२२ जेठ २०८३, शुक्रबार
सानै उमेर शृंखलाबद्ध अपराध

जेनजी आन्दोलनमा नख्खुबाट भागेका आकाश हत्यामा पक्राउ, २२ वर्षको उमेरमै ५ वटा मुद्दा

पुस १०, २०८२
काठमाडौं
जेनजी आन्दोलनमा नख्खुबाट भागेका आकाश हत्यामा पक्राउ, २२ वर्षको उमेरमै ५ वटा मुद्दा

दाङको राप्ती गाउँपालिका– १ घर भएका २२ वर्षीय आकाश मगर ठमेलमा एक युवकको हत्या आरोपमा पक्राउ परेका छन् । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका उनलाई अर्को अपराध गरिसकेपछि जिल्ला प्रहरी कार्यालय रोल्पाको सहयोगमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार काठमाडौं ल्याएको हो ।

जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४) मा नख्खु कारागारबाट भागेका मगरले ठमेलमा पर्सा ठोरीका २५ वर्षीय सुरज तामाङको हत्या गरेका थिए ।

आकाशले सुरजलाई चक्कु प्रहार गरेको सीसीटीभी भिडियोमा प्रस्टै देख्न सकिन्छ । गत असोज १३ गते आफ्ना साथीलाई कुटपिट गरेको भन्दै आकाशले सुरजलाई ठमेलस्थित ह्याप्पी होटल अगाडि चक्कु प्रहार गरेका थिए ।

घटना घटाएपछि आकाश त्यहाँबाट भागेर गृहजिल्ला दाङ पुगे । दाङ र रोल्पाको सीमानामा पर्ने धाङ्सीमा बसिरहेका बेला आकाशलाई रोल्पा प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको जानकारी अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश कुमार बस्नेतले बताए ।

आकाश नख्खु कारागारमा रहनुको कारणचाहिँ प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले उनलाई लागुऔषधसहित पक्राउ गरेको थियो ।

२०८० साउन २२ मा ब्यूरोले उनीविरुद्ध लागुऔषध बिक्रीवितरण तथा ओसारपसार कसुरमा मुद्दा दर्ता गरेको थियो । उनी सोही मुद्दामा पुर्पक्षमा कारागार चलान भएका थिए । भदौ २४ मा जेनजी आन्दोलनको मौका छोपेर आकाश पनि भागेका थिए ।

हाल पक्राउ परेका आकाश आपराधिक पृष्ठभूमिका हुन् भन्ने तथ्य विगतमा उनीविरुद्ध प्रहरीका विभिन्न युनिटबाट चलेका मुद्दाबाटै पुष्टि हुन्छ । क्राइम रेकर्ड सिस्टम (सीआरएस) हेर्दा आकाशविरुद्ध शुरूमा २०७६ कात्तिक ३ गते प्रहरी वृत्त महाराजगञ्जबाट अभद्र व्यवहारमा मुद्दा चलेको देखिन्छ ।

यो मुद्दाबाट पार पाएका उनीविरुद्ध २०७७ कात्तिक १६ मै प्रहरी वृत्त बालाजुबाट अभद्र व्यवहारमै मुद्दा चलेको थियो ।

अभद्र व्यवहार कसुरमा छुटेपछि आकाशलाई लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको थियो । २०८० साउन २२ मा उनीविरुद्ध मुद्दा दर्ता भयो । काठमाडौं जिल्ला अदालतको आदेशमा उनी जेल चलान भए । जेलभित्रै बस्दा उनीविरुद्ध प्रहरी वृत्त महाराजगञ्जले चोरी मुद्दा दर्ता गरेको थियो । पीडित उनीविरुद्ध जाहेरी लिएर पुगेपछि प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान गरेको थियो ।

ब्यूरोले लागुऔषध मुद्दा चलाएका कारण उनी लागुऔषध मुद्दामै जेलमा २ वर्ष कारागार बसे । भदौ २४ को जेनजी आन्दोलनको प्रभाव नख्खु कारागारमा पनि पर्‍यो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पनि नख्खु कारागारमै थिए । लामिछाने जेलबाट निस्किएपछि त्यही मौकामा अरू कैदीबन्दी पनि भागेका थिए । त्यो भीडमा आकाश पनि थिए ।

‘जेलबाट भागेपछि आकाशले ठमेल पुगेर सुरजको हत्या गरेका थिए,’ अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले लोकान्तरसँग भने, ‘सीसीटीभी फुटेजमा आकाशले सुरजलाई छुरा प्रहार गरेको प्रस्ट देखिन्छ ।’

सुरजको हत्यापछि आकाशले लामो समय फोन स्वीच अफ गरेर राखेका थिए । जब फोन खोले, प्रहरीले लोकेसन ट्र्याक गर्दा उनी रोल्पामा देखिए । लोकेसन दाङ र रोल्पा देखाएपछि अनुसन्धान कार्यालयले रोल्पा प्रहरीको सहयोग लियो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रवीर विश्वकर्माका अनुसार आकाशविरुद्ध पक्राउ पुर्जी आएपछि बारीमा हिँडिरहेका बेला पक्राउ गरेर अनुसन्धान कार्यालयको टोलीलाई जिम्मा लगाइएको हो ।

ठमेलमा किन सुरजमाथि चक्कु प्रहार गरेको भनेर सोध्दा आकाश भन्छन्, ‘मेरो साथीलाई आकाशको ग्रुपले धम्क्याएका रहेछन्, मैले सहन सकिनँ, यसै जेल जाने, उसै जाने भनेर छुरी हानेको हुँ ।’

नख्खु कारागारबाट अरु कैदीबन्दी पनि भागेपछि आफू पनि ज्यान जोगाउन भागेको उनको बयान छ ।

salt training

कमेन्ट गर्नुहोस्