
होटल सब्रिनाले आईपीओ जारी गर्ने तयारी गरेको छ ।
१.५ अर्ब अधिकृत पुँजी र १.१२ अर्ब जारी पुँजी रहेको यस होटलको चुक्तापुँजी ६४ करोड ९६ लाख रूपैयाँ रहेको छ ।
कम्पनीले न्यूनतम् १५ लाख कित्ताको ४७ करोड ४ लाख रूपैयाँ बराबरको शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने तयारी गरेको हो ।
हालै सम्पन्न होटल सब्रिनाको सातौं साधारणसभा यसबारे जानकारी गराइएको छ । वरिष्ठ कलाकार नीर शाहको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।
आईपीओ जारी गर्न गत असार अन्तिममा कम्पनीले संस्थागत परामर्श सेवा तथा प्राथमिक शेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल नियुक्त गरिसकेको छ ।
अपार्टमेन्टसहित ६० वटा कोठामा सेवा सञ्चालन गर्दै आइरहेको यस होटलले अब कोठासमेत थप गर्ने प्रक्रियामा रहेको समेत अध्यक्ष निराजन थापाले बताए ।
‘१०४ वटा रुम र क्यासिनो बनाएर ५ तारे स्ट्याण्डर्डको प्रक्रियामा जाने तयारीमा छौं’, थापाले भने ।
होटल सब्रिनालाई सञ्चालनमा आएको तीन वर्षमै होटेल कृटिक एन्ड ब्लगर्स एसोसिएसन तथा होटेल डट कमले २०२१ मा नेपालको सर्वोत्कृष्ट होटलको उपाधिबाट सम्मानित गरेको थियो ।
साधारणसभाले पेस गरिएका सबै निर्णय सर्वसम्मत पारित गरेको छ ।