
१५ मंसिरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले भनेका थिए- ‘महाधिवेशन कार्य तालिका रकेट स्टाइलकै छ ।’
पत्रकारमाझ महतले पार्टीको १५ औँ महाधिवेशन पुस अन्तिममा गर्ने गरी केन्द्रीय समिति बैठकमा सहमति भएको र कार्यतालिका सोहीअनुरूप निर्माण भएको बताउने क्रममा उक्त अभिव्यक्ति दिएका थिए ।
पार्टीले १६ पुसमा वडा अधिवेशन, १७ मा पालिका अधिवेशन, १९ मा प्रदेशसभा क्षेत्रीय अधिवेशन अनि २१ मा प्रतिनिधिसभा क्षेत्र र एक मात्र निर्वाचन क्षेत्रको जिल्ला अधिवेशन भनेर सुनाउँदा उनले आफूहरूले नै बनाएको कार्यतालिका माथि व्यंग्य गरेका थिए ।
महतले व्यंग्य गरेको कार्यतालिका पास भएको २१ दिन पुगिसकेको छ । तर, कार्यतालिका अनुसार पार्टीले १५ औँ महाधिवेशनको काम गर्न सकेको छैन ।
१५ मंसिरको केन्द्रीय समितिले ८ पुसमा सबै जिल्लाका क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरणको कार्य सम्पन्न गर्ने गरी तालिका ल्याएको थियो । तर, तालिकाअनुसार कार्यसम्पादन भएन । बरु जिल्ला–जिल्लामा पठाइएका नयाँ क्रियाशील सदस्यता फाराममा क्रम संख्या उल्लेख नभएकोमा विवाद भयो, जसको असरस्वरूप ६ पुसको बिहानसम्म जिल्ला–जिल्लामा क्रियाशील फारम पठाउने काम भयो ।
कांग्रेस केन्द्रीय कार्यालय स्रोतले लोकान्तरलाई दिएको जानकारीअनुसार आइतबार बिहान खोटाङले नयाँ क्रियाशील सदस्यता फारम लगेको छ ।
‘खोटाङले आइतबार बिहान नयाँ क्रियाशीलको फारम लिएर गयो । अन्य जिल्लाको अवस्था पनि सन्तोषजनक छैन,’ स्रोतले भन्यो, ‘कार्यतालिका प्रभावित भइसक्यो ।’
‘रमिता नै देखाउँदै’ पटक-पटक बैठक सारेर पार्टीले १५ औँ महाधिवेशनको कार्यतालिका ल्याएको थियो । शुरूआतमै शंकै–शंकाको दृष्टिकोणले हेरिएको तालिकामा घोषणाअनुसार काम हुन सकेन ।
विशेष महाधिवेशन पक्षधरको माग सम्बोधन भएको र नियमित महाधिवेशन गर्ने गरी सहमतिमा कार्यतालिका ल्याइएको दाबी कांग्रेसको थियो ।
उक्त कार्यतालिका अनुसार २९ मंसिरभित्र वडा कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरणका सम्पूर्ण कार्यलाई टुंगोमा पुर्याउनुपर्ने उल्लेख छ ।
पालिका कार्यसमितिले २ पुसमा प्रदेश सभा क्षेत्रलाई बुझाउने, एक मात्र संसदीय निर्वाचन क्षेत्र भएको प्रदेशले क्षेत्रीय समितिलाई ४ पुसमा राय सहित पालिकाबाट आएको सूची प्रतिनिधिसभा क्षेत्रीय समितिलाई बुझाउने र एकभन्दा बढी निर्वाचन क्षेत्र भएको प्रदेश क्षेत्रीय समितिले ८ पुसभित्र क्षेत्रीय समितिलाई विवरण बुझाउने तालिकामा उल्लेख छ
तर, ७ पुसमा आइपुग्दा कार्यतालिका अनुसार क्रियाशीलको काम हुन सकेको छैन । त्यसैले पुस अन्तिममा कांग्रेसले नयाँ नेतृत्व पाउने कुरा सम्भावना भन्दा टाढा पुगिसकेको केन्द्रीय कार्यालय स्रोत बताउँछ ।
