
रूपन्देहीमा पछिल्लो चार वर्षमा ठूलो लगानीका चारवटा पाँचतारे होटल सञ्चालनमा आएका छन् ।
तिलोत्तमास्थित टाइगर प्यालेस बाई सोल्टी, भैरहवाको बुद्धचोकमा सिद्धार्थ भिलासा, लुम्बिनीमा लुम्बिनी हेरिटेज र बुटवलमा हायात प्यालेस होटलले सेवा दिन शुरू गरेका हुन् ।
मुख्यगरी भारतीय पर्यटक वृद्धि हुने अपेक्षासहित निजी क्षेत्रले रूपन्देहीमा पर्यटन क्षेत्रमा ठूलो लगानी भएको हो । यस क्षेत्रमा लगानी प्रवाह तीव्र हुँदै जाँदा उपत्यकाबाहिर लग्जरियस होटलको रूपमा ‘फाइभ स्टर’को लहर आएको छ ।
पाँच तारे होटलमा इन्टरनेसनल ब्रान्ड साझेदारी र व्यवस्थापन गर्न भित्रिएका छन् । होटल स्याफ्रोन सिकेको लगानीमा निर्माण भएको होटलमा व्यवस्थापन र सञ्चालनको जिम्मा वर्ल्ड वाइड चर्चित ब्रान्ड हायात प्यालेस छ ।

लुम्बिनी हेरिटेजमा चेन ब्रान्डमा स्थापित क्राउन प्लाजा भित्रिएको छ । त्यस्तैगरी, टाइगर प्यालेसको स्वामित्व लिएर एक वर्षमै हिमालय टाइगर इन्भेस्टमेन्टले सोल्टीलाई दिएको छ । कञ्चनपुरदेखि झापासम्म होटल फैलाएको सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीले भने भैरहवामा आफ्नै व्यवस्थापनमा सिद्धार्थ भिलासा सञ्चालनमा ल्याएको छ ।

लुम्बिनी प्रदेशको बाँकेको नेपालगञ्जमा सोल्टी वेस्टेन्ड प्रिमियम र कोहलपुरमा सेन्ट्रल प्लाजा पनि सञ्चालनमा छन् । जिल्लामा चारतारे होटल एक दर्जन छन् ।

अहिले एउटै फाइभ स्टार होटलमा झण्डै ६ अर्ब रूपैयाँ लगानी हुन् थालेको छ । हायात र क्राउन प्लाजा रूपन्देहीमा प्रवेशपछि सुस्ताएको पर्यटन क्षेत्रलाई चलायमान गराउने अपेक्षा पर्यटन व्यवसायीको छ ।
लगानीको कम जोखिम र इन्टरनेसनल ब्रान्डको नाममा पनि पर्यटक आउने भएकाले ‘चेन’ होटललाई दिइएको हायात प्यालेस बुटवलका सञ्चालक चुन्नुप्रसाद पौडेल बताउँछन् ।
अन्तर्राष्ट्रिय ‘चेन’का कारण कुनै एउटा होटलमा मात्र व्यापारमा सुधार नभई पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने पौडेलको भनाइ छ । काठमाडौंमा उल्लेख्य उपस्थिति रहेको ‘चेन’ उपत्यकाबाहिरका होटलमा पनि जोडिन थालेका हुन् ।

‘फाइभ स्टार’ सँगै जिल्लामा पर्यटकले ठूलो खर्च गर्ने पर्यटकलक्षित तीन र चार तारे होटल पनि निरन्तर खुलिरहेका छन् । ठूलो अपेक्षासहित भैरहवामा निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अपेक्षाकृत रूपमा चलेको छैन ।
लुम्बिनी आउने पर्यटकको संख्यामा पनि राम्रो सुधार हुन सकेको छैन । तर, यस क्षेत्रमा खर्चालु पर्यटकलक्षित होटल खोल्ने क्रम निरन्तर बढिरहेको छ ।
सम्भवत: काठमाडौंपछि रूपन्देहीमा अहिले फाइभ, फोर र थ्री स्टार होटल सञ्चालनको लहर देखिन्छ । रूपन्देहीमा पर्यटन सेवाका पूर्वाधारमा ठूलो (अर्बाैं) लगानी भइरहेको छ । लुम्बिनी हेरिटेजका सञ्चालक अनिलप्रसाद श्रेष्ठले रुपन्देही स्टार होटलको ‘हब’का रूपमा विकास हुँदै गएको बताए ।

‘बुटवल, भैरहवा र लुम्बिनीले होटल क्षेत्रमा नयाँ ‘भाइब्रेट’ दिँदैछ,’ श्रेष्ठ भन्छन्, ‘भैरहवाको इन्टरनेसनल विमानस्थल नियमित चलेको खण्डमा रुपन्देही पर्यटन र उद्योगको हब हो । अबको दुई/तीन वर्षमा ३ वटा फाइभस्टार होटल थपिँदै छन् । यसले काठमाडौंपछि लगानीको केन्द्र रूपन्देही बनेको देखिन्छ ।’
होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रूपन्देहीको तथ्यांकअनुसार जिल्लामा जग्गाबाहेक ‘स्टार लेबल’का होटलमा भएको लगानी ६० अर्बभन्दा माथि पुगेको छ, जसमा पर्यटकलक्षित थ्री, फोर र फाइभ स्टार होटलको संख्या एक सयको हाराहारीमा छन् ।
‘पर्यटकलाई वेलकम गर्न जिल्लामा पर्याप्त होटल तयार छन्,’ होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ, रूपन्देहीका अध्यक्ष माधवकुमार खनाल भन्छन्, ‘अहिले जिल्लाका होटलहरूको अकुपेन्सी पुग/नपुग ४५ प्रतिशत हाराहारीमा मात्र छ । पर्यटक स्तरका होटलले दैनिक करिब १५ हजारलाई सेवा दिन सक्ने क्षमता राख्छन् ।’
‘भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बुटवल, भैरहवा र लुम्बिनीमा पर्यटकको संख्या ह्वात्तै घटेर ३० मा झरेको छ । यो संख्या निकै कम हो । लुम्बिनी क्षेत्रमा मात्र होइन, देशभर अहिलेको साझा समस्या हो यो,’ अध्यक्ष खनालले थपे ।

भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने तयारीसँगै पछिल्ला वर्षमा थुप्रै लगानीकर्ताले ठूलो रकम होटल/व्यवसायमा लगानी गरेका थिए ।
लुम्बिनी प्रदेशमा आन्तरिक र बाह्य पर्यटक तान्न सक्ने पर्याप्त गन्तव्य छन् । तर, विमानस्थल अपेक्षाकृत रूपमा चल्न नसक्दा पर्यटन क्षेत्रमा भएको अर्बौं लगानी जोखिममा परेको छ ।
‘विशेष गरी भारतको उत्तरप्रदेश र बिहारका लाखौं नागरिक नेपाल भ्रमणमा आउने गर्छन् । राम्रो वातावरण र आतिथ्यता दिन सक्दा रूपन्देहीसहित लुम्बिनी प्रदेशलाई पर्यटक पर्याप्त हुन्छन्,’ सिद्धार्थ होटल एसोसियसन (सान) का अध्यक्ष सीपी श्रेष्ठ भन्छन्, ‘भारतीयलाई राम्रो आतिथ्यता र गौतबुद्ध विमानस्थल चलेको खण्डमा बुद्धिस्ट राष्ट्रबाट लुम्बिनी दर्शन गर्न आउने पर्यटकको सम्भावना देखेर अझै पनि निरन्तर लगानी भइरहेको छ ।’

सन् २०२४ को नोभेम्बरमा ८७ हजार ७४० पर्यटक आएकोमा सन् २०२५ को नोभेम्बरमा ८२ हजार मात्र पर्यटक लुम्बिनी आएका छन् । नोभेम्बरलाई लुम्बिनीमा बढी पर्यटक आउने महिना मानिन्छ ।
सन् २०२५ को जनवरीदेखि नोभेम्बरसम्म भारतीय २ लाख ३७ हजार ८१५, आन्तरिक ६ लाख ४० हजार २७९, पासपोर्टधारी (तेस्रो मुलुकका) १ लाख ५ हजार ७७९ जना लुम्बिनी घुमेको लुम्बिनी विकास कोषको तथ्यांकले देखाउँछ ।
लुम्बिनी आउने पर्यटकको बसाइ पनि छोटो छ । धेरै त लुम्बिनी आउने र तुरुन्तै फर्किने गरे पनि पर्यटकको बसाइ लम्ब्याउने योजना लुम्बिनी विकास कोष र पर्यटन व्यवसायीले बनाउन सकेका छैनन् ।
ठूला होटलहरूले पर्यटकलाई कोठामा राख्नेबाहेक सभा, सम्मेलन, विभिन्न उत्सव समेत गर्ने गरेका छन्, जसबाट आम्दानीमा केही राहत भइरहेको छ ।
भविष्यप्रति आशावादी भएर लगानी गरिए पनि पछिल्लो समयमा भने होटलहरूको प्रतिस्पर्धाका कारण व्यवसाय टिकाइराख्न कठिन परेको लुम्बिनीका होटल व्यवसायी गोविन्द ज्ञवाली बताउँछन् ।
डेढ दशकअघिसम्म जिल्लामा स्तरीय होटलको नाम लिनुपर्दा तीन/चारवटाको मात्र नाम लिइन्थ्यो । तर, अन्तर्राष्ट्रिय विमानस्थल बन्ने पक्का भएपछि लुम्बिनी र भैरहवा क्षेत्रमा पर्यटकीय होटल खोल्ने लहर नै चल्यो । सेवा सुविधा थप गर्न पनि होडबाजी चल्यो । अहिले बुटवल–भैरहवा सिक्स लेन र भैरहवा–लुम्बिनी चार लेन सडक होटलले भरिभराउ रहेको ज्ञवालीको भनाइ छ ।
दीर्घकालमा घाटा व्यहोर्नुपर्ने चिन्तासहित अहिले होटल व्यवसायीहरू सेवामा विविधतामा ल्याउन प्रयासरत छन् । तर, त्यसमा सरकारी पहल पर्याप्त छैन । पर्यटकलाई भैरहवा–लुम्बिनी भ्रमणका लागि प्रोत्साहित गर्न ‘क्यासिनो हब’ वैवाहिक समारोह केन्द्र र मनोरञ्जनात्मक स्थलका रूपमा विकास गर्ने प्रयास भएको छ । अहिले रुपन्देहीको पर्यटनमा पछिल्लो नयाँ कार्यक्रम थपिएका छन् । मार्केटिङ, कर्पोरेट बैठकसँगै गोष्ठी र सेमिनारका लागि मात्र नभई ‘डेस्टिनेसन वेडिङ’ लाई जोड दिएका छन् । भारतीयहरूले विशेषगरी यस क्षेत्रका ठूला होटलमा विवाह गर्न थालेका छन् ।