
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस–युक्रेन युद्ध अन्त्यबारे छलफल गर्न आइतबार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फ्लोरिडामा भेट गर्ने बताएका छन् ।
जेलेन्स्कीका अनुसार भेटमा अमेरिकी मध्यस्थतामा तयार पारिएको शान्ति योजना र युक्रेनका लागि अमेरिकी सुरक्षा प्रत्याभूति सम्बन्धी प्रस्ताव मुख्य एजेन्डा हुनेछन् । तर, एक वरिष्ठ रुसी अधिकारीले उक्त योजना रुसले अमेरिकासँग छलफल गरिरहेको योजनाभन्दा पूर्णतः फरक रहेको टिप्पणी गरेका छन् ।
क्रेमलिनले युक्रेनको पूर्वी डोनबास क्षेत्रबाट सेना फिर्ता बोलाउन सकिने जेलेन्स्कीको प्रस्तावबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन । जेलेन्स्कीले रुसले पनि आफ्ना सेना पछि हटाएमा युक्रेन त्यसका लागि तयार हुन सक्ने संकेत दिएका छन् ।
यसैबीच, नयाँ रुसी हवाई आक्रमणमा राजधानी किभमा कम्तीमा पाँच जना घाइते भएका छन् भने किभ क्षेत्रमै एक जना अन्य व्यक्ति घाइते भएको नगर प्रमुख भिटाली क्लिच्कोले बताएका छन् । उनका अनुसार युक्रेनको हवाई प्रतिरक्षा प्रणालीले आक्रमणलाई प्रतिकार गरिरहेको थियो र सहरमा विस्फोटका आवाज सुनिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
शनिबार बिहानसम्म पनि आक्रमण जारी रहेको जनाउँदै युक्रेनको वायु सेनाले देशभर ड्रोन र क्षेप्यास्त्रको खतरा कायम रहेको चेतावनी दिएको छ ।
रुसले फेब्रुअरी २०२२ मा युक्रेनमाथि पूर्णस्तरीय आक्रमण थालेको थियो । हाल रुसले युक्रेनको डोनेट्स्क क्षेत्रको करिब ७५ प्रतिशत र छिमेकी लुहान्स्क क्षेत्रको झण्डै ९९ प्रतिशत भूभाग नियन्त्रणमा लिएको छ । यी दुवै क्षेत्रलाई संयुक्त रूपमा डोनबास भनिन्छ ।
शान्ति सम्झौताका सन्दर्भमा युक्रेनले अमेरिकाबाट सुरक्षा प्रत्याभूति खोज्दै आएको छ । जेलेन्स्कीले रुसले बल प्रयोग गरेर कब्जा गर्न नसकेका डोनबासका केही क्षेत्रलाई ‘निशस्त्रीकृत स्वतन्त्र आर्थिक क्षेत्र’ बनाउने विकल्पसमेत अघि सारेका छन् ।
शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले २० बुँदे शान्ति योजना ९० प्रतिशत तयार भइसकेको बताए । ‘हाम्रो काम सबै कुरा शतप्रतिशत तयार पार्नु हो’, उनले भने ।
सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘हामी एक दिन पनि खेर फालिरहेका छैनौं । उच्च तहमा; राष्ट्रपति ट्रम्पसँगनिकट भविष्यमा भेट गर्ने सहमति भएको छ । नयाँ वर्षअघि धेरै कुरा टुंगिन सक्छ ।’
तर, पोलिटिकोसँगको अन्तर्वार्तामा ट्रम्पले भने जेलेन्स्की ‘मेरो स्वीकृति नपाएसम्म केही पनि पाउँदैनन्’ भन्ने अभिव्यक्ति दिएका छन् । उनले जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुवैसँग सम्बन्ध राम्रो हुने विश्वास व्यक्त गर्दै पुटिनसँग पनि छिट्टै कुरा गर्ने अपेक्षा रहेको बताएका छन् ।
ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु पनि आगामी दिनमा आफूलाई भेट्न आउने जानकारी दिएका छन् ।
यसैबीच, क्रेमलिनका दूत किरिल दिमित्रिएभ फ्लोरिडाबाट फर्किएपछि पुटिनका वरिष्ठ सहयोगीहरूले अमेरिकी अधिकारीसँग फोनमार्फत् थप वार्ता गरेका छन् । रुसी उपविदेशमन्त्री सर्गेइ रियाब्कोभले पछिल्ला घटनाक्रमप्रति सकारात्मक प्रतिक्रिया जनाए पनि युक्रेनले अमेरिकी योजनासम्बन्धी वार्तालाई ‘पटरीबाट उतार्न खोजेको’ आरोप लगाए ।