‘कसैले टाउको फोरेर पनि पुस अन्तिममा महाधिवेशन हुँदैन । पुस मसान्तमा महाधिवेशन गर्ने कुरा हामी कसैको वशमा छैन,’ स्रोतले थप्यो ।

कार्यतालिका अनुसार जिल्ला कार्यसमितिहरूले ११ पुसमा क्रियाशील वितरण गरेर अन्तिम नामावली केन्द्रमा पठाउनुपर्छ । त्यसपश्चात् सहमहामन्त्री महेन्द्र यादव नेतृत्वको क्रियाशील सदस्यता छानबिन समितिको कार्य प्रारम्भ हुन्छ ।
१२ पुसबाट दुई दिनभित्र अर्थात् १४ पुसमा क्रियाशील सदस्यता छानबिन समितिले नवीकरण र नयाँ वितरण भएर आएका क्रियाशील सदस्यको नाममा अन्तिम निर्णय गर्ने कार्यतालिका रहेको छ ।
दुई दिनभित्र क्रियाशील सम्बन्धमा परेका उजुरीहरू ग्रहण गरी १६५ निर्वाचन क्षेत्र, जनसम्पर्क समिति लगायतबाट आएका क्रियाशील सदस्यहरूको विषयमा अन्तिम निर्णय गर्नुपर्ने हुन्छ ।
ती सबै काम सकेर १४ पुसमा केन्द्रीय कार्यालयले सभापति/कार्यवाहक सभापतिबाट प्रमाणित भएको नाम खम्मबहादुर खाती नेतृत्वको निर्वाचन समितिलाई अन्तिम सूची बुझाउनुपर्ने हुन्छ ।
तर, हालसम्म क्रियाशीलको काम कछुवा गतिमा अघि बढेकाले पुस अन्तिममा महाधिवेशन नहुने निश्चित भएको कांग्रेस नेताहरू स्वीकार गर्छन् ।
टाइट कार्यतालिकामा महाधिवेशन सम्भव नहुने भनेर आफूले शुरूआतबाटै धारणा राख्दै आएको भन्दै पार्टी प्रवक्ता महत पुस अन्तिममा पार्टीले नयाँ नेतृत्व पाउन नसक्ने बताउँछन् ।
‘पुस ६ गते भइसक्यो । बल्ल नयाँ क्रियाशीलको फारम वडातिर पुग्दैछ । स्वत: कार्यतालिका प्रभावित भइसक्यो,’ उनले लोकान्तरसँग भने, ‘दुई दिनमा क्रियाशील छानबिन हुनै सक्दैन । केही दिनमै पार्टी बैठक बसेर कार्यतालिका परिवर्तन हुन्छ ।’
समिति भन्छः नयाँ कार्यतालिका ल्याउने छलफल भइरहेको छ
पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन समिति महामन्त्री गगनकुमार थापा नेतृत्वमा छ । सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश स्नेही रसाइली समिति सदस्य रहेका छन् । महाधिवेशन कार्यतालिका आएपश्चात निरन्तर काम गरिरहेको समिति पनि महाधिवेशन कार्यतालिका प्रभावित भइसकेको स्वीकार गर्छ ।
समिति सदस्य योगेन्द्र चौधरी कार्यतालिका अनुसार काम गर्न प्रयास गरिए पनि आफूहरू कार्यतालिकाबाट केही बाहिर गइसकेको स्वीकार गर्छन् । उनी नयाँ कार्यतालिकाबारे नेताहरूबीच छलफल भइसकेको पनि बताउँछन् ।
‘अधिवेशन समयमै सम्पन्न गर्नुपर्ने दबाबलाई ध्यानमा राख्दै क्रियाशील व्यवस्थापन समितिले कार्यतालिकामा आवश्यक हेरफेर गर्दै काम गरिरहेको छ,’ चौधरीले लोकान्तरसँग भने, ‘यद्यपि, कांग्रेसको क्रियाशील सदस्य व्यवस्थापन गर्नु सहज विषय भने होइन । वर्तमान आवश्यकता बुझेर हामीले सोहीअनुसार काम गरिरहेका छौँ ।’
