
काठमाडौंको भृकुटीमण्डपमा ‘घर निर्माण फेस्ट २०८२’ हुने भएको छ ।
घर निर्माण फाउन्डेसनको आयोजनामा हुन लागेको फेस्ट आगामी शनिबारदेखि शुरू हुने छ ।
घर निर्माण क्षेत्रलाई आधुनिक प्रविधि, किफायती समाधान, गुणस्तरीय निर्माण सामग्री तथा नवीन डिजाइनसँग जोड्ने उद्देश्यका साथ फेस्टको आयोजना गर्न लागिएको फाउन्डेसनले जनाएको छ ।
घर बनाउने सोचमा रहेका सर्वसाधारणदेखि निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, विद्यार्थी तथा सरोकारवाला सबैलाई एउटै प्लेटफर्ममा ल्याउने फेस्टको उद्देश्य छ ।
फेस्टमा ६ लाख रुपैयाँमा निर्माण गर्न सकिने घर, कमाउने घर, आर्किड भिल्ला, ह्वाइट रुम्स, डोम हाउसजस्ता आधुनिक तथा वैकल्पिक आवासीय अवधारणाहरू प्रस्तुत गरिने छ ।
यही पुस १५ गते मंगलबारसम्म चल्ने फेस्टमा घर निर्माणसँग सम्बन्धित सामग्री, प्रविधि, डिजाइन, सेवा तथा समाधानहरू प्रस्तुत गर्नका लागि १ सय ५० बढी स्टलहरू रहनेछन् ।
फेस्टको औपचारिक उद्घाटन यही शनिबार (पुस १२ गते) दिउँसो १२ बजे हुनेछ । ४ दिन (१२, १३, १४ र १५ गते)सम्म चल्ने फेस्टमा विभिन्न विषयमा आधारित अन्तरक्रिया समेत हुने आयोजकले जनाएको छ । फेस्ट ४० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
फेस्टको पहिलो र दोस्रो दिन 'घर नक्सा, राम्रो र बलियो घर' विषयक प्यानल डिस्कसन हुनेछ ।
त्यस्तै, तेस्रो दिन 'जे गर्छु नेपालमै गर्छु' विषयक अन्तरक्रिया हुनेछ ।
घर निर्माण तथा व्यावसायिक गतिविधि बढ्दै जाँदा आउने चुनौतीहरूको सम्बोधन गर्न फेस्ट महत्त्वपूर्ण हुने आयोजकको विश्वास छ ।
आयोजकका अनुसार फेस्टमा विशेषज्ञ मार्गदर्शन, प्रत्यक्ष अन्तरक्रिया तथा ब्रान्डिङ परामर्शमार्फत व्यवसायीले आफ्ना उत्पादन लक्षित ग्राहक वर्गमा पुर्याउन सक्नेछन् ।
यस प्रदर्शनीबाट २ सय करोड बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।
प्रदर्शनी विशेष र ऐतिहासिक बनाउन विश्व कीर्तिमानी इँटाको प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ । यसका साथै जस्मिन पेन्ट्सको सहकार्यमा विश्वकै सबैभन्दा ठूलो ढाका टोपी प्रदर्शनमा राखिनेछ ।
युवाको सहभागिता
फेस्टमा युवा पुस्ताको सक्रिय सहभागितालाई समेत विशेष प्राथमिकता दिइएको छ ।
त्यसका लागि ५० भन्दा बढी कलेजका विद्यार्थी टोलीहरूको सहभागितामा मोडल प्रतियोगिता आयोजना गरिने छ ।
जसले विद्यार्थीहरूलाई आफ्नो सृजनशीलता, नवप्रवर्तन र प्राविधिक क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने विश्वास लिइएको छ । प्रतियोगिताले भविष्यका इन्जिनियर, आर्किटेक्ट र डिजाइनरहरूलाई व्यवहारिक अनुभव दिने विश्वास आयोजकको छ ।
शिवम् सिमेन्ट पावर्ड बाई रहेको घर निर्माण फेस्टमा प्लम्बर पाइपले मुख्य सहकार्य गरेको छ ।
त्यसैगरी टाइल पार्टनरका रूपमा नेपोभिट, यूपीभीसी पार्टनरका रूपमा पञ्चकन्या डिम्याक्स, प्रोपर्टी पार्टनरका रूपमा सारा सेवा, सेनिटरी पार्टनरका रूपमा स्वाती इन्टरप्राइजेज छन् ।
यस्तै इन्टेरियर पार्टनरका रूपमा सोफाहब, फर्निचर पार्टनरमा फर्निचर महल पेन्ट पार्टनरका रूपमा तथा एसियन पेन्ट्स रहेका छन् ।