२८ असार २०८३, आइतबार
लखनपुर आयुर्वेद अस्पतालमा गोलमाल

कर्मचारी नियुक्तिमा झेल : ३३ अंकलाई ४५ बनाउन उत्तरपुस्तिका हेरफेर, फेल हुनेलाई पास गराइयो

मंसिर २४, २०८२
विराटनगर
कर्मचारी नियुक्तिमा झेल : ३३ अंकलाई ४५ बनाउन उत्तरपुस्तिका हेरफेर, फेल हुनेलाई पास गराइयो

झापाको लखनपुरस्थित प्रादेशिक आयुर्वेद अस्पतालमा पदपूर्ति प्रक्रियामै ‘सेटिङ’ र व्यापक अनियमितता भएको पाइएको छ। कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयको उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन र सार्वजनिक भएका अडियो–भिडियो प्रमाणले असल विद्यार्थीलाई फेल र फेल हुनेलाई पास गराइएको तथ्य सार्वजनिक भएका हुन् ।

परीक्षा सञ्चालनदेखि नतिजा बनाउनेसम्मका दुई दर्जनभन्दा बढी बिन्दुमा भएको हेरफेर, पास–फेल उल्ट्याउने खेल, नक्कली उत्तरपुस्तिका खडा गर्नेजस्ता काण्डमा अस्पतालका निमित्त निर्देशक डा. सिद्धार्थ कुमार ठाकुरको प्रत्यक्ष संलग्नता देखिएको छानबिनले देखाएको हो । तर, उनीविरुद्ध अहिलेसम्म कुनै कारबाही भएको छैन। 

यसरी गरियो गोलमाल
अस्पतालले २०८१ पुस ११ गते विभिन्न पदका लागि विज्ञापन आह्वान गरेको थियो भने माघमा परीक्षा गराइएको थियो। रेडियोग्राफर पदको नतिजामा सबैभन्दा धेरै गोलमाल गरिएको पाइएको छ। रेडियोग्राफर पदका परीक्षार्थी रामप्रकाश यादवले लिखित परीक्षामा शुरूको मूल्यांकनअनुसार ३३.२ अंक मात्र प्राप्त गरेका थिए। 

उनी फेल हुने निश्चित थियो। तर, अस्पतालका निमित्त निर्देशक डा. ठाकुरको योजनामा उनको उत्तरपुस्तिका नै परिवर्तन गरी (नक्कली उत्तरपुस्तिका खडा गरी) ३३.२ अंकलाई बढाएर ४५.४ पुर्‍याइएको पाइएको हो।

स्रोतका अनुसार, सो पदमा साधना श्रेष्ठ नाम गरेकी परीक्षार्थीले उत्कृष्ट अंक ल्याएर नाम निकालेकी थिइन्। तर, यादवलाई भने पुन: परीक्षा लेख्न लगाइएको स्रोतले बतायो। यादवलाई गत फागुनमा नियुक्ति पत्र दिइएको थियो।

बाहिरका व्यक्तिलाई गोप्य जिम्मेवारी 
अनियमितताको शृङ्खला यतिमा मात्र सीमित छैन। स्टाफ नर्स पदकी परीक्षार्थी सरिता खड्कालाई अन्तर्वार्ताका क्रममा परीक्षा समितिका सदस्य सचिव आवेकशार सिग्देलले १४ (चौध) नम्बर दिएका थिए। सरिता नातामा सदस्य सचिव सिग्देलकी भान्जी बुहारी पर्ने खुल्न आएको छ। सिग्देलले भने आफूले १४ अंक मिस्टेकले दिएकाले आफैं काटेर १० नम्बर कायम गरेको बताए । परीक्षा समितिका सबैको हस्ताक्षर गरेर निर्णयसमेत गरेको उनको भनाइ छ । 

छानबिन समितिको प्रतिवेदनअनुसार परीक्षाको नतिजा तयार पार्ने र कम्प्युटरमा काम गर्ने अति गोप्य जिम्मेवारी अस्पतालका कर्मचारीलाई नदिई बाहिरका व्यक्तिलाई दिइएको थियो। गौरादह नगरपालिका–९ स्थित बैगुनधुरा आयुर्वेद औषधालयमा कार्यरत कविराज वेदप्रकाश शर्मा (ढुंगाना)लाई नतिजा तयार पार्न खटाइएको थियो। 