क्रियाशील व्यवस्थापन समितिसँग हालसम्म कति जिल्लाले नवीकरणको काम सके भन्ने यकिन तथ्यांक आएको छैन । कतिपय जिल्लाहरूबाट विवरण एक्सेल फाइलमार्फत आएको र केही जिल्लाले सफ्टवेयरमार्फत इन्ट्री गरेकाले यकिन तथ्यांक निकाल्न समय लागेको समितिको तर्क छ ।
‘सबै विवरण एकै ठाउँमा समेटेर अझै समीक्षा गरिएको छैन । यद्यपि, अनुमानका आधारमा करिब ५० जिल्लाबाट नवीकरणको विवरण आइसकेको भन्ने छ,’ चौधरीले थपे ।
चाँडो क्रियाशीलको नवीकरण कार्य अघि बढाउँदा जिल्ला-जिल्लामा नामहरू छुटेको समिति बताउँछ । छुटपुट नामहरूलाई पुनः केन्द्रमा पठाउन अन्तिम अवसर दिने तयारीमा समिति जुटेको छ ।
‘निश्चित समयसीमा दिइएकाले समयभित्र नाम पठाउँदा धेरै साथीहरूको नाम छुटेको छ । छुटपुट नाम र बाँकी रहेका जिल्लालाई विवरण पठाउन पत्राचार गर्दैछौं,’ चौधरीले थपे ।
यस्तै, जनसम्पर्क समितिहरूमा पनि समस्या छ । क्यानडा, युके, जापान, अस्ट्रेलियामा समस्या रहेको समिति सदस्य चौधरीले जानकारी दिए ।
‘जनसम्पर्क समितिहरूको हकमा केही देशमा समस्या देखिएका छन् । विशेषगरी क्यानडा, युके, अस्ट्रेलिया र जापानमा क्रियाशील सदस्य बन्न चाहने धेरै साथीहरूको माग आएको छ,’ उनले भने, ‘समितिले यी चार देशका लागि थप व्यवस्थापन गरेर नेपाली कांग्रेसको क्रियाशील सदस्य बन्न चाहनेलाई अवसर दिनुपर्ने निर्णय यसअघि नै गरिसकेको छ ।’
नयाँ सदस्यताको सन्दर्भमा फारम अधिकांश निर्वाचन क्षेत्रमा पुगिसके पनि पहिलेदेखि विवादमा रहेको करिब आठदेखि दश वटा क्षेत्रमा भने अझै फारम नपुगेको समिति बताउँछ ।
‘फारम पठाउन समस्या भएको क्षेत्रको पहिचान गर्ने र त्यहाँको समस्या समाधान गरेर फारम पठाउने काममा लागेका छौं,’ उनले लोकान्तरसँग भने ।
महाधिवेशनको मेरुदण्ड नै क्रियाशील सदस्यता हो । वडा तहबाट वितरण शुरू भएर पालिका, प्रदेश सभा, प्रतिनिधिसभा, जिल्ला हुँदै केन्द्रमा विवरण आइसक्नु पर्छ ।
नयाँ र पुराना दुवै क्रियाशील सदस्यता छानबिन समितिबाट फाइनल भएपश्चात् केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने कार्य सम्पन्न भएपश्चात् मात्र पार्टी निर्वाचन आयोगमा अन्तिम नामावली पुग्छ ।
अनि मात्र महाधिवेशनको आधिकारिक प्रक्रिया निचोडमा पुग्छ । तर, सबै निर्वाचन क्षेत्रमा नवीकरण हुन नसक्नु, नयाँ क्रियाशील सदस्यता वितरण फारममा लफडा हुनु र कतिपय निर्वाचन क्षेत्रमा फारम नै नपुगेको अवस्थामा स्वतः निर्वाचन कार्यतालिका प्रभावित भइसकेको छ ।
‘नयाँ कार्यतालिकाका विषयमा नेताहरूबीच छलफल जारी छ । यसले केही समय कार्यसम्पादन प्रभावित हुन सक्छ,’ समिति सदस्य चौधरी भन्छन् ।