
राष्ट्रिय खेलकुद परिषद् (राखेप) नेपाली खेलकुदको नेतृत्वदायी निकाय हो । कार्यकारी अधिकारसहित राखेपको नेतृत्व सदस्यसचिवले गर्ने प्रावधान रहेको छ ।
सदस्यसचिवको नियुक्त खुला प्रतिस्पर्धाबाट गरिन्छ । राष्ट्रिय खेलकुद विकास ऐन–२०७७ मा सदस्यसचिव नियुक्तिको प्रावधानको व्यवस्था गरिएको छ ।
कानूनअनुसार नियुक्त भएर आएका राखेपका सदस्यसचिवको कार्यकाल सकिएको एक महिनाभन्दा लामो समय बितिसकेको छ ।
तर, नेपाली खेलकुदको नियमनकारी निकाय युवा तथा खेलकुद मन्त्रालयले हालसम्म सदस्यसचिव नियुक्तिको प्रक्रियासम्म अगाडि बढाउन सकेको छैन ।
अर्को व्यवस्था नहुन्जेलसम्मका लागि मन्त्रालयका सहसचिव रामचरित्र मेहतालाई राखेप सदस्यसचिवको जिम्मेवारी दिइएको छ । मेहताले नै हाल सदस्यसचिवको दैनिक कार्य सञ्चालन गर्दै आएका छन् ।
तत्कालीन सदस्यसचिव टंकलाल घिसिङको कार्यकाल मंसिर १२ गते सकिएको थियो । खेलकुद विकास ऐनको दफा १७ मा सदस्यसचिव नियुक्तिको प्रक्रियाका बारेमा उल्लेख गरिएको छ ।
ऐनमा व्यवस्था भए अनुसार नयाँ सदस्यसचिव नियुक्तिका लागि सिफारिस गर्न मन्त्रालयका सचिवको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गर्नु पर्नेछ ।
यसरी गठन गरिएको सिफारिस समितिले निश्चित समय दिएर सदस्यसचिव पदका लागि सार्वजनिक रूपमा दरखास्त आव्हान गर्नेछ ।
त्यसपछि योग्यता पुगेका इच्छुक व्यक्तिले स्पष्ट कार्ययोजनासहित आवेदन बुझाउने छन् । यसरी प्राप्त भएको आवेदनमध्येबाट सिफारिस समितिले एक महिलासहित उत्कृष्ट तीन जनाको नाम मन्त्रालयमा सिफारिस गर्नेछ ।
मन्त्रालयले सदस्यसचिवका ती तीनजना प्रत्यासीको नाम मन्त्रिपरिषद्मा पेस गर्नेछ । मन्त्रिपरिषद्ले यसरी प्राप्त भएको नाममध्येबाट उपयुक्त लागेको व्यक्तिलाई चार वर्षे कार्यकालका लागि राखेपको सदस्यसचिवमा नियुक्त गर्ने प्रावधान छ ।
तर, पुरानो सदस्यसचिवको कार्यकाल सकिएको एक महिनाभन्दा बढी समय बितिसक्दा पनि मन्त्रालयले हालसम्म सिफारिस समिति नै गठन गर्न सकेको छैन ।
यसको प्रत्यक्ष असर राखेपको दैनिक कार्य सञ्चालनदेखि निकट भविष्यमा आयोजना हुने भनिएको १०औं वृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत परिरहेको छ ।
राखेपको गत कार्तिक १८ गते बसेको १२३औं बोर्ड बैठकले राष्ट्रिय खेलकुदको १०औं संस्करण आगामी फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना गर्ने निर्णय गरेको थियो ।
यसका लागि पनि अब दुई महिनामात्र समय बाँकी छ । त्यसैले, पछिल्लो पटक घोषित मितिमा पनि राष्ट्रिय खेलकुद आयोजना नहुने पक्काजस्तै भइसकेको छ ।
युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता नयाँ सदस्यसचिव नियुक्तिको प्रक्रिया छिट्टै अघि बढाइने बताउँछन् । राखेपको आगामी बोर्ड बैठकमा यस विषयमा छलफल भने जानकारी उनले दिए ।
‘नयाँ सदस्यसचिव नियुक्तिको विषयमा मन्त्रालयका सचिवज्यूहरूले छलफल गरिरहनुभएको छ । छिट्टै प्रक्रिया अगाडि बढाउने तयारीमा छौं,’ लोकान्तरसँगको कुराकानीमा मन्त्री गुप्ताले भने ।
