१० साउन २०८३, आइतबार
देउवामाथि दबाब

राष्ट्रिय सभा निर्वाचन : कांग्रेसमा देउवा समूहभित्रै 'नो नट अगेन' अभियान !

पुस १०, २०८२
काठमाडौं
राष्ट्रिय सभा निर्वाचन : कांग्रेसमा देउवा समूहभित्रै 'नो नट अगेन' अभियान !

संघीय संसद, प्रदेश र स्थानीय तहमा पटक–पटक अवसर पाएकाहरूलाई राष्ट्रिय सभामा ल्याउन नहुने मत नेपाली कांग्रेसमा बलियो बन्न थालेको छ ।

पटक–पटक अवसर पाएकाहरूलाई ‘नो नट अगेन’ भन्दै संस्थापन समूहका नेताहरूले नै मोर्चाबन्दी गरेर पार्टी नेतृत्वलाई दबाव दिन थालेका छन् ।

सभापति शेरबहादुर देउवानिकट केन्द्रीय सदस्यहरूले एकै व्यक्तिलाई कतिपटक अवसर दिने हो भन्दै ‘राष्ट्रिय सभामा नयाँलाई अवसर’ भनेर दबाव बढाउन थालेका हुन् ।

राज्यका विभिन्न संरचनामा पटक-पटक अवसर उपभोग गरेकाहरूले पार्टीमा लागेकाहरूलाई ‘अवसर पाउनबाट वञ्चित गरेको भन्दै’ देउवानिकट नेताहरूले ‘नो नट अगेन’ भन्ने मागसहित मोर्चाबन्दी गरेका हुन् । उनीहरूले अब हुने राष्ट्रिय सभाको निर्वाचनमा नयाँ अनुहारलाई अवसर दिनुपर्ने माग राखेका छन् ।

सरकारले ११ माघका लागि राष्ट्रिय सभाको निर्वाचन घोषणा गरेको छ । निर्वाचन आयोगले तयार पारेको कार्यतालिका अनुसार २३ पुसको बिहान १० बजेदेखि दिउँसो ३:०० बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता हुने छ ।

यसका लागि कांग्रेसले तल्लो तहबाट परिपत्र गर्दै उम्मेदवारी सिफारिसको काम गरेको छ । पार्टीले परिपत्र गर्दै मंसिर मसान्तभित्र सबै प्रदेश तथा क्षेत्रबाट इच्छुक उम्मेदवारको सिफारिस मागेको थियो । सो सिफारिसबमोजिम नाम आइसकेको पार्टी कार्यालयका मुख्यसचिव तथा राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

‘हामी आएका नाम इन्ट्री गरेर प्रदेशअनुसार, क्लस्टर छुट्ट्याउने काम गरिरहेका छौं,’ उनले भने, ‘उक्त नाम हामी संसदीय बोर्डका प्रत्येक नेताहरूलाई दिन्छौं ।’

तल्ला तहबाट क-कसको नाम सिफारिस भएर आएको भनेर आधिकारिक विवरण पार्टी केन्द्रीय कार्यालयले सार्वजनिक गरिसकेको छैन । तर, पटक–पटक पार्टी नेतृत्व र राज्यसत्तामा अवसर पाएका नेताहरूको समेत नाम आएको भन्दै कांग्रेसभित्र ‘अव न्याय चाहियो’ भनेर देउवासँगै लागेका नेताहरू अभियानकै रूपमा अघि बढेका हुन् ।

आइतबार संस्थापन पक्षका करिब दुई दर्जन बढी केन्द्रीय सदस्य बानेश्वरमा भेला भए । उनीहरूको भेलाको उद्देश्य नै राष्ट्रिय सभा निर्वाचनमा ‘पार्टीमा मेहनत गरेका, तर अवसर नपाएका नेताहरूलाई न्याय’ दिलाउनु रहेको थियो । बैठकमा सहभागी एक नेताले लोकान्तरलाई दिएको जानकारीअनुसार यस्ता भेला गरेर दबाब दिने काम निरन्तर अघि बढ्ने छ ।

ती नेताका अनुसार २०८० मा भएको राष्ट्रिय सभा निर्वाचनमा पनि उनीहरूले यसरी नै भेला गर्दै दबाब दिएका थिए । त्यसबखत सभापति शेरबहादुर देउवालाई ‘पार्टीमा अवसर नपाएकाहरूलाई न्याय गर्नुपर्छ’ भन्दै दबाब दिइएको थियो । त्यसबखत पटक-पटक अवसर पाएका गोपालमान श्रेष्ठ, फरमुल्लाह मन्सुर, पुष्पा भुसाल, भीष्मराज आङ्देम्बेलगायत नेताहरूको नाम रोकिएको ती नेताको दाबी छ ।

‘अघिल्लोपटक जीतजंग बस्नेत जस्ता केही पात्रले न्याय पाउनुमा हाम्रो दबाबले काम गर्‍यो । हामीले त्यसबखत लिखित रूपमा र पटक-पटक मौखिम रूपमै सभापति देउवालाई दबाब दिएका थियौं,’ ती नेताले भने ।

तर, कृष्ण सिटौलाको हकमा भने राष्ट्रिय आवश्यकता भनेपश्चात आफूहरू चुप लागेको ती नेताको दाबी छ ।

सोही दबाब यसपटक पनि दिन चाहेको नेताहरूले दाबी गर्छन् । आइतबारको छलफलले पार्टीमा निरन्तर सक्रिय रहेका नेताहरूले अवसर पाउनुपर्छ भन्ने निष्कर्ष निकाल्यो ।

