०६ साउन २०८३, बुधबार

नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल पुस २३ गतेदेखि हुने

पुस १०, २०८२
काठमाडौं
नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल पुस २३ गतेदेखि हुने

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि २६ गतेसम्म सञ्चालन हुने भएको छ ।

प्रतियोगितामा तीन विभागीयसहित पाँच टोलीको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिए ।

प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र एभरेष्ट भलिबल क्लबको सहभागिता रहने छ ।

प्रतियोगिताका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने बताइएको छ ।

पेन्ट कम्पनी केएनपी नेरोलेकको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको कुल पुरस्कार राशी १३ लाख रुपैयाँ रहेको छ । विजेताले पाँच लाख रुपैयाँ नगद पुरस्कार पाउने छ ।

यसैगरी, उपविजेता टोलीले दुई लाख ५० हजार र तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । विधागत उत्कृष्टलाई जनही २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । उद्‌घाटनका अवसरमा विगतमा झै एक राष्ट्रिय महिला खेलाडीलाई ५० हजार नगदसहित सम्मान गरिने छ ।

खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा खेलाइने छ । शुरूका ६ संस्करणको उपाधि एपीएफले जितेको थियो । सातौं संस्करणमा न्यु डायमन्ड च्याम्पियन बनेको थियो भने गत संस्करणमा पुलिस क्लब पहिलो भएको थियो ।

पत्रकार सम्मेलनमा नेरोलेकका कन्ट्री हेड मनोज मिश्र र प्रतिष्ठानकी संरक्षक गमली खड्काले मुख्य प्रायोजन सम्बन्धी सम्झौतापत्रमा पनि हस्ताक्षर गरेका थिए ।

प्रतियोगितालाई राखेप, बागमती प्रदेश खेलकुद विकास परिषद, विभिन्न कर्पोरेट हाउस र पालिकाहरुको सहयोग रहेको आयोजकले जनाएको छ ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले प्रतियोगिताको सफलताका लागि शुभकामना दिए ।

प्रतिष्ठानका अध्यक्ष खड्काले हरेक खेलाडी र टेक्निकल टिमका सदस्यको पाँच लाख रुपैयाँ बराबरको बीमा गरिएको बताए ।

महिला खेलाडीको सशक्तीकरण र क्षमता अभिबृद्धि गर्ने उद्देश्यका साथ प्रतिष्ठानले २०७२ सालदेखि प्रतियोगिताको शुरूआत गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्