११ साउन २०८३, सोमबार
एकता र विभाजन

तानातानमा माओवादी कार्यकर्ता: जनार्दनले छाड्दा लुम्बिनीमा नेकपालाई कति क्षति ?

मंसिर २५, २०८२
बुटवल
तानातानमा माओवादी कार्यकर्ता: जनार्दनले छाड्दा लुम्बिनीमा नेकपालाई कति क्षति ?

लुम्बिनी प्रदेशलाई तत्कालीन नेकपा माओवादीको उद्गम थलो तथा आधार क्षेत्रका रूपमा चिनिन्छ । देशभर माओवादी कमजोर भइसक्दा पनि रोल्पा, रुकुम पूर्व लगायत जिल्लामा माओवादी धारका पार्टीको प्रभाव अझै घटिसकेको छैन ।

तर, पछिल्लोपटक माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच एकता भएपछि पार्टीका तत्कालीन उपमहासचिव तथा प्रभावशाली नेता जनार्दन शर्माले अलग्गै बाटो रोजेका छन् ।

जनार्दन छुट्टै पार्टी बनाएर अगाडि बढेपछि लुम्बिनीमा नेता–कार्यकर्ताको तानातान शुरू भएको छ ।

माओवादी र एस एकीकरण गरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निर्माण हुँदा शर्माले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका छन् । उनको पार्टीमा कुनै बेला माओवादी उपाध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि जोडिएका छन् ।

जनार्दनले प्रचण्डको साथ छाड्दा कर्णालीसँगै लुम्बिनी प्रदेशमा पनि पार्टीका नेता/कार्यकर्ता अन्योलमा देखिन्छन् । जनयुद्धका बेला अधिकांश समय लुम्बिनी प्रदेशका जिल्लामा बिताएका शर्मा साविक माओवादी केन्द्रमा रहँदा शक्तिशाली मानिए पनि आधार क्षेत्रमै उनको पक्षमा नेता/कार्यकर्ता खासै खुलेका छैनन् ।

शर्माको गृह जिल्ला रुकुमपश्चिम (कर्णाली प्रदेश)मा केही प्रभाव देखिए पनि लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा शर्माको पक्षमा खासै कार्यकर्ता खुलेका छैनन् ।

लुम्बिनीमा शर्मालाई रुपन्देहीबाट प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्री, यज्ञ पोखरेललगायत ५ जना केन्द्रीय सदस्यले साथ दिएका छन् । दाङबाट अहिलेका राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्मा, नारायणी शर्मा, नुमकान्त न्यौपाने लगायतका नेता प्रलोपामा खुलेका छन् ।

त्यस्तै, बर्दियाबाट तिलकराम शर्मा, बाँकेबाट कृष्ण केसी (नमूना), नवलपरासीबाट सीता पौडेल र गोपी ज्ञवाली जनार्दनको पक्षमा देखिएका छन् ।

अर्घाखाँचीबाट कर्ण भट्टराई, रोल्पाबाट मीनबहादुर मगर ‘विकल्प’ पनि प्रलोपामा जोडिएका छन् । प्रलोपाका नेता वामदेव क्षेत्रीले तत्कालीन माओवादी लुम्बिनी प्रदेशका ५० जना नेता आफूहरूसँग जोडिएको दाबी गरे ।

‘हामी माओवादीका नेता ल्याउने अभियानमा होइनौं,’ क्षेत्रीले लोकान्तरसँग भने, ‘तत्कालीन माओवादीका नेताहरूलाई आउनुस् भनेका छैनौं । आउन खोज्नेलाई नआउनुस् पनि भन्दैनौं । हामी नयाँ हौं । नयाँ योजना र जेनजी पुस्तालाई जोडेर अघि बढ्दै छौं । भ्रष्टाचार र अनेक काण्डमा मुछिएका नेतालाई ल्याउनु पनि छैन ।’

नेता क्षेत्रीले थपे, ‘हामीसँग बाबुराम भट्टराई, सन्तोष परियार र जेनजी युवा उत्सव भट्टराईको टीम पनि जोडिएको छ । पुस १५ गतेभित्र रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी र अर्घाखाँचीको जिल्ला टीम बनिसक्छ । त्यसपछि अरू जिल्ला समिति पनि बन्दै जानेछन् । चुनावसम्म पार्टीले एउटा राम्रो प्रभाव छाडिसक्छ । हामीमा पुरानो माओवादीको गन्ध भेटिँदैन ।’

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये रुकुमपूर्व र रोल्पा तत्कालीन माओवादीले २०६४ देखि लगातार चुनाव जित्दै आएका जिल्ला हुन् । त्यस्तैगरी, दाङ, बाँके र बर्दिया पनि माओवादीको संगठन भएका जिल्लामा पर्छन् ।

