
विश्व क्रिकेटमा बेला–बखत अनौठा घटना हुन्छन् । यस्तै एउटा अनौठो घटना भारतीय क्रिकेटमा भएको छ ।
भारतमा केही खेलाडीले आफ्नै टोलीका प्रमुख प्रशिक्षकलाई मरणासन्न अवस्थामा पुग्नेगरी कुटपिट गरेका छन् ।
यो घटना भारतस्थित पुडुचेरी क्रिकेट संघको हो । स्थानीय तीन क्रिकेट खेलाडीले सोमबार पुडुचेरी यू–१९ टोलीका प्रमुख प्रशिक्षकमाथि कुटपिट गरेका हुन् ।
खेलाडीको कुटपिटबाट नराम्ररी घाइते भएका प्रमुख प्रशिक्षकको टाउकोमा २० वटा टाँका लगाइएको समाचारमा जनाइएको छ ।
खेलाडीको कुटपिटबाट प्रमुख प्रशिक्षकको काँध पनि भाँचिएको छ । यो अप्रिय घटनाको विषयमा स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खेलाडीको कुटपिटबाट घाइते हुने प्रमुख प्रशिक्षकको नाम एस. वेंकटरमन भएको बताइएको छ । उनको हाल स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
भारतको प्रतिष्ठित घरेलु प्रतियोगिता मुश्ताक अलि ट्रफीका लागि घोषित टोलीमा आफ्नो नाम नपरेपछि ती खेलाडीले प्रमुख प्रशिक्षकमाथि आक्रमण गरेका थिए ।
टोलीमा आफ्नो नाम नपरेपछि खेलाडीहरू आक्रोशित बनेका थिए । ती खेलाडीले प्रमुख प्रशिक्षककै कारण आफूहरूले टोलीमा स्थान नपाएको आरोप लगाउँदै आएका थिए ।
समाचारमा जनाइए अनुसार, त्यसैको बदला लिन तीन जना खेलाडीले प्रमुख प्रशिक्षक वेंकटरमनमाथि आक्रमण गरेका थिए ।
प्रमुख प्रशिक्षकमाथि आक्रमण गर्ने खेलाडीको नाम कार्तिकेयन जयासुन्दरम, ए. अरविन्दराज र एस. सन्तोष कुमारन भएको बताइएको छ ।
त्यसमध्ये कार्तिकेयन सिनियर खेलाडी हुन् । ए. अरविन्दराज र एस. सन्तोष कुमारन भने प्रमथ श्रेणीका खेलाडी हुन् ।
कुटपिटबाट गम्भीर भएका प्रमुख प्रशिक्षकले पुडुचेरी क्रिकेटर्स फोरमका सचिव जी. चन्द्रनको पनि आक्रमणमा संलग्नता रहेको आरोप लगाएका छन् ।