मन्त्री गुप्ताले राखेप बोर्डको आगामी बैठकमा यस विषयमा छलफल हुने जानकारी दिए । राखेपको बोर्ड बैठक सम्भवतः आगामी बुधबार बस्नेछ । ‘अर्को साता बस्ने राखेपको बोर्ड बैठकमा यस विषयमा छलफल हुनेछ । १०औं राष्ट्रिय खेलकुदको विषयमा पनि काम अगाडि बढाइसकेका छौं । बैठकमा यस विषयमा पनि छलफल हुनेछ,’ उनले भने ।
मन्त्री गुप्ताका अनुसार बुधबार बसेको राखेप कार्यकारी समितिको बैठकमा पनि आगामी बोर्ड बैठकको एजेन्डाको विषयमा छलफल भएको थियो । ‘कार्यकारी समितिको बैठक बुधबार बस्यो । त्यो बैठकले पनि आगामी बोर्ड बैठकका लागि केही एजेन्डा तय गरेको छ । हामी सदस्यसचिव नियुक्ति र १०औं राष्ट्रिय खेलकुदको विषयमा गम्भीर छौं,’ उनले लोकान्तरसँग भने ।
आगामी बोर्ड बैठकले हाल रिक्त रहेको राखेपको बोर्ड सदस्यहरू पनि नियुक्त गर्ने सम्भावना छ । युवा तथा खेलकुदमन्त्रीको अध्यक्षतामा रहने ३८ सदस्यीय राखेप बोर्डमा हाल आधा दर्जनभन्दा बढी सदस्य पद रिक्त छ ।
खेलकुदमन्त्री नियुक्त भएलगत्तै गुप्ताले १०औं राष्ट्रिय खेलकुद आफ्नो प्राथमिकतामा रहेको बताएका थिए । तर, पछिल्लो पटक घोषित मितिमा प्रतियोगिता नहुने पक्काजस्तै देखिन्छ ।
यसअघि पनि विभिन्न कारण देखाउँदै पटक-पटक १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति परिवर्तन भइसकेको छ । कर्णाली प्रदेशमा पहिलो पटक हुन लागेको राष्ट्रिय खेलकुद कहिले भौतिक पूर्वाधारको अभाव त कहिले राजनीतिक हस्तक्षेपको मारमा पर्दै आएको हो ।
२०७९ साल कात्तिकमा गण्डकी प्रदेशको पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा कर्णाली प्रदेशलाई १०औं राष्ट्रिय खेलकुद आयोजनाको जिम्मेवारीसहित झण्डा हस्तान्तरण गरिएको थियो । राखेपको ११५औं बोर्ड बैठकले प्रतियोगिता २०८१ साल मंसिर २ देखि ९ गतेसम्म आयोजना गर्ने गरि मिति तोकेको थियो ।
तर, अन्तिम समयमा आएर तयारीका लागि समय अपर्याप्त भएको कारण देखाउँदै राखेपको ११८औं बोर्ड बैठकले प्रतियोगिता २०८१ साल चैत २३ देखि ३० गतेसम्म आयोजना गर्ने गरी मिति परिवर्तन गरेको थियो । तर, दोस्रो पटक तय गरिएको मितिमा पनि प्रतियोगिता आयोजना हुन सकेन ।
त्यसपछि, २०८१ फागुन १५ गते बसेको राखेपको १२१औं बोर्ड बैठकले तेस्रो पटक मिति परिवर्तन गरेर १०औं राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म आयोजना गर्ने निर्णय गरेको थियो । तर, त्यो मितिमा पनि प्रतियोगिता आयोजना हुन सकेन ।
त्यसपछि, २०८१ चैत २९ गते बसेको राखेपको १२२औं बोर्ड बैठकले जेठमा पनि राष्ट्रिय खेलकुद आयोजना गर्न नसकिने निष्कर्ष निकाल्यो । उक्त बोर्ड बैठकले प्रतियोगिता तत्कालका लागि स्थगित गर्ने निर्णय त गर्यो तर, नयाँ मिति भने घोषणा गरेको थिएन ।
त्यसपछि, अहिले आएर राखेपको १२३औं बोर्ड बैठकले फागुन १ देखि ७ गतेसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय लिएको हो ।