प्रतिबन्धितकालदेखि लोकतन्त्र पुन:स्थापित भएको ३६ वर्षसम्म निरन्तर समर्पित व्यक्तिहरूमध्ये पनि एकपटक समेत अवसर पाउन नसकेकाहरूलाई उम्मेदवार बनाउन दबाब दिने भेलाको निर्णय थियो ।

‘आजीवन कांग्रेस भनेर ऊर्जा, समय र सम्पत्ति सक्दा समेत कसैलाई एकपटक अवसर छैन । कसैलाई भने जति अवसर दिए पनि नपुग्ने भएपश्चात् हामी सक्रिय भएर लागेका हौं,’ अर्का एक नेताले लोकान्तरसँग भने ।

आइतबारको छलफलमा सभापति देउवानिकट नेताहरू गोविन्द भट्टराई, कल्याणकुमार गुरुङ, किरणराज शर्मा पौडेल, उमेशजंग रायमाझी, जीतजंग बस्नेत, नैनसिंह महर, राजीव ढुंगाना लगायतको सहभागिता रहेको थियो ।

यस्तै, गुरु बराल, नानु बास्तोला, दिनेश कोइराला, सीता(उर्मिला) थपलिया, लक्ष्मी खतिवडा लगायत नेताहरू सहभागी भएका थिए । छलफलपश्चात उनीहरूले विज्ञप्ति जारी गर्ने तयारी पनि गरेका थिए । तर, आफू राष्ट्रिय सभामा पुगेर माननीयको ट्याग भिर्न हतारिएका नेताहरूले विज्ञप्ति जारी नगर्न अनुरोध र दबाब दिएको छलफलमा सहभागी अर्का एक नेता बताउँछन् ।

‘मैले पहिलो संविधानसभामा अवसर पाएको थिएँ । त्यसपश्चात् केही पाएको छैन भन्दै राष्ट्रिय सभा बन्न मरिहत्ते गरेका नेताहरूले विज्ञप्तिबाजी नगर्दिन अनुरोध गर्नुभयो,’ ती नेताले भने ।

यद्यपि, दबाब समूहले शुरूआतमा पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर लिखित ज्ञापनपत्र बुझाउने तयारी गरेको छ । त्यसपश्चात् कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित पार्टी पदाधिकारी र टिकट बाँड्ने संसदीय बोर्डमा रहेका हरेक नेताहरूलाई व्यक्तिगत तथा सामूहिक रूपमा दबाब दिने तयारी समूहको छ ।

पटक-पटक अवसर पाएका सहमहामन्त्री फर्मुल्लाह मन्सुर, भीष्मराज आङदेम्बे, पुष्पा भुसालजस्ता धेरै नेताहरूले पुनः राष्ट्रिय सभा खोजेको भन्दै आपत्ति जनाएका छन् ।

‘चुनावको टिकट पनि चाहिने । समानुपातिकको एक नम्बर पनि चाहिने । अनि राष्ट्रिय सभा पनि चाहिने ?’ ती नेताले भने, ‘हामी अनवरत संघर्ष गर्दा पनि केही नपाउने, कसैले सबै थोक पाउने, यो हुन सक्दैन । अन्तिमसम्म केही नेताको टिकट रोकेर नयाँलाई प्रवेश गराइछाड्छौं ।’

कांग्रेसमा तल्ला तहबाट उम्मेदवार सिफारिस भएर आएपश्चात पार्टी संसदीय बोर्डले निर्वाचनको टिकट बाँड्ने गरेको छ । यसपटक सभापति शेरबहादुर देउवाले अन्तिमपटक हस्ताक्षर गरेर टिकट बाँड्ने भएकाले उनीसँग लागेका नेताहरूले राष्ट्रिय सभा पुगेर ६ वर्षको शक्ति सञ्चय गर्न चाहेका छन् ।

देउवाको राजनीतिक बिदाइ भएपश्चात् आफूहरूले शक्ति गुमाउने भयका कारण पनि अवसर पाउँदै आएका नेताहरू राष्ट्रिय सभामा जान चाहेका छन्, जसलाई देउवाकै समूहबाट अवसर नपाउनेहरूले उचित ठानेका छैनन् ।

११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसले गठबन्धन गरेर वा एक्लै निर्वाचन लड्ने टुंगो गरिसकेको छैन । फागुन २० गतेसम्ममा राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल समाप्त हुँदैछ । यीमध्ये वामदेव गौतम राष्ट्रपतिद्वारा मनोनीत सदस्य हुन् । बाँकी १८ रिक्त पदका लागि निर्वाचन हुन लागेको हो, जसमा कोशी प्रदेशबाट तीन, मधेश प्रदेशबाट चार, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट दुई/दुई तथा लुम्बिनी प्रदेशबाट तीनजना सदस्यको पद खाली हुँदैछ । ती पदमा निर्वाचन हुन लागेको हो । १८ सिटका लागि हुने निर्वाचनको कार्यतालिका भने यसअघि नै निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ ।

आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार पुस १९ गते बिहान १० देखि ११ बजेसम्म मतदाता नामावली प्रकाशित हुनेछ । त्यसपछि नामावलीमाथि दाबीविरोध तथा उजुरी छानबिन गरेर पुस २२ गते दिउँसो ३ देखि ४ बजेसम्म अन्तिम मतदाता नामावली सार्वजनिक गरिनेछ ।

पुस २३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ । पुस २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिन सकिनेछ भने पुस २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन् । सोही दिन दिउँसो १ देखि २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ ।

पुस २८ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारहरूलाई निर्वाचन चिह्न वितरण गरिनेछ । माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान सम्पन्न हुने गरी निर्वाचन कार्यक्रम तय भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्