेखि नेक्स्ट–जेनेरेशन डाटा सेन्टरसम्मका उद्योन्मुख प्रविधिमा भारत सक्षम छ, जसलाई ठूलो संख्यामा STEM स्नातक उत्पादनले थप मजबुत बनाएको छ।
गोयलले भारत र क्यानडा ‘प्राकृतिक साझेदार’ भएको बताउँदै दुवै देशका उद्योग–व्यवसायका लागि परस्पर लाभदायक अवसरहरू बढिरहेको उल्लेख गरे।
क्यानडाका मन्त्रीको भारत भ्रमणपछि सहकार्य तीव्र
यसअघि क्यानडाका निर्यात प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय व्यापार मन्त्री मनिन्दर सिद्धू २०२५ नोभेम्बर ११ देखि १४ सम्म भारतको औपचारिक भ्रमणमा आएका थिए। यो भ्रमण जी सेभेन बैठकका क्रममा दुवै देशका प्रधानमन्त्रीबीच भएको भेट र अक्टोबर १३ मा जारी भएको विदेशमन्त्रीस्तरीय संयुक्त वक्तव्यपछि भएको हो, जसले व्यापारलाई आर्थिक साझेदारीको प्रमुख आधारका रूपमा पहिचान गरेको थियो।
भ्रमणका क्रममा दुवै मन्त्रीहरूले व्यापार तथा लगानीमाथि ७औं ‘मन्त्रिस्तरीय संवाद (MDTI)’ सम्पन्न गरेका थिए। सो क्रममा क्यानडाले भारत–क्यानडा आर्थिक साझेदारीको निरन्तरता र मजबुती पुनः पुष्टि गर्दै परस्पर सम्मान, निरन्तर संवाद र अग्रदृष्टि भएका पहलमार्फत सहकार्य बढाउने प्रतिबद्धता जनाएको थियो ।