
भेनेजुएलाको नजिक अन्तर्राष्ट्रिय समुद्री क्षेत्रमा अमेरिकाले अर्को एक तेल ट्यांकरको सक्रिय खोजी गरिरहेको अमेरिकी अधिकारीले बताएका छन् । यससँगै त्यसमा क्षेत्रमा तनाब थप चर्किँदै गएको छ ।
अमेरिकी कोस्ट गार्डले यो महिनामात्रै दुईवटा तेल ट्यांकर नियन्त्रणमा लिइसकेको छ, जसमा एक शनिबार नियन्त्रणमा लिइएको थियो ।
आइतबार भइरहेको पछिल्लो खोजी भेनेजुएलाले प्रतिबन्ध छल्न प्रयोग गरिरहेको भनिएको ‘डार्क फ्लीट’ अन्तर्गतको प्रतिबन्धित ट्यांकरसँग सम्बन्धित रहेको एक अमेरिकी अधिकारीले जानकारी दिएका छन् ।
उनका अनुसार उक्त ट्यांकरले नक्कली झण्डा फहराइरहेको छ र न्यायिक नियन्त्रण आदेशअन्तर्गत रहेको छ । यद्यपि, अमेरिकी निकायहरूले आइतबारको खोजीबारे औपचारिक पुष्टि गरेका छैनन् । खोजी भइरहेको ट्यांकरको नाम र ठ्याक्कै स्थानसमेत अहिलेसम्म सार्वजनिक गरिएको छैन ।
वाशिङ्टनले भेनेजुएलाले तेलबाट आर्जन हुने आम्दानी लागूऔषधसम्बन्धी अपराधमा प्रयोग गरिरहेको आरोप लगाउँदै आएको छ । यता, भेनेजुएलाले ट्यांकर नियन्त्रणलाई ‘चोरी र अपहरण’को संज्ञा दिएको छ ।
गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिबन्धित तेल ट्यांकरहरूलाई भेनेजुएलामा प्रवेश तथा बाहिरिन रोक लगाउने ‘नाकाबन्दी’ आदेश दिएका थिए । विश्वकै सबैभन्दा ठूलो प्रमाणित तेल भण्डार रहेको भेनेजुएलाले ट्रम्प प्रशासनले आफ्ना स्रोत लुट्न खोजिरहेको आरोप लगाएको छ ।
एक तथ्यांकअनुसार, पछिल्लो साता भेनेजुएलाको पानीमा रहेका वा देशतर्फ आउँदै गरेका ८० जहाजमध्ये ३० भन्दा बढी अमेरिकी प्रतिबन्धमा परेका छन् ।
शनिबार नियन्त्रणमा लिइएको ट्यांकर पनामा झण्डावाहक रहेको र अन्तर्राष्ट्रिय समुद्री क्षेत्रमा विशेष ट्याक्टिकल टोलीसहित थियो । उक्त जहाज अमेरिकी अर्थ मन्त्रालयको प्रतिबन्ध सूचीमा नरहे पनि त्यसले प्रतिबन्धित तेल बोकेको अमेरिकाको दाबी छ ।
बीबीसी भेरिफाइले हेरेको अभिलेखअनुसार, उक्त जहाज पछिल्ला पाँच वर्षमा ग्रीस र लाइबेरियाको झण्डामुनि पनि सञ्चालनमा रहेको थियो ।
शनिबारको घटनापछि भेनेजुएला सरकारले ‘यी कार्यहरू दण्डविहीन रहने छैनन्’ भन्दै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् तथा अन्य बहुपक्षीय निकायहरूमा उजुरी दिने तयारी गरिरहेको जनाएको छ ।
भेनेजुएला आफ्नो सरकारी खर्च धान्न तेल निर्यातबाट आउने आम्दानीमा अत्यधिक निर्भर छ । पछिल्ला हप्तामा अमेरिकाले क्यारेबियन सागर क्षेत्रमा सैन्य उपस्थिति बढाएको छ र भेनेजुएलाका लागूऔषध तस्करीमा संलग्न भनिएका डुंगामाथि आक्रमण गर्दै आएको छ, जसमा करिब १०० जनाको मृत्यु भइसकेको छ ।
अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोका केही आफन्त तथा उनको ‘अवैध शासन’सँग जोडिएका व्यवसायहरूमाथि पनि प्रतिबन्ध लगाएको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै भेनेजुएलाको वर्तमान अवस्था अमेरिकाका लागि अस्वीकार्य रहेको बताए ।
उनले ट्रम्प प्रशासनको लक्ष्य उक्त अवस्था परिवर्तन गर्नु रहेको स्पष्ट पारे । तर, उनका अभिव्यक्तिप्रति भेनेजुएलाका विदेशमन्त्रीले आलोचना गर्दै रुबियोले अमेरिकालाई ‘शासन परिवर्तन’को बाटोमा धकेलिरहेको आरोप लगाएका छन् ।
अमेरिकाले ती जहाजहरूमा लागूऔषध बोकेको सार्वजनिक प्रमाण भने प्रस्तुत गरेको छैन । सैन्य आक्रमणबारे अमेरिकी कंग्रेसमा समेत चासो र निगरानी बढ्दै गएको छ ।
ट्रम्प प्रशासनले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई ‘कार्टेल दे लोस सोल्स’ नामक आतंकवादी संगठनको नेतृत्व गरिरहेको आरोप लगाएको छ । मादुरोले भने उक्त आरोप अस्वीकार गर्दै आएका छन् ।