२३ जेठ २०८३, शनिबार
ज्वाइँ नै काल बनेर आएपछि

फिल्मी कहानीभन्दा खतरनाक घटना : ऋण तिर्नुपर्छ भनेर जेठानसहित २ जनाको हत्या

पुस ७, २०८२
काठमाडौं
फिल्मी कहानीभन्दा खतरनाक घटना : ऋण तिर्नुपर्छ भनेर जेठानसहित २ जनाको हत्या

ललितपुरमा दुईजनाको हत्याको अनुसन्धानका क्रममा फेला परेको तथ्य कुनै फिल्मी कहानीभन्दा कम रोचक छैन ।

सिन्धुलीका केशवराज हायु र सिन्धुलीकै देवराज ढुंगेल नाताले जेठान–ज्वाइँ हुन् । ढुंगेलले श्रीमतीलाई जापान पठाउन अरू नै व्यक्तिसँग पाँच महिनाअघि ११ लाख रुपैयाँ ऋण लिएका हुन्छन् ।

ऋण दिएका व्यक्तिले पटक–पटक पैसा फिर्ता मागेपछि ढुंगेलले आफ्ना जेठान हायुसँग माग्छन् ।

हायु एक्लैसँग ११ लाख नभएपछि ढुंगेलले भोजपुरका पारुहाङ राईसँग पनि पैसा माग्छन् ।

दुवै जनासँग गत मंसिर १७ गते ढुंगेलले ११ लाख ऋण लिएर शुरूमा श्रीमतीलाई जापान पठाउन ऋण लिएको व्यक्तिलाई तिरिदिन्छन् ।

हायु र ढुंगेलले ललितपुर महालक्ष्मीस्थान नगरपालिकामा खाली जग्गा भाडामा लिएर कृषि फार्म सञ्चालन गर्दै आएका हुन्छन् ।

दुवैजनाको सम्बन्ध रामै्र हुन्छ । तर, एकाएक ढुंगेलको मनमा पाप पलाउँछ । जेठान हायु र अर्का एक जनाको हत्या गर्‍यो भने ११ लाख तिर्नुपर्दैन भन्ने उनलाई लाग्छ । ढुंगेलको योजनालाई सिन्धुलीकै जयराम अधिकारीले साथ दिन्छन् ।

गत मंसिर २४ गते हायुलाई ढुंगेलले फोन गरेर ललितपुर महालक्ष्मी– ८ ज्यामिरेकोटमा जाने बताउँछन् । त्यहाँ मदिरासहित खाजा खान जाने योजना बताएपछि हायुलाई मोटरसाइकलमा हालेर ज्यामिरेकोट पुर्‍याउँछन् ।

अधिकारी पनि अर्को मोटरसाइकलमा गएका हुन्छन् । तीन जना बसेर मदिरा पिउँछन् । हायु रक्सीले मातिएपछि पूर्व योजनाअनुसार झोलामा लगेका ह्याम्मरले हायुको टाउकोमा बजार्छन् ।

हायुको त्यहाँ प्राण जान्छ । शव बाँध्न कालो टेप लगेका ढुंगेल हायुको हात र खुट्टामा बाँधेर शव त्यहीँ छाडेर डेरा फकिन्छन् ।

यो घटनाको बारेमा पारुहाङ जानकार हुँदैनन् । हायुको हत्यापछि ढुंगेलले पारुहाङको हत्या गर्ने योजना बनाउँछन् ।

हायुलाई जसरी नै उनीहरूले ‘आज रमाइलो गर्ने’ भन्दै मंसिर २५ मा ललितपुरको अर्को जंगलमा पुर्‍याउँछन् ।

पारुहाङलाई पनि मदिरा सेवन गराउँछन् । हायुलाई जस्तै पारुहाङलाई पनि ह्याम्मरले हानेर मार्छन् ।

हात र खुट्टामा टेप बाँधेर प्लास्टिकको झोलामा हालेर पारुहाङको शव भीरबाट खसालिदिन्छन् । ढुंगेल र अधिकारी भक्तपुरस्थित डेरामा आएर सुत्छन् ।

मंसिर २६ मा ढुंगेलले अधिकारीलाई फोन गरी बोलाउँछन् ।

‘हायुको शव जंगलमा अलपत्र छाड्दा प्रहरीले अनुसन्धान गर्दा हाम्रो संलग्नता खुल्न सक्छ, प्रहरीको कुकुरले सुंघेर हामीलाई पत्ता लगाउँछ, शव व्यवस्थापन गर्नुपर्छ’ भन्दै दुवै ढुंगेल र अधिकारी जंगलमा जान्छन् ।