डा. ठाकुरले आफ्नो ‘विश्वासपात्र’ र विगत १० वर्षदेखि क्लिनिकमा सँगै काम गर्ने वेद प्रकाशलाई बोलाएको स्रोत बताउँछ। ‘कम्प्युटरमा काम गर्न भनेर बोलाइएपछि मैले काम गरेको हुँ,’ उनले भने। वेद प्रकाशको दमकमा क्लिनिक छ। त्यही क्लिनिकमा डा. ठाकुर १० वर्षदेखि काम गर्दै आएका छन्।

डा. ठाकुर सङ्घका कर्मचारी हुन्। उनलाई प्रदेश सरकारले कारबाहीसमेत गर्न सकेको छैन। वेदप्रकाश स्थानीय तहमा कार्यरत कर्मचारी भए पनि उनले नै प्रादेशिक अस्पतालको प्रशासनिक काम गर्ने गरेको आरोप लाग्ने गरेको छ। दैनिकजसो नै उनी त्यहाँ जाने गर्छन्। उनले भने गलत प्रचार गरिएको दाबी गरे।

कसरी भयो भण्डाफोर ?
यो ‘सेटिङ’को भण्डाफोर आन्तरिक प्रतिशोधका कारण भएको हो। अस्पतालमा कार्यरत पाँचौँ तहका करार कर्मचारी दिपेश राजवंशीलाई हटाएर सातौँ तहका खगेन्द्र पौडेललाई ल्याइएपछि दिपेशले आफूसँग रहेको अडियो र भिडियो प्रमाण मन्त्रालयमा बुझाएका थिए। त्यसपछि छानबिन समिति बनाइएको थियो।

प्राप्त अडियो रेकर्डमा परीक्षाको उत्तरपुस्तिका परिवर्तन गर्न दबाब दिँदै एक व्यक्तिले ‘तिमी फस्दैनौं, तिम्रो कहीँ सही (हस्ताक्षर) हुँदैन, फसे हाकिम (डा. ठाकुर), अविकेशर र मन्त्रालयका मान्छे फस्ने हुन् भन्दै कर्मचारीलाई आश्वस्त पार्न खोजेको सुनिन्छ’ प्रतिवेदनमा भनिएको छ।

छानबिन समितिको सिफारिस र फाइल होल्ड
शाखा अधिकृत जानुका न्यौपाने नेतृत्वको छानबिन समितिले डा. सिद्धार्थकुमार ठाकुरलाई कारबाही गर्न, परीक्षा रद्द गर्न र उनलाई जिम्मेवारीबाट हटाउन सिफारिस गरेको छ। तर, कारबाही भएको छैन ।

मन्त्रालयले डा. ठाकुरलाई प्रमुखबाट हटाएर नवौँ तहका रविन्द्र निरौलालाई कार्यालय प्रमुख बनाएर पठाउने निर्णयसमेत गरेको थियो। रविन्द्रसहित १० जना कार्यालय प्रमुखको सरुवा र पदस्थापनाको फाइल तयार भए पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उक्त फाइल ‘होल्ड’ गरेर राखेको छ।

नियुक्ति दिने कार्यालय प्रमुखलाई उन्मुक्ति दिएर यादवलाई गत कात्तिकदेखि हटाइएको छ। गत शुक्रवार मन्त्रीस्तरीय निर्णयबाट १० जना कार्यालय प्रमुखको सरुवा गर्न सिफारिस गरिएको थियो। कार्यालय प्रमुखको सरुवा भने मुख्यमन्त्री कार्यालयले गर्ने गरेको छ। प्रमुख सचिव नभएका कारण कर्मचारी सरुवाको फाइल होल्ड भएको निमित्त प्रमुख सचिव राजुप्रसाद गुरागाईले बताए। ‘प्रमुख सचिव बिहीबार आउनुहुन्छ होला,’ उनले भने ‘त्यसपछि यो प्रक्रियामा अगाडि बढ्छ।’


 

salt training

कमेन्ट गर्नुहोस्