रुसी सरकारी टेलिभिजनसँग कुरा गर्दै रियाब्कोभले भने, ‘२०२५ डिसेम्बर २५ समाधानको नजिक पुगेको ऐतिहासिक मिति बन्न सक्छ । तर अन्तिम सहमति हुन्छ कि हुँदैन भन्ने कुरा हाम्रो काम र अर्को पक्षको राजनीतिक इच्छाशक्तिमा निर्भर छ ।’
यसैबीच, जेलेन्स्कीको फ्लोरिडा भ्रमणको विवरण सार्वजनिक भएपछि उत्तरपूर्वी युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा भएको रुसी हवाई आक्रमणमा दुई जनाको मृत्यु भएको र केही अन्य घाइते भएको नगर प्रमुखले बताएका छन् ।
जेलेन्स्की र ट्रम्पबीच यस वर्ष धेरैपटक भेट भइसकेको छ । फेब्रुअरीमा ह्वाइट हाउसमा भएको पहिलो भेट तनावपूर्ण बनेको थियो भने अक्टोबरको पछिल्लो भेट भने तुलनात्मक रूपमा सौहार्दपूर्ण रहेको बताइएको छ ।
उच्चस्तरीय वार्ताको पुष्टि जेलेन्स्कीले क्रिसमसका दिन ट्रम्पका विशेष दूत स्टिभ विटकोफ र ज्वाइँ जेरेड कुश्नरसँग करिब एक घण्टा फोनवार्ता गरेपछि आएको हो । जेलेन्स्कीले उक्त वार्ताबाट युद्ध अन्त्यका लागि ‘नयाँ विचारहरू’ निस्किएको र यसलाई ‘साँच्चिकै राम्रो संवाद’ भनेका छन् ।
ह्वाइट हाउसले पूर्वी युक्रेनमा दुवै पक्षले सेना तैनाथ नगर्ने गरी एक प्रकारको निशस्त्रीकृत क्षेत्र बनाउने प्रस्ताव अघि सारेको छ, जसले विवादित भूभागको कानूनी स्वामित्वको जटिल प्रश्न तत्काल समाधान नगरी समझदारी खोज्ने लक्ष्य राख्छ ।
जेलेन्स्कीले बुधबार युक्रेनले पूर्वी मोर्चाबाट ४० किलोमिटरसम्म सेना पछि हटाएर आर्थिक क्षेत्र बनाएमा रुसले पनि डोनबासका कब्जामा रहेका क्षेत्रबाट त्यत्तिकै दूरीमा सेना हटाउनुपर्ने बताएका थिए ।
युक्रेनले यसअघि स्टिभ विटकोफले तयार पारेको २८ बुँदे प्रारम्भिक योजनामा केही संशोधन गराउन सफल भएको छ, जुन योजना रुसअनुकूल रहेको भन्दै आलोचित थियो ।
जेलेन्स्कीका अनुसार फ्लोरिडामा हुने वार्तामा अमेरिकी सुरक्षा प्रत्याभूति, छुट्टै आर्थिक सम्झौता लगायतका दस्तावेजमा छलफल हुनेछ । तर, भूभागसम्बन्धी प्रश्न र रुसको नियन्त्रणमा रहेको जापोरिज्झिया आणविक विद्युत् केन्द्रको भविष्य सबैभन्दा कठिन विषय बनेको उनले दोहोर्याएका छन् ।
ह्वाइट हाउसले उक्त विद्युत् केन्द्रबाट उत्पादन हुने ऊर्जा युक्रेन र रुसले संयुक्त रूपमा प्रयोग गर्ने प्रस्ताव गरेको भए पनि जेलेन्स्कीले यसमा असहमति जनाएका छन् । यो केन्द्र हाल रुसी सेनाको नियन्त्रणमा छ ।
रुसले अद्यावधिक अमेरिकी योजनाका विशेषगरी भूभागसम्बन्धी प्रस्ताव स्वीकार गर्ने सम्भावना कम रहेको देखिन्छ । रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले मुख्यतः पश्चिमी युरोपेली मुलुकहरू कूटनीतिक प्रगतिमा अवरोध सिर्जना गर्न खोजिरहेको आरोप लगाएकी छन् ।
पुटिनले युक्रेनी सेना सम्पूर्ण डोनबासबाट नहटे रुसले बल प्रयोग गरेर कब्जा गर्ने चेतावनी पटक-पटक दिँदै आएका छन् ।
यस साताको शुरूआतमा जेलेन्स्कीले अद्यावधिक शान्ति योजनाको खाका सार्वजनिक गरेका हुन्, जुन नोभेम्बरमा २८ बुँदे प्रारम्भिक मस्यौदा चुहिएपछि पहिलोपटक विस्तृत रूपमा प्रस्तुत गरिएको हो ।
नयाँ प्रस्तावअनुसार अमेरिका र युरोपले नाटोको धारा–५ को ढाँचामा आधारित सुरक्षा प्रत्याभूति दिने प्रतिबद्धता जनाउनेछन् । साथै, युक्रेनको सेना संख्या ८ लाख कायम राख्ने व्यवस्था हुनेछ, जुन संख्या घटाउनुपर्ने माग क्रेमलिनले गर्दै आएको छ ।