बोरामा हायुको शव हालेर मोटरसाइकलमा ल्याई कृषि फार्ममा रहेको अन्डरग्राउन्ड ट्याङ्कीमा फाल्छन् ।

ढुंगेलले योजना अनुसार नै पहिला आफू र हायु मिलेर सञ्चालन गरेको कृषीफार्म बेचिकसेका हुन्छन् ।

त्यो फार्ममा काम गर्न जाने कामदारले ट्याङ्की गन्ध आएको भन्दै प्रहरीलाई खबर गर्छन् । पुस २ गते प्रहरी पुगेर ट्याङ्कीबाट शव झिक्दा हायु रहेको तथ्य खुल्छ ।

हायु र पारुहाङका आफन्तले प्रहरीमा खोजतलासका लागि निवेदन दिइसकेका हुन्छन् । हायुका आफन्तले शवको पहिचान गरिदिन्छन् । बल्ल प्रहरी अनुसन्धान शुरू हुन्छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर ललितपुरको टीमले संयुक्त अनुसन्धान थाल्छन् । हायुको मोबाइलको कल डिटेल निकाल्दा उनी र ढुंगेलबीच पटक–पटक कुरा भएको तथ्य खुल्छ ।

प्रहरीले ढुंगेललाई पक्राउ गर्छ । तर, ढुंगेलले हायु हत्याको जिम्मेवारी लिँदैनन् । अनि प्रहरीले ढुंगेल बस्ने डेरामा सर्च गर्छ । त्यहाँ बाँङ्गीएको ह्याम्मर, रगतको छिटा लागेका कपडा र कालो टेप फेला पर्छ ।

प्रहरीले अलि धेरै केरकार गरेपछि ढुंगेलले विभिन्न कहानी बताउन शुरू गर्छन् । ढुंगेल र अधिकारीबीच फोन सम्पर्क देखिएपछि प्रहरीले अधिकारीको खोजी गर्छ ।

घरमा पूजा लगाउने भनेर सिन्धुली पुगेका अधिकारीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सहयोगमा प्रहरीले पक्राउ गर्छ । हिजो आइतबार राति साढे १० बजे टेकुस्थित अनुसन्धान कार्यालयमा ल्याएर अधिकारी र ढुंगेल दुवैलाई सँगै राखेर प्रहरीले केरकार गरेपछि मात्रै हायु र पारुहाङ हत्याका रहस्य खुल्छ ।

‘हायु र पारुहाङसँग पैसा माग्दा ढुंगेलले आफूहरू विदेश जान लागेको र पैसा चाहिएको भनेर परिवारमा बताउनु भनेका रहेछन्,’ अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतले लोकान्तरसँग भने, ‘दुवै जनालाई मारेपछि परिवारले विदेश गएको ठान्ने र आफूहरू पक्राउ नपर्ने योजना ढुंगेलको रहेछ ।’

ढुंगेललाई पक्राउ गर्दासम्म पनि पारुहाङको हत्यामा उनकै संलग्नता थियो वा थिएन भन्ने जानकारी प्रहरीलाई थिएन । एसएसपी बस्नेतले भने, ‘जब अधिकारीलाई प्रहरीले सिन्धुलीस्थित घरबाटै पक्राउ गरेर ल्यायो, अनि सोधपुछका क्रममा पारुहाङको हत्या पनि आफू र ढुंगेल मिलेर गरेकोे उनले स्वीकारे ।’

अधिकारीको बयानअनुसार प्रहरी राति नै घटनास्थल पुगेर पारुहाङको शव फालेको भीरमा पुगेर ‘कन्फर्म’ गरेको थियो ।

ललितपुर परिसरले आइतबारै ढुंगेलविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान शुरु गरेको थियो । सोमबार अधिकारीविरुद्ध पनि म्याद थप गरेको छ ।

‘यो घटनामा संलग्न दुईजना क्रमश: ढुंगेल र अधिकारीलाई पत्ता लगाउन प्रहरीले प्रविधिको सहयोग लिएको छ,’ एसएसपी बस्नेतले भने, ‘आइतबार रातभरी केरकार गर्दा मात्रै दुवैजनाले हत्या स्वीकार गरेका हुन् ।’

salt training

कमेन्ट गर्नुहोस्