०२ साउन २०८३, शनिबार

होन्डुरसको राष्ट्रपतिमा ट्रम्प समर्थित उम्मेदवार निर्वाचित

पुस १०, २०८२
काठमाडौं
होन्डुरसको राष्ट्रपतिमा ट्रम्प समर्थित उम्मेदवार निर्वाचित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन पाएका नास्री अस्फुरा होन्डुरसको अत्यन्तै कडा प्रतिस्पर्धात्मक राष्ट्रपतीय निर्वाचनमा विजयी घोषित भएका छन् । 

प्राविधिक समस्या र धाँधलीको आरोपका कारण हप्तौं ढिलाइ भएपछि राष्ट्रिय निर्वाचन परिषद् (सीएनई)ले नतिजा सार्वजनिक गरेको हो ।

सीएनईका अनुसार कन्जरभेटिभ नेशनल पार्टीका उम्मेदवार अस्फुराले ४०.३ प्रतिशत मत प्राप्त गर्दै केन्द्र–दक्षिणपन्थी लिबरल पार्टीका साल्भादोर नास्रालालाई पराजित गरेका हुन् । नास्रालाले ३९.५ प्रतिशत मत प्राप्त गरेका थिए ।

सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया जनाउँदै अस्फुराले भने, ‘होन्डुरस: म शासन गर्न तयार छु । म तपाईंहरूलाई निराश पार्ने छैन ।’

तर, नास्रालाले पत्रकार सम्मेलनमा नतिजा अस्वीकार गर्ने संकेत गर्दै भने, ‘छुट र बेवास्तामा आधारित नतिजा म स्वीकार गर्दिनँ ।’ यद्यपि उनले आफ्ना समर्थकलाई शान्त रहन आग्रह गरेका छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सबै पक्षलाई नतिजाको सम्मान गर्न आग्रह गर्दै होन्डुरसमा शान्तिपूर्ण सत्ता हस्तान्तरण सुनिश्चित गर्नुपर्ने बताएका छन् । तर देशको संसद्का सभामुख लुइस रेडोन्डोले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै नतिजा ‘पूर्ण रूपमा गैरकानूनी’ भएको दाबी गरेका छन् ।

गत ३० नोभेम्बरमा भएको निर्वाचनको मतगणना प्राविधिक अवरोधका कारण दुई पटक रोकिएको थियो । निर्वाचन अधिकारीहरूले ती अवरोधलाई अक्षम्य भनेका छन् । सीएनईकी अध्यक्ष आना पाओला हलले मतगणनाको जिम्मा पाएको निजी कम्पनीले सीएनईलाई जानकारी नदिई मर्मत कार्य गरेकाले ढिलाइ भएको बताएकी छन् ।

मत परिणाम निकै कडा रहेकाले र प्रणाली अव्यवस्थित बनेपछि करिब १५ प्रतिशत मतपत्र हातैले गन्नुपरेको थियो ।

ढिलाइका कारण होन्डुरसमा तनाव चर्किएको छ । गत साता देशभर प्रदर्शन भएका थिए । सत्तारूढ लिब्रे पार्टीका हजारौं समर्थकले राजधानी टेगुसिगाल्पामा प्रदर्शन गर्दै निर्वाचनमा धाँधली भएको आरोप लगाएका थिए ।

निर्वतमान राष्ट्रपति सिओमारा कास्त्रोले निर्वाचनमा ‘निर्वाचन कू’ भइरहेको आरोप लगाएकी थिइन् र यसमा ट्रम्पको ‘हस्तक्षेप’ रहेको दाबी गरेकी थिइन् ।

अस्फुरालाई समर्थन गर्दै ट्रम्पले यदि उनको सानो अग्रता उल्टाइए ठूलो परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए । उनले अस्फुरा नजिते अमेरिकाले आर्थिक सहयोग फिर्ता लिन सक्ने धम्कीसमेत दिएका थिए ।

त्यसैबीच, ट्रम्पले अस्फुराकै नेशनल पार्टीका सदस्य जुआन ओर्लान्डो हर्नान्देजलाई अप्रत्याशित रूपमा क्षमादान दिएका थिए । हर्नान्देज अमेरिकामा लागूऔषध र हतियारसम्बन्धी अभियोगमा ४५ वर्षको जेल सजाय भोगिरहेका थिए ।

संविधानका कारण राष्ट्रपति कास्त्रो दोस्रो कार्यकालका लागि उम्मेदवार बन्न पाएकी थिइनन् ।

निर्वाचन भएको नौ दिनपछि नास्रालाले भ्रष्ट व्यक्तिहरूले मतगणनामा चलखेल गरेको आरोप लगाएका थिए । उनले ट्रम्पका अभिव्यक्तिले आफ्नो जितको सम्भावना कमजोर बनेको पनि बताएका थिए ।

नतिजा सार्वजनिक भएपछि विदेशमन्त्री रुबियोले अमेरिकाले अस्फुराको आउने प्रशासनसँग द्विपक्षीय तथा क्षेत्रीय सुरक्षा सहकार्य मजबुत बनाउने, अवैध आप्रवासन रोक्ने र आर्थिक सम्बन्ध सुदृढ गर्ने बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्