यता नेकपाका नेताहरू भने जनार्दनको पक्षमा लागेका नेताहरूको जनाधार नरहेको दाबी गर्छन् ।

‘जनार्दनको पार्टीमा लागेका माओवादी नेताहरूको जनाधार छैन,’ एकताअघिको माओवादीका प्रदेश अध्यक्ष सुदर्शन बरालले लोकान्तरसँग भने, ‘जनार्दनले पार्टी गठन गर्दा हामीलाई खासै क्षति छैन । हामी एकतापछि बलियो बनेका छौं ।’

बरालले थपे, ‘उता लागेका साथीहरू पनि फेरि पछुतो मानेर पार्टीमै फर्किनुहुन्छ । लुम्बिनी प्रदेशमा नेकपालाई क्षति छैन’, प्रदेशका पूर्वमन्त्री समेत रहेका नेता बरालले थपे ।

लुम्बिनी प्रदेशमा नेकपाका प्रभावशाली नेताहरू छन । वर्षमान पुन, ओनसरी घर्ती, चक्रपाणि खनाल, पूर्णबहादुर घर्ती, कृष्णबहादुर महरा, सोमप्रसाद पाण्डे, सुदर्शन बराल यसै प्रदेशका नेताहरू हुन् ।

लुम्बिनी प्रदेशमा प्रतिनिधिसभातर्फ २६ र प्रदेशतर्फ ५२ निर्वाचन क्षेत्र छन् । लुम्बिनी प्रदेशसभामा एकजना सांसद (कृष्ण केसी) जनार्दनको प्रलोपामा लाग्ने बताइए पनि उनी खुलेका छैनन् ।

त्यस्तै, नेकपा बनेपछि नेकपा एसकी सांसद भगवती अधिकारी थपिँदा ८७ सदस्यीय प्रदेशसभामा नेकपाका सांसद १२ जना पुगेका छन् ।

‘नेता कार्यकर्ताहरू हेरेर होइन, आउँदो निर्वाचन र त्यसपछिको परिणामले महत्त्वपूर्ण प्रक्षेपण गर्छ,’ प्रलोपाका नेता यज्ञ पोखरेल भन्छन्, ‘अझै पनि हामी प्रभावकारी अभियानमा लागिसकेका छैनौं । सबैजसो पुराना पार्टीप्रति नागरिकमा निराशा छाएको छ । हामी नयाँ हौं । नागरिकका भावना र समय तथा परिस्थितिअनुसार चल्ने गरी अघि बढ्ने छौं ।’

नेकपा रोल्पाका नेता रेशम पुनले जनार्दनको पार्टीप्रति जिल्लामा कुनै आकर्षण नदेखिएको दाबी गरे । ‘रोल्पामा जनताको जीवनको धेरै समय जनयुद्धमा बिताए । अहिले फेरि नयाँ राजनीतिक दलप्रति यहाँका जनताको मोह छैन । नेकपाप्रति रोल्पाली जनताको पूर्ण विश्वास छ,’ पुनले भने ।

कान्छो जिल्ला रुकुमपूर्वका नेकपा नेता तेजबहादुर वलीले एकतापछि नेकपाले झन् शक्ति आर्जन गरेको दाबी गरे । ‘जिल्लामा एक प्रतिशत पनि जनार्दनको प्रभाव देखिएको छैन । यो बेला फुटेर हिँड्ने होइन, जोडिने समय थियो । जनार्दनले जे गर्नुभयो, त्यो सही भएन । चुनावकेन्द्रित गतिविधिमार्फत पार्टीलाई रुकुम, रोल्पालगायत जिल्लामा पहिलो बनाउने दिशामा अघि बढ्छौं,’ नेता वलीले भने ।

वि.सं. २०६४ मा साविक लुम्बिनी, राप्ती र भेरी अञ्चलका धेरैजसो जिल्लामा जीत निकालेर माओवादी पहिलो दल बनेको थियो । २०७० को निर्वाचनमा धेरै क्षेत्र गुमाएर रक्षात्मक बन्न पुग्यो । २०७४ मा झनै घट्यो भने २०७९ मा माओवादीले रुकुम, रोल्पा र दाङबाहेक अन्य क्षेत्रमा प्रतिनिधिसभातर्फ जीत निकाल्न सकेन ।

प्रदेशतर्फ तालमेल गरी केही क्षेत्र माओवादीले जितेको थियो । जनार्दनले पार्टी छाडे पनि अन्य वाम शक्तिसँग तालमेलबाट पूर्व माओवादी नेताहरू जिल्ला–जिल्लामा एकता अभियानमा केन्द्रित छन् ।

salt training

कमेन्ट गर्नुहोस्