२२ जेठ २०८३, शुक्रबार
अधिकृतका नाममा ठगी धन्दा

नक्कली शाखा अधिकृतको चर्तिकला: सलाम खान दिनकै ६ पटक सिंहदरबार, आमालाई समेत छाडेनन् !

पुस ८, २०८२
काठमाडौं
नक्कली शाखा अधिकृतको चर्तिकला: सलाम खान दिनकै ६ पटक सिंहदरबार, आमालाई समेत छाडेनन् !

आफ्नै आमालाई समेत गुमराहमा राखेका न्युरोडका समन श्रेष्ठको चर्तिकला सुन्दा अनुसन्धानमा संलग्न प्रहरीहरू नै चकित परेका छन् ।

आफूले शाखा अधिकृतमा नाम निकालेको र त्यसका लागि खर्च लागेको भन्दै श्रेष्ठले आमासँग २७ लाख रुपैयाँ मागेका थिए ।

नीलो कोट–पाइन्ट, सेतो सर्ट र निजामती कर्मचारीको लोगोसहितको ढाकाटोपी लगाएर छोरो घर आउँदा आमा निकै खुसी थिइन् । विश्वास दिलाउन उनले आफ्नो तलब भन्दै आमालाई मासिक ३५ हजारसम्म नियमित बुझाउन थाले ।

अचम्मको कुरा त के भने, उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शाखा अधिकृतको कार्ड बोकेर गृहसचिवदेखि उच्चपदस्थ कर्मचारीलाई समेत सिंहदरबारभित्रै पुगेर भेट्थे ।

प्रहरीले उनको मोबाइल हेर्दा सरकारी अधिकांश उच्चपदस्थ कर्मचारीको नम्बर सुरक्षित गरेर राखेका थिए ।

सिंहदरबार गेटमा खटिएका सुरक्षाकर्मीबाट श्रेष्ठले दैनिक सलाम खान्थे । श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भने कहिल्यै छिरेनन् ।

‘म अरू सबै मन्त्रालय छिरेँ, तर सामान्य प्रशासन मन्त्रालय छिरिनँ,’ श्रेष्ठको बयान उद्धृत गर्दै अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले लोकान्तरसँग भने, ‘सामान्यमा छिर्दा थप सोधीखोजी हुन्थ्यो, मेरो बेइज्जत हुन्थ्यो ।’

खासमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा एक युवती आफूलाई श्रेष्ठले जागिर लगाइदिने नाममा पटक–पटक दुर्व्यवहार गरेको भन्दै गुनासो लिएर पुगेपछि मात्रै श्रेष्ठमाथि अनुसन्धान शुरू भएको थियो ।

श्रेष्ठले ती युवतीलाई युनिसेफको जागिर भन्दै नक्कली नियुक्ति पत्र दिएका थिए । उनको खातामा मासिक तलब भनेर २७ हजार रुपैयाँ ई–सेवामार्फत पठाइदिन्थे । युवतीको काम भने श्रेष्ठले बोलाएको ठाउँमा आउने र कफी पिउने मात्रै थियो ।

गुनासो आएपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरेर ‘तपाईं शाखा अधिकृतको कतिऔँ ब्याच हो ?’ भनेर सोध्यो ।

श्रेष्ठले ६७ औं ब्याच भनेर जवाफ दिए । प्रहरीले लोक सेवा आयोगमा बुझ्दा हालसम्म शाखा अधिकृतको ४७ औं ब्याच मात्रै भर्ना भएको तथ्य खुल्यो ।

अनि प्रहरी ढुक्क भयो, श्रेष्ठले आफैंले शाखा अधिकृतको नक्कली परिचय पत्र बनाएको भनेर ।

प्रहरीले श्रेष्ठबाट बरामद गरेको परिचय पत्रको नम्बर १०/०८२/८३ उल्लेख गरिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको कार्डको अवधि २०८२/०१/०३ देखि २०८३/०१/०३ सम्म छ । कार्डमा प्रमाणित गर्नेको दस्तखत पनि श्रेष्ठ आफैंले गरेका छन् ।

श्रेष्ठले अर्को समूहसँग मन्त्रालयको सिफारिश बनाइदिने नाममा सात लाख असुली गरेको उजुरी प्रहरीमा परेको छ ।

प्रहरीका अनुसार श्रेष्ठले कार्ड आफैँ छपाइ गरेका थिए । पोशाक पनि आफैँ सिलाउन लगाएका थिए ।

प्रहरीबाट सलाम खानकै लागि श्रेष्ठ दैनिक ६ पटकसम्म सिंहदरबार भित्र–बाहिर गर्थे ।

प्रहरीले श्रेष्ठकी आमालाई पनि अनुसन्धान कार्यालयमा बोलाएको थियो । तर, आमालाई छोराको कर्तुत थाहा थिएन ।

‘मलाई त मासिक तलब भन्दै पैसा ल्याएर दिन्थ्यो, परिचय पत्रसहित सरकारी पोशाक लगाएर घरबाट बाहिरिन्थ्यो,’ श्रेष्ठकी आमाले प्रहरीमा जानकारी गराएको उद्धृत गर्दै स्रोतले भन्यो, ‘शाखा अधिकृतमा नाम निकाल्न पैसा खर्च लाग्ने भयो भनेर पैसा समेत लिएको थियो ।’

प्रहरीले श्रेष्ठलाई लिखत कीर्ते मुद्दामा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको छ ।

अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यका अनुसार श्रेष्ठले ठग्ने मनसायले नै शाखा अधिकृतको नक्कली परिचय पत्र बनाई आश्वासन बाँड्दै हिँड्ने गरेको देखिन्छ ।

उनले लोकान्तरसँग भने, ‘हामीलाई अहिलेसम्म लिखितरूपमा एक जनाको मात्रै उजुरी परेको छ, श्रेष्ठबाट अरू पनि पीडित हुन सक्छन् ।’

salt training

कमेन्ट गर्नुहोस्